लन्डन । गोर्खा मिडिया लिमिटेड बेलायतद्वारा सञ्चालित गोर्खा मिडिया डटकमले आज तेस्रो वार्षिकोत्सव मनाउँदै छ ।
दिउँसो १ बजे अल्डरसटस्थित सुसी मोटो रेस्टुरेन्टमा औपचारिक समारोह गरी वार्षिकोत्सव मनाउन लागिएको हो । कार्यक्रममा समाजसेवी सम्मान, कलाकार र कर्मचारीलई पुरस्कार वितरणलगायत हुने गोर्खा मिडिया लिमिटेडले जनाएको छ ।
यस वर्ष समाजसेवातर्फ राजन खकुराल, साहित्यकार माया गुरुङ, स्रष्टा सम्मानतर्फ लोकदोहोरी गायक रामजी पौडेल, सन्तराज बिक र कर्मचारीतर्फ समाचार प्रस्तोता भावना लम्साललाई सम्मान तथा पुरस्कार दिइँदैछ ।
'सूचना र मानवीय सेवा सँगसँगै' अघि बढाउने उद्देश्यले गोर्खा मिडिया सन् २०२० सेप्टेम्बर १४ तारिखमा स्थापना भएको हो । गोर्खा मिडिया प्रारम्भ नेपाल सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले भर्चुअल माध्यमबाट गर्नुभएको थियो ।
बेलायत, गोर्खा समुदायलाई फोकस गर्दै जनचासोका समाचार र विचार समेट्दै अघि बढेको यस मिडियाले विज्ञापनमार्फत संकलित रकम अफिस सञ्चालन र विपन्न व्यक्ति/परिवार, विभिन्न समस्याबाट पीडितको घाउमा मलम लगाउनुका साथै शिक्षा, संस्कृति तथा कलाकारितामा समेत टेवा पुर्याउँदै आएको छ ।
पहिलो वार्षिकोत्सवको अवसरमा जनही १० हजार पुरस्कार राशिसहित 'गोर्खा मिडिया वार्षिक स्रष्टा सम्मान' बाट पुराना कलाकार नन्दा पुनमगर र गजेन्द्र गुरुङलाई सम्मान गरिएको थियो । दोस्रो वार्षिकोत्सवमा समाजसेवातर्फ 'माइला-कान्छा अभियान बेलायत'मार्फत आर्थिक अवस्था कमजोर भएका व्यक्तिको औषधोपचार सहयोग, बाढीपीडित, कोरोना महामारीपीडितलाई राहत, शिक्षालयमा छात्रवृत्ति, अक्षय कोष स्थापनालगायत क्षेत्रमा लामो समयदेखि पुर्याएको अतुलनीय योगदानको कदरस्वरुप पार्वती गुरुङ माइला र माया गुरुङ कान्छालाई दोसल्ला, प्रमाणपत्रसहित सम्मान गरिएको थियो । 'गोर्खा मिडिया वार्षिक स्रष्टा सम्मान' तर्फ वरिष्ठ लोकगायक तनहुँका कृष्ण थापामगर र उदयीमान सेलो गायिका सिन्धुलीकी अन्जु थोकर लामा जनही १० हजार राशिसहित सम्मानपत्रसहित पुरस्कृत गरिएको थियो ।
समाचार सम्प्रेषन आलावा गोर्खा मिडियाले शिक्षा र विपन्न वर्ग तथा पीडितलाई सहयोग गर्दै आएको छ ।
को हुन् सम्मानित र पुरस्कृत हुनेहरु ?
