लन्डन । हरेक वर्षझैं क्षेत्री समाज बेलायतले यस वर्ष पनि वार्षिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार सेप्टेम्बर २३ तारिख २०२३ दिन अल्डरसटमा रहेको एम्पायर हलमा विभिन्न कार्यक्रमसहित क्षेत्री समाज बेलायतको वार्षिक भेटघाट सम्पन्न भएको हो । औपचारिक कार्यक्रम नेपाली राजदूतावासबाट उपस्थित प्रमुख अतिथि ब्रिगेडियर जनरल रत्नबहादुर गोदार, संस्थाकी अध्यक्ष श्रद्धा थापासहितले पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गरेका थिए ।
कार्यक्रममा उपाध्यक्ष एवं कार्यक्रम संयोजक क्या टेकबहादुर जीसीले स्वागत मन्तव्य दिएका थिए । उनले क्षत्री समाज बेलायत सन् २००७ मा स्थापना भएदेखि नै बेलायत र नेपालका नेपाली समुदायमा पर्ने दु:खसुख र प्राकृतिक विपतलगायत कार्यमा सहयोगका हात अगाडि बढाइरहेको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा तमुधिं यूकेका अध्यक्ष हरि गुरुङ, आमा समूह अध्यक्ष सन्ध्या गुरुङ, ठकुरी समाज बेलायत उपाध्यक्ष रञ्जन मल्ल, पर्वत वेलफेयर सोसाइटी यूकेकी अध्यक्ष अप्सरा गुरुङलगायत विभिन्न संघ संस्थाका प्रमुख र प्रतिनिधिहरु उपस्थिति थियो । प्रमुख अतिथि ब्रिगेडियर जनरल रत्नबहादुर गोदार, तमुधिं यूकेका अध्यक्ष हरि गुरुङलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा समाजमा आबद्ध पदाधिकारी, सदस्यहरु र उनीहरुका छोराछोरीहरुलाई विभिन्न क्षेत्रमा प्रगति गरेकोमा सम्मान गरिएको थियो । औपचारिक कार्यक्रम समापन गर्दै अध्यक्ष श्रद्धा थापाले अतिथि र सबै उपस्थितलाई धन्यवाद तथा आभार व्यक्त गरिन् । कार्यक्रम समाजका महासचिव ध्रुवबहादुर गौतमले सञ्चालन गरेका थिए ।
त्यसपछि मनोरञ्जनात्मक कार्यक्रम सुरु गरिएको थियो । उक्त कार्यक्रम नेपालबाट आएका गायक सुदीप क्षेत्रीले सञ्चालन गरेका थिए । कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक/गायिका राजु परियार, शिला आले, शिव हमाल, राजेश बर्देवा, लगायतले बेजोड प्रस्तुति राखेका थिए । मिसेस नेपाल युनिभर्स २०२३ विमला बुढाथोकीले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा भाग्यशाली चिट्ठा पनि आयोजना गरिएको थियो । कार्यक्रममा सहभागी क्षेत्री र गैरक्षेत्री समुदाय मौलिक भेषभूषामा सजिएका थिए ।