लन्डन । एनआरएनए युरोप उपसंयोजक दयानिधि सापकोटाले एनआरएनए केन्द्रीय सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अग्रज र डेलिगेट्ससँगको छलफल एवं परामर्शपछि उनले अन्ततः उम्मेदवारी दिने घोषणा गरेका हुन् । सापकोटा बेलायत लेस्टरका एक सफल व्यवसायीको रुपमा परिचित छन् ।
‘पारदर्शी संगठन, जवाफदेही संस्था–एकताबद्ध एनआरएनए: सबल सचिवालय’ उनको मुख्य एजेन्डा हो । उनले एनआरएनएमा आफ्नो लामो अनुभव सदुपयोग गर्दै संघको वृहत्तर हित र मातृभूमिका लागि थप काम गर्ने प्रण पनि गरेका छन् ।
उनले बेलायतबाट प्रतिनिधित्व गर्दै आइसीसी सदस्य र युरोप उपसंयोजकको जिम्मेवारी कुशलतापूर्वक पूरा गरेका कारण उनी सबैको रोजाइ बनेका छन् । सापकोटा सन् २००६ बाट नै गैरआवासीय नेपाली संघ बेलायतमा सक्रिय भूमिकामा आएका थिए ।
स्वीडेनको राजधानी स्टकहोममा १४औं युरोपियन क्षेत्रीय बैठकसहित १२औं महिला, युवा तथा विज्ञ सम्मेलन र चेक रिपब्लिकमा आयोजित १५ औं युरोपियन क्षेत्रीय सम्मेलन सफल बनाउन निकै खटिएका सापकोटाको रचनात्मक भूमिकाले त्यतिखेर सर्वत्र प्रशंसा पाएको थियो ।
‘बोल्ड पर्सनालिटी’ र स्पष्ट वक्ताको पहिचान बनाएका उनले दर्जनौं सामाजिक संस्थामा काम गरेर अनुभव हासिल गरेका छन् । उनले बेलायत नेपाल दुवैतिर च्यारिटी, आपतविपत र प्राकृतिक विपत्तिमा साथ, नेपालको शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा निरन्तर आर्थिक सहयोग गर्दै आएका छन् ।
बागलुङलाको काठेखोलामा बुबा पद्मनाथ सापकोटा र आमा भावी सापकोटाको कोखबाट उनको जन्म भएको हो । उनले स्थानीय अमर माविबाट एसएलसी र काठमाडौंको शंकरदेव क्याम्पसबाट बिकम अध्ययन गर्दै गर्दा सन् १९९३ मा जर्मनी पुगेका थिए । करिब १५ वर्ष जर्मनीमा बिताएपछि उनी सन् २००६ अक्टोबर १ मा बेलायत आइपुगेका थिए ।
एनआरएनए ११ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आउँदो १७ देखि २० अक्टोबरसम्म काठमाडौंमा हुँदैछ।