समाजसेवातर्फ
- राजन खकुराल (युवा व्यवासायी, समाजसेवी, स्वास्थ्यकर्मी)
धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नं ७ चैनपूर स्थायी घर भएका राजन खकुराल विगत १२ बर्षदेखि बेलायतलाई कार्य क्षेत्र बनाई खेलकुद, स्वास्थ्य तथा सामाजिक कार्यमा सक्रिय हुँदै आउनुभएको छ ।
सन् २०१५ देखि उहाँ नेपाली समुदायमा निकै सक्रिय हुनुहुन्छ । खेलकुद, स्वास्थ्य, सामामाजिक तथा ब्याबसायिक रुपमा युवाहरुमाझ निकै लोकप्रिय हुनुहुन्छ । २०१५ मा नेपालमा गएको विनासकारी भूकम्पको समयमा बेलायतबाट निकै मिहिनेतका साथ् औषधि, लत्ताकपडा तथा आर्थिक सहयोग जुटाएर नेपाल पठाउनुभएको थियो ।
खकुरालले सन् २०१६ मा स्पाईनल कर्ड इन्जुरी रमेश मिजारलाई एक लाख ५० हजार रकम संयोजन गरी स्पाईनल सर्जनलाई हस्तान्तरण गर्नुभएको थियो । उहाँको संयोजकत्वमा बेलायतमै पहिलो पटक औपचारिकरूपमा महिला तथा पुरुष भलिबल प्रतियोगिता भयो । २०१५, १६, १७ मा ग्रीनवीच कप भलिबलको संयोजन गर्नुभयो भने २०१८ मा ग्रीनवीच मेलाको सहसम्योजकको भूमिका निर्वाह गर्नुभयो ।
बुद्ध फाऊन्डेसन् युकेले ट्राफलगर स्क्वरमा आयोजना गर्दै आएको बुद्ध जयन्ती उत्सव २०१७, १८ र १९ मा आर्थिक संयोजकको भूमिका खेल्नुभयो । बुद्ध फाउण्डेसन यूकेको संस्थापक कोषाध्यक्ष रहेका खकुरालको अग्रणी भूमिकामा निर्माणाधिन कपिलवस्तु वृद्धाश्रमको लागि उहाँको कार्यकालमा करिब ३० हजार पाउण्डको सहयोग नेपाल पठाउनुभयो ।
२०१६ मा लण्डनको विश्वप्रसिद्ध लर्डस् रंगशालामा नेपाल र एमसीसीबीच भएको ऐतिहासिक क्रिकेट प्रतियोगितामा खकुरालले टिकेटिङ कोअर्डिनेटिङको भूमिका निर्वाह गर्नुभएको थियो । त्यस्तै २०१७ मा लर्डस् खेल मैदानमै भएको नेपाल, नेदरल्याण्ड र एमसीसी बीचको त्रिकोणात्मक क्रिकेट प्रतियोगितमा पनि उहाँको भूमिका कम रहेन ।
गैरआवासीय नेपाली संघ बेलायतको २०१७ –१९ को आफ्नो कार्यकालमा एनआरएनए यूकेको च्यारिटी कमिशन दर्ता प्रक्रियामा फण्डराइजिङ कोअर्डिनेटरको सफल भूमिका खेल्नुभयो, उहाँकै पहलकारी भूमिकाबाट अहिले एनआरएनए यूके च्यारिटी संस्थाको रुपमा रजिस्टर भएको हो ।
२०१८ मा एनआरएनए यूकेले गोर्खा कपमा शुरु गरेको स्वास्थ्य शिविर (हेल्थ क्याम्प) को पनि खकुरालले सहसंयोजक, २०१९ मा भएको गोर्खा कपमा गरेको स्वास्थ्य शिविरमा संयोजकको भूमिका निर्वाह गर्नुभयो उहाँले ।
खकुरालले कोरोना भाइरसको महामारी समयमा बेलायतमा करिब एक हजार पौउन्ड बराबरको अति आबस्यक र कठिन परिस्थितिमा विभिन्न औषधीलगायत स्वास्थ्य सामाग्री निशुल्क वितरण गर्नुभयो । त्यस्तै, कोरानाको महामारी बखत घरबाट बाहिर निस्कन नसक्ने अशक्त ४ सयभन्दा बढी परिवारलाई करिब १५ हजार पाउन्डको निशुल्क खाद्यान्न वितरणमा संयोजनकारी भूमिका खेल्नुभएको थियो ।
२०२० मा अन्तर्राष्ट्रिय धादिङ समाजको तत्कालीन प्रवक्ता रहेका खकुरालको मुख्य भूमिकामा आपतकालीन कोभिड १९, सहयोग रकम संकलन अभियानमा ७ दिनमा करिब रु १० लाख संकलन गरी अन्तर्राष्ट्रिय धादिङ समाजले धादिङ जिल्लाका १३ वटै स्थानीय तहलाई अति आवश्यक स्वास्थ्यसामाग्री र खाद्यन्न वितरण गरेको थियो ।
