तीज हामी नेपालीहरुको माइती चेलीको सुमधुर सम्बन्ध प्रगाढ बनाउने विशेष चाड हो । हाम्रो गाउँघरमा तीजको बेला बाउ माइतीहरु नौडाँडापारि विवाह गरी गएका छोरीचेली लिन गई माइत ल्याई दर खुलाउने चलन हो । जुन हालसम्म कायम छ । विगतका दिनमा हाम्रा हजुरआमा आमाहरुले आफ्नो श्रीमान, सासूससुरा र घरपरिवारको दुख सुख बिसाउने, चौतारीका रुपमा एक ठाउँमा भेला भएर नाच्ने, गाउने, मनको बह पोख्ने पोखाउने गरि मनाउँथे । उतिबेला मनोरञ्जनका अन्य केही साधन थिएनन् तर, अहिले परिस्थिति फरक छ । हामी भाग्यमानी छौं, हामीले आमा हजुरआमाहरुले झैं दुःख झेल्नुपरेको छैन । त्यसैले हामीले वर्तमान सामाजिक, राजनैतिक कुराहरु सिक्ने र सिकाउने पर्वको रुपमा तीजलाई मनाउनु पर्दछ जस्तो लाग्छ ।
तर तीज मनाउने होडबाजीमा आजकल अलि सामाजिक विकृति बढ्दै गएको, यसलाई धनदौलत देखाउने, अनावश्यक प्रतिस्पर्धा गर्ने, अरुको खिसीट्युरी गर्ने चाडको रुपमा विकसित गर्दै तडकभडक गर्दै लगिएको झलक सामाजिक सञ्जालमा देखिन्छ । जुन दुखको कुरो हो ।
अहिलेको यो फेसबुके दुनियाँमा हामी विदेश बसेर केही नयाँनौलो देख्न पाएकाहरुले यो चाडलाई साधारण तरिकाले मनाएर देशमा बसेकाहरुलाई केही सन्देश दिन पर्दछ जस्तो लाग्छ । यसका लागि हामी सबैले हाम्रो बेजिङ्गस्टोक नेप्लिज कम्युनिटीका अध्यक्ष ॐ गुरुङ भाइ र सम्पूर्ण कार्यसमितिलाई एकमुष्ठ हार्दिक आभार प्रकट गर्दछौं । किनकि माइतीले चेलीलाई माइत निम्त्याएर भोज खुलाउने हाम्रो परम्परालाई कायम गर्दै हाम्रो बिएनसीले यो पटक पनि हामीलाई कार्य समितिले सेल्फ क्याटरिङ गरी बेलायतको ब्यस्त बिदाको अमूल्य एक दिन समय खर्चेर तीजको दर खुलाउनुभएकोमा धेरै धन्यवाद । मेरो विचारमा तीजको अवसरमा खाईपिई नाचगान मात्रै गर्नुभन्दा केही सामाजिक सेवा पनि पुराउन सके झन सुनमा सुगन्ध हुनेछ ।
तपाईं हामी सबैलाई थाहा भएकै कुरो हो, हाम्रो समाजमा महिनावारी विभेद व्याप्त छ । नेपालमा मात्रै नभएर विश्वभर यो विभेद छ । केवल रुप र नाम फरक हुन् । हाम्रा हजुरआमा आमाहरुले महिनावारी विभेदका कारण धेरै दुख पीडा झेल्नुप¥यो । यसलाई धर्मसँग जोडेर, महिनावारी हुनु महिलाको पूर्वजन्मको पापको परिणाम भएकोले सो बेला हामी अपवित्र हुन्छौं भनी हेलाहोंचो, विभेद गरि घरबाहिर छाउगोठमा राख्ने, घरको धुरी हेर्न नहुने, घरको जग छुन नहुने, बाउमाइतीको मुख हेर्न नहुने आदि महिनावारी बार्नुको ४०/५० भन्दा बढी नियम अझै पनि दूरदराजमा पाइन्छ ।
