लन्डन । गोर्खा मिडिया लिमिटेड बेलायतद्वारा सञ्चालित गोर्खा मिडिया डटकमले तेस्रो वार्षिकोत्सव अवसरमा आइतबार अल्डरसटमा विशेष समारोह सम्पन्न गरेको छ ।
सुसी मोटो रेस्टुरेन्टमा १७ सेप्टेम्बर दिउँसो आयोजित औपचारिक समारोहको प्रमुख अतिथि रोयल बरो अफ ग्रीनवीचका उपमेयर काउन्सिलर जीत रानाभाटले उद्घाटन गर्दै सत्य, तथ्य तथा पारदर्शीरुपमा गोर्खा मिडियाले समाचार तथा भिडियो सम्प्रेषण गर्दै आएको बताए । उनले समाजलाई अग्रगामी बनाउन मद्दत पुग्ने गरी ठूलो समुदाय गोर्खाको प्रतिनिधित्व गोर्खा मिडियाले गरेको भन्दै आगामी दिनमा पनि अझ सफलताको शुभकामना दिए ।
बीजीडब्लुएसका अध्यक्ष मेजर टिकेन्द्र दल देवान जेपीले गोर्खा मिडियालाई अझ सफलताको शुभकामना दिए । एनआरएन युकेका वरिष्ठ सल्लाहकार तथा गोर्खा मिडियाका सल्लाहकार, तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले दुई सयभन्दा बढी इतिहास बोकेको गोर्खाको ट्रेडमार्कलाई लिएर गोर्खा मिडियाले पारदर्शीरुपमा समाचार सम्प्रेषण गरेको बताए । उनले मिडिया विस्तारै धरासायी हुँदै गएकोमा गोर्खा मिडिया जे–जसरी संचालित छ, त्यसले यो लामो समयसम्म अगाडि बढ्ने विश्वास व्यक्त गरे । उनले सगरमाथाको देश, बुद्ध जन्मेको देशजस्तै गोर्खालीको देश भनेर चिनाउनुपर्ने बताए ।
एनआरएन युकेका अध्यक्ष प्रेम गाहामगरले गोर्खाहरुको लागि नेपाली नागरिकताबाट बञ्चित गर्न नहुने भन्दै आफूहरु नेपाल सरकारसँग माग राखेको बताए । उनले त्यसका लागि केही साताअघि काठमाडौंमा नेपालका प्रबुद्ध राजनीतिक दलका प्रमुख नेतालाई भेटेको स्मरण गराए । उनले गोर्खा मिडियाको हितका लागि एनआरएनए युकेले गर्नुपर्ने फाइनान्सियल रिसोर्स सहयोग गर्न तयार रहेको बताए ।
किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिका अध्यक्ष मेजर योगेश राईले देशको चौथो अंग मिडियाको लागि पनि थुप्रै चुनौती रहेको बताए । आगामी दिनमा पनि अझ सफलताको शुभकामना दिए ।
तमु प्ये ल्हु संघ युके अध्यक्ष रनबहादुर गुरुङले कोरोनाकालको क्रिटिकल समयमा गोर्खा मिडिया स्थापना भएको उल्लेख गर्दै जहिले पनि सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रममा तमुधिं युकेका अध्यक्ष हरि गुरुङले गोर्खा मिडियाको तेस्रो वार्षिकोत्सव अवसरमा शुभकामना दिँदै अझ प्रगतिको कामना गरे । उनी अध्यक्ष रहेको तमु धिं युकेले हालै बेलायतमा १४ औं नेपाली मेला गरेको छ ।
सहारा युकेका अध्यक्ष लेरि कुसाङ गुरुङले पनि शुभकामना मन्तव्य व्यक्त गरे । फोनिज युके अध्यक्ष गोमा रानामगरले निष्पक्ष तरिकाले यसैगरी समाचार सम्प्रेषण गर्न सुझाव दिइन् ।
साहित्यतर्फ माया गुरुङ र समाजसेवातर्फ सम्मानित युवा व्यवसायी राजन खकुरालले पनि सम्मानित हुन पाउँदा खुसी लागेको भन्दै गोर्खा मिडियाप्रति आभार व्यक्त गरे ।
गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुले सबै जनाको साथ सहयोगमा गोर्खा मिडिया अझै अगाडि बढ्दै जाने विश्वास व्यक्त गरे । उनले पत्रकारिता र कलाकारितालाई प्रवर्द्धन गर्दै जाने क्रममा आफूहरुले विभिन्न क्षेत्रका व्यक्तित्वलाई पनि सम्मान गर्दै आएको बताए । उनले अनलाइन र भिडियोमार्फत सत्य, तथ्य, निष्पक्ष र पारदर्शी समाचार सामग्री सधैँ पस्किने वाचा गरे ।
तेस्रो वार्षिकोत्सव समारोह अवसरमा उनले सम्पूर्ण पाठक, दर्शक, विज्ञापनदाता, मिडिया हाउसका टिम, शुभचिन्तक सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गरे । विभिन्न संघसंस्थाको प्रतिनिधित्व गर्दै समारोहमा विभिन्न व्यक्तिहरुको उल्लेख्य उपस्थिति थियो ।
कार्यक्रमको संचालन गोर्खा मिडिया डटकमका सहसम्पादक प्रकाश गुरुङले गरेका थिए । सो अवसरमा अतिथि, सहयोगी लगायतलाई मिडिया हाउसका प्रबन्ध निर्देशक मिलन तमुले मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा धम्पुस परिवार यूकेका अध्यक्ष कुमार गुरुङ, सहारा यूकेका पूर्वअध्यक्ष मिनबहादुर गुरुङ, माइला-कान्छा अभियान बेलायतका पार्वती गुरुङ र माया गुरुङ, शिव कल्चरल सेन्टरका अध्यक्ष वाचस्पति रेग्मी, एभरेस्ट टाइम्सका प्रबन्ध निर्देशक तथा योग प्रशिक्षक नगेन्द्रराज नेम्वाङ, सार्दिखोला समाज यूकेका अध्यक्ष अमृत गुरुङ, सहारा यूकेका उपाध्यक्ष कृष्ण गुरुङ, व्यवसायीहरु सूर्य गुरुङ, शान्तबहादुर गुरुङ, भीम गुरुङ, लक्ष्मी राईलगायत सहभागी थिए ।
‘सूचना र मानवीय सेवा सँगसँगै’ अघि बढाउने उद्देश्यले गोर्खा मिडिया सन् २०२० सेप्टेम्बर १४ तारिखमा स्थापना भएको हो । बेलायत, गोर्खा समुदायलाई प्राथमिकता दिँदै जनचासोका समाचार र विचार समेट्दै अघि बढेको मिडियाले विज्ञापनमार्फत संकलित रकम अफिस सञ्चालन र विपन्न व्यक्ति–परिवार, विभिन्न समस्याबाट पीडितको घाउमा मलम लगाउनुका साथै शिक्षा, संस्कृति तथा कलाकारितामा समेत टेवा पुर्याउँदै आएको छ ।
गोर्खा मिडियाले स्रष्टा सम्मानतर्फ पोखराका लोकदोहोरी गायक रामजी पौडेल, सन्तराज बिक र कर्मचारीतर्फ समाचार प्रस्तोता भावना लम्साललाई पनि नगदसहित सम्मान गर्ने घोषणा गरेको छ । उनीहरु नेपालमा रहेकाले केही सातापछि नेपालमै नगदसहित सम्मान गर्ने जनाइएको छ ।