एनआरएनए आइसीसी अन्तर्गतको कोष परिचालन विभागको तत्कालिन सचिव समेत रहेका उहाँको संयोजनमा अप्रिल २०२० मा धादिङबेसी सदरमुकाममा रहेको जिल्ला अस्पताल धादिङलाई गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदद्वारा करिब ४ लाख बराबरको स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गर्नुभयो । त्यस्तै धादिङका ११८ विपन्न परिवारलाई दुई चरणमा गरेर करिब ३ लाख रूपैंयाँ बराबरको खाद्यान्न र एन्जल तामांगको उपचार खर्चको लागि रु १ लाख ३१ हजार ३०६ आर्थिक सहयोग रकम हस्तान्तरण गर्नुभयो ।
कोभिडको कालमा खकुरालको प्रमुख संयोजनमा अमेरिका, जापान, अस्ट्रेलिया र बेलायतबाट ३८ थान अक्सिजन कन्सनट्रेटर मेसिन लगाएत अन्य स्वास्थ्य सामग्रीहरु धादिङको विभिन्न ठाउंमा उपलब्ध गराइएको थियो ।
खकुराल अन्तर्राष्ट्रिय धादिङ समाज अध्यक्ष, नेपाली युथ एसोसिएसन यूकेको बरिष्ठ उपाध्यक्ष, एनआरएनए युके सल्लाहकार, ‘रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी’ बिज्ञ सल्लाहकार, एनआरएनए आइसीसी अन्तर्गतको कोष परिचालन विभागको सचिव (२०१९–२०२१), गैर–आवासीय नेपाली संघ बेलायत कार्यकारी सदस्य (२०१७ –१९), बुद्ध फाऊनडेसन् युके कोषाध्यक्ष (२०१६ –२०२२), अन्तर्राष्ट्रिय धादिङ समाज प्रवक्ता (२०१९–२०२१) रहनुभएको छ ।
- माया गुरुङ (समाजसेवी तथा साहित्यकार)
साहित्यकार माया गुरुङको जन्मस्थान सिरुबारी पञ्चमूल, स्याङ्जा (होमस्टे गाउँ) हो । बुबा दानबहादुर गुरुङ र भीमकुमारी गुरुङको कोखबाट जन्मनुभएकी माया हाल वेलिङ्, केन्ट, बेलायतमा बस्दै आउनुभएको छ ।
कर्मभूमि बेलायतको व्यस्त जिन्दगीबाट समय उभारेर माया साहित्य लेखनमा लगाइराख्नुभएको छ । सन् ९० को दशकदेखि फुट्कर कविताहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशन गर्दै आउनु भए पनि मायाले पहिलो कृति भने २०७८ मा जिन्दगी कवितासङ्ग्रह प्रकाशन गर्नुभयो । लगत्तै अर्को वर्ष २०७९मा बाको जुत्ता, ऐना एकैपटक लोकार्पण गर्न सफल हुनुभयो ।
कविता सिर्जनामा बढ्ता दख्खल राख्नुहुने माया अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको पूर्वकेन्द्रीय सदस्य तथा आजीवन सदस्य हुनुहुन्छ ।
हाल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरको उपाध्यक्ष तथा सोंपाल समाज युकेको आमा प्रमुख हुनुहुन्छ ।
स्कुल शिक्षिका, आर्मी स्वास्थ्यसेवामा सहायक नर्स, एकाउन्ट फार्ममा सेवा गर्नुभएका उहाँ राधा फाउन्डेसन नेपालद्वारा नारी रजस्वलासम्बन्धी अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा दोस्रो पुरस्कार पाउनुभयो ।
अनेसास वेलायतबाट पुरस्कृत गरिने सुप्रमा–ईप्रमा साहित्यिक पुरस्कारबाट पहिलो कृति जिन्दगी कवितासङ्ग्रहका लागि पुरस्कृत बन्नुभयो भने कविता वाचन र अन्य कविता प्रतियोगिताहरूमा पनि सम्मान र पुरस्कारहरू प्राप्त गर्नुभएको छ । उहाँले विभिन्न कार्यक्रमको सिलसिलामा हङकङ, ब्रुनाई, भारत, सिङ्गापुर, मलेशिया तथा बेलायत भ्रमण गर्नुभएको छ ।
औपचारिक शिक्षातर्फ मानविकी र समाजशास्त्र संकायमा पद्मकन्या क्याम्पस, काठमाडौं, नेपालबाट स्नातक उत्तीर्ण गर्नुभएको छ ।
स्रष्टा सम्मानतर्फ
- रामजी पौडेल (लोकदोहोरी गायक)
नेपाली लोकदोहोरीको क्षेत्रमा स्थापित नाम हो– रामजी पौडेल । पौडेलको जन्म सन् १९८५ डिसेम्बर ८ मा नेपालको गण्डकी प्रदेश कास्की जिल्ला साविक भदौरेतामागी गाविस वडा नम्बर ४ मा भएको हो । बाबु पदमलाल र आमा चन्द्रकली पौडेलका ३ छोरा र २ छोरीमा उहाँ चौंथो सन्तान हुनुहुन्छ ।
