काठमाडौं । नेपालको संविधानले प्रदान गरेको अधिकार कार्यान्वयन गर्न आदिवासी जनजाति संघर्ष समिति गण्डकीले माग गरेको छ । भाषिक अधिकार कार्यान्वयन हुनुपर्ने, विशेष, संरक्षित वा स्वायत्त क्षेत्र निर्धारण गरिनुपर्ने, सालिक स्थानान्तरण होइन सौन्दर्यकरण गरिनुपर्ने लगायतको मागसहित आयोजित मंगलबार पत्रकार सम्मेलनमा आफ्ना माग पूरा गराउन १००१ सदस्यीय संघर्ष समिति गठन गरिएको जानकारी गराइएको थियो ।
संघर्ष समिति संयोजकमा धर्मबहादुर गुरुङ, सहसंयोजक हुमबहादुर गुरुङ, सचिव सुजन लामा, प्रवक्ता खेम पुन, युवा संयोजक कृष्णकुमार गुरुङ, सहसंयोजक राम थापामगर र सचिव तोरन गुरुङ रहेका छन् । सदस्यहरुमा नेपाल आदिवासी जनजाति महासंघ गण्डकी र जिल्लाहरुका पदाधिकारीहरु, आदिवासी जनजाति महासंघका जातिय घटक समाजका पदाधिकारीहरु, महासंघ सम्वद्ध संगठनहरुका नेतृत्वहरु रहेको संयोजक धर्मबहादुर गुरुङले बताए ।
संविधानले प्रदान गरेको भाषिक अधिकारमध्ये गण्डकी प्रदेशमा सरकारी कामकाजको भाषामा गुरुङ, मगर र थारु, मातृभाषामा पठनपाठनको व्यवस्था, प्रदेशमा भाषा आयोगको शाखा स्थापना गरिनुपर्ने, थाकथलो, गाउँ बस्तीको नाम पुनः मौलिक (मातृभाषा) मा नामाकृत गरिनुपर्ने, सबै पालिमा प्रज्ञाप्रतिष्ठान गठन गरी आदिवासी जनजातिका मातृभाषा, कला, संस्कृति, साहित्य, इतिहासको खोजी, संरक्षण र विकास गरिनुपर्ने संयोजक गुरुङले बताए ।
साथै गण्डकीमा तुरुन्त विशेष,संरक्षित वा स्वायत्त क्षेत्र निर्धारण गर्नु माग गरिएको छ भने प्रथम सहिद लखन थापालाई अपमानित हुने कुनै गतिविधि गरिए प्रतिकार गर्ने संघर्ष समितिले चेतावनी दिएको छ ।
प्रथाजनित, समुदायगत संस्कार संस्कृतिविरुद्ध घृणित अभिव्यक्ति दिई आदिवासी जनजाति समुदायलाई अपमानित गर्ने, सामाजिक सद्भाव खलल गर्ने भगवती पाण्डेलाई कारवाही गर्न समितिले माग गरेको पत्रकार सम्मेलनमा जानकारी बताइएको थियो। आफ्ना मागहरु सम्बन्धित सरकारले तत्काल सुनुवाई गर्न आग्रह छ, अन्यथा आदिवासी जनजातिहरु आफ्नो अधिकार प्राप्तिका लागि संघर्षरत रहिरहने चेतावनी पनि दिइएको थियो।
साथै, आदिवासी जनजाति आन्दोलनलाई पुर्नगठित, व्यवस्थित, जिम्मेवार बनाउँदै भदौ १३ मा पोखरामा आदिवासी जनजाति आन्दोलन र अधिकार विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जनाइएको छ । कार्यक्रममा अधिकारवादी एवं राजनीतिक विश्लेषकहरु खगेन्द्र संग्रौला र डम्वर खतिवडा, वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर वक्ता हुने छन् ।
संघर्ष समितिको संयोजक धर्मबहादुर गुरुङको अधयक्षतामा भएको कार्यक्रममा सहसंयोजक हुमबहादुर गुरुङले आदिवासी जनजातिको माग र समसायिक सन्दर्भको बारेमा बोलेका थिए । संचालन नेपाल आदिवासी जनजाति महासंघ कास्कीका सचिव विष्णु गुरुङले गरेका थिए ।