लन्डन । नेपाली दूतावास लन्डनमा एक विशेष समारोह आयोजना गरी नेपालको संविधान दिवस मनाइएको छ ।
बुधबार नेपालमा संविधान बनेको ८ वर्ष पूरा गरी ९ वर्षमा प्रवेश गरेको अवसरमा नेपाली दूतावास लन्डनले दूतावास परिसरमा विशेष समारोहको आयोजना गरेको हो । समारोहमा स्वागत मन्तव्य राख्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले वर्तमान संविधानको महत्व, यसका मुख्य विशेषता र नेपालको परराष्ट्र नीतिबारे प्रकाश पारेका थिए । उनले नेपालले विभिन्न क्षेत्रमा गरेको प्रगतिबारे जानकारी दिँदै अर्थतन्त्रको पुनर्संरचना र जनताको जीवनस्तरमा थप उकास्नेलगायतका संविधानका महत्वपूर्ण उद्देश्यहरू हासिल गर्न सरकारको प्रयास अहिले केन्द्रित रहेको बताए ।
उनले विश्वभर संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना अभियानलगायत क्षेत्रीय सहयोग प्रवर्द्धन र विश्व शान्तिका लागि नेपालले पुर्याएको योगदानबारे पनि जानकारी गराए ।
राजदूत आचार्यले नेपाल र बेलायतबीचको द्विपक्षीय सम्बन्धको ऐतिहासिक प्रकृति र ब्रिटिस गोर्खाहरूको आधारभूत सम्बन्धलाई पनि प्रकाश पारे । उनले यो सम्बन्धले अहिले राजनीतिक, आर्थिक, व्यावसायिक, लगानी, शैक्षिक, जनताबीचको अन्तरक्रिया र नेपाली डायस्पोराको बढ्दो उपस्थितिलगायत विभिन्न क्षेत्रलाई समेटेको बताए । यो वर्ष सन् १९२३ को नेपाल–बेलायत मैत्री सन्धिमा हस्ताक्षर भएको शतवार्षिकी भएको तथ्यलाई प्रकाश पार्दै उनले आधुनिक कूटनीतिक सम्बन्धमा नयाँ युगको सुरुआत गर्न सन्धिको महत्वलाई जोड दिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा बेलायतको विदेश राज्यमन्त्री एनी मारी ट्रेभेल्यानले नेपालको संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गरेकी छन् । मन्त्री ट्रेभल्यानले नेपाल-बेलायत सम्बन्धको गहिराइ र न्यानोपनको प्रशंसा गरिन् । दुई देशबीच व्यापार, लगानी र जलवायु परिवर्तनजस्ता विश्वव्यापी सरोकारका विषयमा सहकार्यलगायत विभिन्न क्षेत्रमा थप विस्तार हुने सम्भावना रहेको पनि उनले आशा व्यक्त गरिन् ।
आफ्नो नेपाल भ्रमणको स्मरण गर्दै उनले दुई देशबीचको जनताको सौहार्दता र पारस्परिक लाभकारी सम्बन्धको प्रशंसा गरिन् । उनले दुई देशबीचको जनताबीचको सम्बन्ध विस्तारमा बेलायती गोर्खाहरूले गरेको योगदानलाई पनि प्रशंसा गरिन् ।
कार्यक्रममा बेलायतमा रहेका नेपाली कलाकारहरुले नेपाली सांस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए । पाहुनाहरुलाई नेपाली परिकारहरु खुवाइएको थियो ।
समारोहमा बेलायती संसद्का सदस्यहरु, उच्च सरकारी अधिकारीहरु, नेपालका बेलायती मित्रहरु, राजदूतहरु, बेलायतमा रहेका उच्चायुक्तहरु र बेलायतमा रहेका नेपाली समुदायका अगुवा तथा प्रतिनिधिहरुको उपस्थिति रहेको नेपाली राजदूतावास लन्डनले २० सेप्टेम्बर २०२३ जारी विज्ञप्तिमा उल्लेख छ ।