लन्डन । अग्रज फोटो पत्रकार सुदर्शन रञ्जित लण्डनमा सम्मानित भएका छन् । बेलायतमा शनिबार आयोजित समारोहमा सहारा युकेले उनलाई लामो समयदेखि फोटो पत्रकारिता मार्फत समाजमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको हो ।
रि.ले. कुसाङ गुरुङले सहारा युकेको ममेन्टो दिएर र सहारा युकेका वरिष्ठ सल्लाहकार महेश गुरुङले सहारा लोगो अंकित स्कार्फ लगाईदिएर सम्मान गरेका हुन् ।
नेपालको चर्चित सहारा क्लब पोखराका आजीवन सदस्य एवं मिडिया को–अर्डिनेटर रञ्जित नेपाल पत्रकार महासंघ कास्कीका सदस्य हुन् । उनी झण्डै तीन दशकदेखि पोखरामा रहेर फ्रिलेन्सररुपमा फोटो पत्रकारिता गरिरहेका छन् । उनी खेलकुद, पर्यटन तथा राष्ट्रिय सरोकारका विषय समेटेर फोटो पत्रकारितामा सधैं अग्रपंक्तिमा हुन्छन् ।
क्रिकेटको सर्वोच्च संस्था इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसिसी) ले सन् २००७ मा आयोजना गरेको एशिया प्रशान्तस्तरीय ‘आईसिसी डेभलपिङ फोटो अफ दि इयर’ विधामा रञ्जित प्रथम भएका थिए । साथै ग्लोबल अवार्डमा समेत छनोट भएका उनी विभिन्न संघसंस्थाबाट कैयौं पटक सम्मानित तथा पुरस्कृत भइसकेका छन् ।
कार्यक्रममा सहारा युकेका संस्थापक अध्यक्ष नवीन गुरुङले सहाराको शिक्षा, खेलकुद र पुनस्र्थापना कार्यमा सहारा पोखरा र सहारा युकेलाई रंजितले पुर्याएको महत्वपूर्ण सहयोगको चर्चा गरे ।
कार्यक्रममा सहाराद्वारा गरिने वार्षिक कार्यक्रम च्यारीटी नाइटबारे चर्चा भएको थियो । संस्थाका उपाध्यक्ष एवम च्यारीटी कार्यक्रमको संयोजक कृष्ण गुरुङले च्यारीटीबारे विस्तृत रुपरेखा प्रस्तुत गरे । सहारा एफसी चेयरमेन शारदा गुरुङले सहारा फुटबलको युकेको प्रगति र अब हुने खेलका बारे बताइन् । उनले च्यारीटी, अक्षयकोष र सहारा क्लब पोखराको २५ वर्षे समारोहको बारेमा स्पष्ट पारिन् । सम्मानित फोटो पत्रकार रञ्जितले युकेमा आउन तमु धिंले गरेको सहयोगप्रति आभार प्रकट गरे ।
कार्यक्रममा एनआरएन युकेका नवनिर्वाचित अध्यक्ष एव् साहाराका सल्लाहकार हित काजी गुरुङ, पूर्व अध्यक्ष मीन गुरुङ, निवर्तमान अध्यक्ष कुमार गुरुङ, सल्लाहकार, कार्यसमिति पदाधिकारी, फस्ट लेडी पञ्च गुरुङ र मञ्जु गुरुङ राई समेतको उपस्थिति थियो ।
अध्यक्ष रि.ले. कुसाङ गुरुङको अध्यक्षतामा भएको कार्यक्रमका संचालन सचिव वाचस्पति रेग्मीले गरेका थिए ।