नेपाली लोक तथा दोहोरीको क्षेत्रमा स्थापित नाम हो–रामजी पौडेल । पौडेलको जन्म सन् १९८५ डिसेम्बर ८ मा नेपालको गण्डकी प्रदेश कास्की जिल्ला साविक भदौरेतामागी गाविस वडा नम्बर ४ मा भएको हो । बाबु पदमलाल र आमा चन्द्रकली पौडेलका ३ छोरा र २ छोरीमा उनी चौंथो सन्तान हुन् ।
हुने बिरुवाको चिल्लो पात भने झैं रामजी सानैदेखि तीक्ष्ण बुद्धिका र मिलनसार स्वभावका थिए । उमेरले ४/५ वर्ष पुगेपछि उनी घर नजिकैको जनसिद्ध माविमा भर्ना भई कक्षा ८ सम्म अध्ययन गरे । त्यसपछि उनी घरभन्दा १ घण्टा टाढाको पैदलयात्राको दुरीमा रहेको सिद्ध बराह माविमा पढेर २०६० सालमा एसएलसी उत्तीर्ण गरे । उनले पृथ्वीनारायण क्याम्पसबाट आईएड पूरा गरेका छन् ।
उनमा संगीतको रस सानैदेखि बसेको हो । विद्यालय तहका हरेक सांगीतिक कार्यक्रममा नियमित भाग लिँदै गए । प्रथम भई पुरस्कार पनि जित्न थालेपछि उनमा उत्साह थपियो । हरेक शुक्रबारका कार्यक्रममा नियमित भाग लिने र उत्कृष्ट हुन थालेपछि पछि त उनैलाई सांस्कृतिक कार्यक्रमको जिम्मा दिइयो । उनले विद्यालयस्तरका मात्र नभई अन्तरविद्यालय, जिल्लास्तरीय, क्षेत्रीयस्तरका प्रतियोगितामा पनि सर्वोत्कृष्ट पुरस्कार हात पार्न थाले ।
कलेज अध्ययनका क्रममा उनले पोखराको विन्ध्यवासिनी संगीत प्रशिक्षण केन्द्रबाट ६ महिने संगीतक प्रशिक्षण कक्षा लिए । पछि उनले त्रिवेणी संगीतकालयबाट पनि १ वर्षसम्म संगीतक प्रशिक्षण लिने मौका पाए ।
रामजीलाई चिनाउने थुप्रै गीतसंगीत छन् । अधिकांश गीत उनी आफै रचना गर्छन् र संगीत भर्छन् पनि । बेलाबखत हुने विभिन्न स्टेज कार्यक्रममा उनी बरोबर गुञ्जिने गर्छन् । अहिले तीजको छेकोमा अलि बढी व्यस्त देखिन्छन् । रामजीलाई खुबै चिनाउने गीत हो, निहुँ नखोज सानी एल्बममा समेटिएको गीत ।
२०६७ सालमा पहिलो पल्ट उनले माछापुच्छ्रे म्युजिक कम्पनीमार्फत आफ्नै रचना, संगीत र स्वरमा ‘सुन मेरी काली’ एल्बम बजारमा ल्याएका थिए । त्यसयता उनले दुई दर्जन गीतका एल्बम श्रोतादर्शकमाझ पस्किसकेका छन् । रचना, संगीत र स्वर उनको आफ्नै रहेका गीतमा आउ लिन शिव (भजन संग्रह), चुप छोरी चुप, यस्ता आए जमाना, सुन मेरी काली, नाच नाच भन्छौ नि कान्छा, भन्न नसकेर, तिमी खोली म त बगर, मरक्कै कम्मर भाँच्नी गरेर, सत्तरी साल भित्र, कस्तो होला भोलि, साह्रै दुख्यो मन, कोदो गोड्न जाम्, वाचा कसम तोडेर जानेलाई, मायाले तिरीमिरी झ्याई पा¥यो, हेराउन जाम् हिंड, दिलभित्र सजाऊ है, बाबाजी को आँगनी, मलाई त मेरै देश प्यारो, सानु माया, कति दुःख भोगें मैले, पानको दोकान, मान्छे राम्रो बानी नराम्रो, कान्छी सानिमा, तिर्खा लाग्यो हरहर, आउँदा जाँदा भेटौला, फाटेको पछ्यौरी लगायत हुन् । कर्णप्रिय आवाजका धनी रामजीको स्वरसँगै शब्द, संगीत र अभिनय उत्कृष्ट रहेको यस क्षेत्रका व्यक्तिहरु बताउँछन् ।
हाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी सचिव उनी सन् २०१३ देखि ०१६ सम्म प्रतिष्ठान कास्कीको सचिव चलाइसकेका थिए । साथै नेपाल रेडक्रस सोसाइटी कास्कीका आजीवन सदस्य, लायन्स क्लब अफ पोखरा ब्लु स्काईका कल्चरल निर्देशक तथा सप्तरंगी सांस्कृतिक प्रतिष्ठान पोखराका सदस्य हुन् ।
लामो समयको गीतसंगीतमा उनको योगदानस्वरुप थुप्रै पुरस्कार, अवार्ड तथा सम्मान पाएका छन् । उनी सन् २०१० मा रेडियो अन्नपूर्णले आयोजना गरेको अलिमियाँ लोकतारा–२ मा प्रथम भए । रेडियो गोर्खालीले २०१२ मा आयोजना गरेको प्रतियोगितामा प्रथम, पाँचौ राष्ट्रिय लोक तथा दोहोरी अवार्ड २०७३, दोस्रो राष्ट्रिय गण्डकी म्यूजिक अवार्ड २०८०, राष्ट्रिय संगीत अवार्ड २०८० प्राप्त गरेका छन् ।
सुर्खेतमा आयोजित अन्तर्राष्ट्रिय लोकदोहोरी तारा २०१०, वालिङ महोत्सवअन्तर्गत खुला लोक तथा दोहोरी प्रतियोगिता २०६५, तनहुँ महोत्सवअन्तर्गत लोक तथा दोहोरी गीत प्रतियोगिता–२०६५, पोखरा महोत्सवअन्तर्गत लोक तथा दोहोरी प्रतियोगिता २०६५, स्वतन्त्र विद्यार्थी युनियन पृथ्वीनारायण क्याम्पसले आयोजित गरेको खुला लोक तथा दोहोरी प्रतियोगता २०६५, अन्तर्राष्ट्रिय लोक सांस्कृतिक तथा पर्यटन महोत्सव–२०१० मा प्रथम हुन सफल भए ।
उनी संगीतका विभिन्न खाले प्रतियोगितामा निर्णायक हुनुका साथै फेवा टेलिभिजनमा ‘फेवा चौतारी’ कार्यक्रम लिएर दर्शकमाझ आउन भ्याउँछन् पनि । सांगीतिक कार्यक्रमका लागि हालसम्म नेपालका विभिन्न ठाउँ एवं भारत, हङकङ पुगिसकेका छन् ।