सानैदेखि तीक्ष्ण बुद्धिका र मिलनसार स्वभावका गायक पौडेलले सिद्ध बराह माध्यमिक विद्यालयबाट २०६० सालमा एसएलसी उत्तीर्ण गरेर पृथ्वीनारायण क्याम्पसबाट आईएड पूरा गर्नुभएको छ ।
विद्यालय तह र कलेज अध्ययनका क्रममा उहाँले पोखराको विन्ध्यवासिनी संगीत प्रशिक्षण केन्द्रबाट ६ महिने संगीतिक प्रशिक्षण कक्षा लिनुभयो । पछि उहाँले त्रिवेणी संगीतकालयबाट पनि १ वर्षसम्म सांगीतिक प्रशिक्षण लिने मौका पाउनुभयो । रामजीलाई चिनाउने शीर्ष गीत हो निहुँ नखोज सानी एल्बममा समेटिएको गीत ।
२०६७ सालमा पहिलोपल्ट उहाँले माछापुच्छे« म्यूजिक कम्पनीमार्फत आफ्नै रचना, संगीत र स्वरमा ‘सुन मेरी काली’ एल्बम बजारमा ल्याउनुभएको थियो । त्यसयता उहाँले आउ लिन शिव (भजनसंग्रह), चुप छोरी चुप, यस्ता आए जमाना, सुन मेरी काली, तिमी खोली म त बगर, मरक्कै कम्मर भाँच्नी गरेरलगायत दुई दर्जन गीतका एल्बम श्रोतादर्शकमाझ पस्किसक्नुभएको छ ।
हाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी सचिव उहाँ सन् २०१३ देखि ०१६ सम्म प्रतिष्ठान कास्कीको सचिव चलाइसक्नुभएको थियो । साथै नेपाल रेडक्रस सोसाइटी कास्कीका आजीवन सदस्य, लायन्स क्लब अफ पोखरा ब्लु स्काईका कल्चरल निर्देशक तथा सप्तरंगी सांस्कृतिक प्रतिष्ठान पोखराका सदस्य हुनुहुन्छ ।
लामो समयको गीतसंगीतमा उहाँको योगदानस्वरुप थुप्रै पुरस्कार, अवार्ड तथा सम्मान पाएका छन् । उहाँ सन् २०१० मा रेडियो अन्नपूर्णले आयोजना गरेको अलिमियाँ लोकतारा–२ मा प्रथम भए । रेडियो गोर्खालीले २०१२ मा आयोजना गरेको प्रतियोगितामा प्रथम, पाँचौ राष्ट्रिय लोक तथा दोहोरी अवार्ड २०७३, दोस्रो राष्ट्रिय गण्डकी म्यूजिक अवार्ड २०८०, राष्ट्रिय संगीत अवार्ड २०८० प्राप्त गर्नुभएको छ ।
उहाँ संगीतका विभिन्नखाले प्रतियोगितामा निर्णायक हुनुका साथै फेवा टेलिभिजनमा ‘फेवा चौतारी’ कार्यक्रम चलाइरहनुभएको छ । सांगीतिक कार्यक्रमका लागि हालसम्म नेपालका विभिन्न ठाउँ एवं भारत, हङकङ पुगिसक्नुभएको छ ।
- सन्तराज बिक (लोक तथा दोहोरी गायक)
गायक सन्तराज बिक नवउदयमान प्रतिभा हुनुहुन्छ । २०५४ साल कार्तिकमा बाबा भिमबहादुर र आमा सीतामाया बिकको कोखबाट देवघाट १ तनहुँमा जन्मिनुभएका उहाँ हाल काठमाडौंको गोगंबुमा बस्दै आउनुभएको छ ।
उहाँले पहिलो एल्बमको रुपमा पछेउरी ओढुला गीत गाउनुभएको छ । पोखरा दोहोरी साँझ रेस्टुरेन्टमा कार्यरत बिक लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँको सहकोषाध्यक्षको जिम्मेवारी पिन सम्हाल्दै आउनुभएको छ ।
सांगीतिक कार्यक्रमका क्रममा उहाँले नेपालका धेरै जिल्लाहरु घुमिसक्नुभएको छ ।
कर्मचारीतर्फ
- भावना लम्साल (समाचार प्रस्तोता)
धादिङको मुलरीभन्ज्याङ ७ मा २०४८ सालमा जन्मनु भएकी भावना लम्साल । पछिल्लो दुई वर्षदेखि गोर्खा मिडियामा आबद्ध हुनुहुन्छ । विशेषगरी यस गोर्खा मिडिया युट्युब च्यानलबाट प्रसारण हुने साप्ताहिक समाचार वाचन, रिपोर्टहरु निर्माण र विभिन्न जिंगलमा स्वर दिँदै आउनुभएको छ । विगत डेढ दशकदेखि सञ्चारकर्ममा सक्रिय लम्साल रेडिया, टेलिभिजन, अनलाइन पत्रकारिता क्षेत्रमा दक्ष मानिनुहुन्छ ।