लन्डन । तमु धिं युकेले नेपालबाट आएका विभिन्न कलाकार एवं महानुभावहरुलाई सम्मान गरेको छ । बेलायतस्थित आफ्नै भवनमा शुक्रबार स्वागत एवं बिदाइ कार्यक्रम भएको हो । १४ औं नेपाली मेलाको अवसरमा नेपाली कलाकारहरु बेलायत आएका थिए ।
जसमा कलाकार, फिल्म निर्माता एवं निर्देशक माओत्से गुरुङ, गुरुङ फिल्म निर्देशक तथा वरिष्ठ कलाकार ताराबहादुर गुरुङ, रोधिं कार्यक्रमको सञ्चालक बालकाशी गुरुङ, मिस मंगोल–२०१२, भ्लगर एण्ड कोरियोग्राफर सपना रोका, नायिका रजनी गुरुङ, व्यवसायी हिमाल गुरुङ, फोटो पत्रकार सुदर्शन रञ्जित तथा २ जना कोरियनलाई तमु धिं युके अध्यक्ष हरि गुरुङ, फस्ट लेडी सन्ध्या गुरुङ, वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ, सचिव विमल गुरुङ, लगायतले स्वागत एवं बिदाइ गरेका हुन् ।
कार्यक्रममा सम्बोधन गर्दै कलाकार, फिल्म निर्माता एवं निर्देशक माओत्से गुरुङले १२ वर्षमा खोलो फर्किने भन्थे आफ्नो जीवनको खोलो २० वर्षमा आएर फर्किएको उल्लेख गरे । उनले २००२ मा तमु धिं युकेको साधारण सदस्य थिए । अर्को वर्ष २००३ मा विविध कारणवश नेपाल फर्किनुपरेको बताए । जिफानका पूर्व अध्यक्ष समेत रहेका उनले आफ्नो कार्यकालमा फोटो पत्रकार मिलन तमुको संयोजकत्वमा शुभचिन्तकहरुको ठुलाे आर्थिक सहयोगप्रति आभार व्यक्त गरे । उनले जिफानले आफ्नै जग्गा खरिद र भवन निर्माण तयारी गरेको पनि बताए ।
मिस मंगोल–२०१२, भ्लगर एण्ड कोरियोग्राफर सपना रोकाले नेपालको पर्यटन प्रवद्र्धनका लागि वेल्समा आयोजित हाइक फर नेपालमा आएको बताइन् । युकेको नेपाली मेलामा आफूले होस्ट हुन पाउँदा निकै खुसी लागेको उनको भनाइ थियो । सो अवसरमा विभिन्न व्यक्तिहरुले तमु धिं युकेको कार्यको उच्च प्रशंसा गर्दै अझ प्रगतिको कामना गरे ।
व्यवसायी हिमाल गुरुङले सम्मानप्रति धेरै धेरै आभार छु भनी धन्यवाद व्यक्त गरे । कार्यक्रममा माओत्से गुरुङले मायाको चिनो दिएका थिए भने बालकाशी गुरुङले ढाकाटोपी लगाइदिएकी थिइन् ।
कार्यक्रम तमु धिं युके अध्यक्ष हरि गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो । स्वागत वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ र संचालन सचिव विमल गुरुङले गरेका थिए ।