राजधानी सहर बजारलगायत बेलायत अमेरिका जहाँ जहाँ हामी नेपाली पुगेका छौं, यो संस्कार धेरैथोरै बोकेरै गएका छौं । हुन त अहिले धेरथोर परिवर्तन त भएको छ तर पनि मैले यस्तो कुरा गर्दा अधिकांश दिदीबैनीहरुले अरु त म खासै बार्दिनँ तर पूजा गर्न शुभकार्य पितृ कार्यमा जान मन मान्दैन, भन्नुहुन्छ ।
बुझ्नुपर्ने कुरो, एउटा सियो चोरे नि चोर, १ सय किलो सुन चोरे नि चोर । सो एउटा नियम बार्नु वा ४०/५० वटा त्यो नै विभेद हो । त्यसैले यसप्रकारको सबै विभेद पूर्णतः अन्त गरि हामीले आफ्ना छोरीचेलीलाई महिनाको २५ र ५ दिनमा कुनै विभेद नगरी ३० दिन नै समान व्यवहार गर्नु नै मर्यादित महिनावारी हो ।
यो कुरा मैले बुझेपछि, म शुभकार्य, पितृकार्य सबैमा सम्मिलित पनि भएकी छु । मान्यजनबाट दशैंमा टीका पनि ग्रहण गरेकी छु । अनि मेनोपज हुनअघि पशुपती, गुहेश्वरी लगायत मन्दिरहरु महिनावारी भएकै दिन दर्शन गरी मनको बाघलाई जितेकोमा गौरवान्दित छु ।
मानवअधिकारको झन्डै ८ दशक लामो अवधिमा महिनावारीबारे कहिल्यै कसैले कुरै गरेनन् । महिनावारीको रगत शुद्ध रगत हो र सोकै कारण सृष्टि अगाडि बढेको छ भन्ने पाठ सिकाउँदै मर्यादित महिनावारीबारे नेपाल लगायत संसारभर आवाज उठाउने, यसबारे पुस्तक लेख्ने साथै मर्यादित महिनावारीमा पिएचडी गर्ने पहिलो ब्यक्ति हुन् मर्यादित महिनावारी अभियन्ता एवं मदन पुरस्कार विजेता राधा पौडेल ।
मैले पनि उनीबाट उमेरको यो उत्तराद्र्धमा यस्ता कुरा सिक्न पाएँ । सिक्नको लागि उमेरको कुनै हदबन्दी हुँदैन जस्तो लाग्छ । सो आज तीजको अवसरमा यति कुरा हजुरहरु समक्ष शेयर गर्न पाउँदा अत्यन्त प्रफुल्लित छु । साथै आफूले जानेसिके अनुसार मैले महिनावारीलाई मर्यादित बनाउनुपर्छ भनेर वकालत गर्दै आएकी छु ।
२०१९ मा राधा बेलायत आउँदा हाम्रो बिएनसी लगायत बेलायतका थुप्रै स्थानहरुमा मर्यादित महिनावारी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । उनले राधा पौडेल फाउन्डेशन मार्फत निरन्तर यसै विषयमा रिसर्च, देशविदेशका विश्वविद्यालयहरु लगायत पहाडका दुर्गम देखि तराईका गाउँगाउँ अनि शहरबजारमा सचेत गराउँदै आएकी छन् ।
उनकै अथक प्रयासले नेपाल सरकारले २०१७ मा महिनावारी भएका बेला हेला होचों विभेद गरेको भेटिए ३ महिना कैद, ३ हजार जरिवानाको कानुनी प्रावधान लागु गरेको छ । सुदूरपश्चिममा भएका हजारौ छाउगोठ भत्काइएको छ तर बाहिर देखिने छाउगोठ भत्काएर मात्र यो समस्या निराकरण हुँदैन । देखिने छाउगोठ हैन, नदेखिने मनको छाउगोठ भत्काउन जरुरी छ । अनि सो गर्नु तपाईं हाम्रो हातमा छ । अब हाम्रा छोरी नातिनीहरुको पुस्तालाई महिनावारी मर्यादित बनाउँदै हिंसा न्यूनीकरण गर्न मानवअधिकारको प्रबर्द्धन गर्न, अनि प्रजनन् स्वास्थ्यलाई सुधार गर्न आउनोस् हामी सबै मिली हातेमालो गरौं ।