लन्डन । बेजिङ्गस्टोक नेप्लीज कम्युनिटी (बिएनसी) ले तीज रमझम–२०२३ भव्यरुपमा मनाएको छ ।
आइतबार भएको कार्यक्रममा झन्डै ३ सय जना महिलाले सहभागिता जनाएका थिए । २००६ मा स्थापना भएको बिएनसीवासीले तत्कालीन संस्थापक अध्यक्ष स्व. क्याप्टेन भक्तबहादुर लिम्बुको पालादेखि नै नियमित तीज रमझम मनाउँदै आएका छन् ।
यस पटकको तीजमा पनि बिएनसी अध्यक्ष ओम गुरुङको अगुवाइमा कार्यसमितिका भोलन्टियर दाजुभाइ, दिदीबहिनीहरु मिली सेल्फ क्याटरिङ गरी तीजको स्वादिष्ट दर तयार पारेका थिए ।
कार्यक्रमको उद्घाटन ८३ वर्षीया त्रीशोभा गुरुङ, ८४ वर्षीया मनु गुरुङ र ८६ वर्षीया आमाले पानसमा दियो बालेर गरेका थिए । कार्यक्रम संचालन निशा शर्माले गरिन् ।
कार्यक्रममा स्वागत मन्तब्य दिँदै बिएनसी सल्लाहकार सुधा गुरुङले तीज चेली माइतीको सुमधुर सम्बन्ध प्रगाढ बनाउने अत्यन्त महत्वपूर्ण चाड हो भनिन् । मर्यादित महिनावारी यूके च्याप्टर संयोजक समेत रहेकी गुरुङले सो अवसरमा मर्यादित महिनावारी अभियानबारे पनि प्रकाश पारीन् ।
अध्यक्ष ओम गुरुङले शुभकामना व्यक्त गरेका थिए भने धन्यवाद ज्ञापन अमृता पालुंगाले गरेकी थिइन् ।
कार्यक्रममा केही नृत्य, राफल ड्र, बेस्ट ड्रेस (सिनिएर र जुनिएर) आदिको आयोजना पनि गरिएको थियो । राफल ड्र प्रीया लिम्बू र ध्रुव गुरुङले संचालन गरेका थिए ।
यसपटकको राफल ड्र बाट संकलित सम्पूर्ण रकम ७ सय ४० पाउन्ड मर्यादित महिनावारी अभियानमा निरन्तर अथक् कार्य गर्दै आएको राधा पौडेल फाउन्डेशनलाई प्रदान गरिने भएको छ । सो अवसरमा मदन पुरस्कार विजेता मर्यादित महिनावारी अभियन्ता डा. राधा पौडेलका केही पुस्तकहरु दिदी बहिनीहरुले किनेर थप सहयोग पुर्याएका थिए ।
राफलको पहिलो पुरस्कार प्रायोजक आइएमइ यूकेका प्रोप्राइटर दम्पती कमलर मुना पौडेलले सुनको चन्द्रमा, दोस्रो पुरस्कार चुलो थकाली किचनले ऐयर फ्रायर, तेस्रो पुरस्कार श्यांकी किचनका प्रोपराइटर सशांक गुरुङले ५० पाउन्डको डिनर भाउचर प्रदान गरेका थिए ।
त्यस्तै अन्य पुरस्कार टेक राईले आफ्नी श्रीमती सीता राईको पुन्यस्मृतिमा ५० पाउन्ड नगद, पुष्पलता बुटिक, विजय लिङ्गथेप, आशा लिम्बु र शीवजी, उर्मिला श्रेष्ठ (सलाद मास्टर) ले प्रदान गरेका थिए ।
उत्कृष्ट पहिरन विजयीहरु लावन्ता लिम्बु (एडल्ट) र आवना राई (चाइल्ड) को प्रायोजन सुजी गुरुङ र कल्पना गुरुङले गरेका थिए ।
नृत्य प्रस्तुत गर्ने कलाकार प्रीया लिम्बु, सुस्मिता बुढाथोकी, पाम लिम्बु, अलिशा राई, अनिता लिम्बु थिए । नृत्य र राफल ड्र र डेकोरेशनको जिम्मा प्रीया लिम्बुले लिएकी थिइन् ।
डिजे सन्तोष गुरुङको ननस्टल गीत संगीतमा दिदीबहिनीहरुले भरपूर नाचेर आनन्द लिएका थिए ।
बेजिङ्गस्टोक नेप्लीज कम्युनिटी बेलायतमा एक नमुना समाजको रुपमा परिचित छ । बिएनसीमा हुने हरेक गतिविधिमा समाजका सदस्यहरुले निःस्वार्थ सेवा गर्दै आएका छन् ।