पोखरा । हिमाली साँस्कृतिक परिवारले वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापालाई मेनकाजी गुरुङ स्मृति सम्मान पुरस्कार अर्पण गरेको छ ।
परिवारका संस्थापक एवम निवर्तमान अध्यक्ष, वरिष्ठ नृत्य निर्देशक, सँस्कृतिकर्मी मेनकाजी गुरुङको स्मृतिमा स्थापित अक्षयकोषबाट गुरुङको ६० औं जन्म जयन्तीको अवसरमा ९१ वर्षीय वरिष्ठ नृत्य निर्देशक थापालाई १ लाख ११ हजार १११ रुपैयासहित सम्मान पुरस्कार अर्पण गरिएको हो ।
उक्त अक्षयकोषबाट हिमाली साँस्कृतिक परिवारका उत्कृष्ठ कलाकारद्धय मनसुवा नेपाली र सनबहादुर गुरुङलाई जनही १५ हजार नगदसहित कलाकार प्रोत्साहन स्वरुप पुरस्कृत गरियो । परिवारका संरक्षक नरबहादुर शेरचनको संयोजकत्वमा श्रष्टा छनौट समितिको सिफारिसमा वरिष्ठ नृत्य निर्देशक थापा, कलाकारद्धय नेपाली र गुरुङ पुरस्कृत भएका हुन् ।
स्व. मेनकाजी गुरुङको शुभेच्छुक, आफन्तजन, कलाकारहरु, विभिन्न संघ संस्थाको सहयोगमा हालसम्म ४० लाख रुपैयाँको मेनकाजी गुरुङ स्मृति अध्यक्षकोष स्थापना गरी उक्त कोषको व्याजबाट वरिष्ठ सँस्कृतिकर्मी र हिमाली साँस्कृतिक परिवारका दुई जना उत्कृष्ठ कलाकारहरु नेपाली र गुरुङलाई पुरस्कृत गरिएको हो ।
प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व उपकुलपति प्राज्ञ जगमान गुरुङ, संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका पुर्व उपकुलपति प्राज्ञ सरुभक्त श्रेष्ठ, पुर्व मन्त्री वेदबहादुर गुरुङ, हिमाली साँस्कृतिक परिवारका संरक्षक तथा श्रष्टा छनौट समिति संयोजक नरबहादुर शेरचन, हिमाली साँस्कृतिक परिवार अध्यक्ष ज्ञानबहादुर थापा, संरक्षक खेमबहादुर गुरुङ, संरक्षक टिकाबहादुर कार्की लगायतले पुरस्कृत गरे ।
सो अवसरमा पुरस्कृत नृत्य निर्देशक भैरवबहादुर थापाले लोकसँस्कृतिको महत्वको बारेमा चर्चा गर्दै लोक सँस्कृतिप्रति राज्यको दृष्टिकोण, लोक सँस्कृतिको वर्तमान अवस्थाका बारेमा चिन्ता समेत जाहेर गरे ।
प्राज्ञ जगमान गुरुङले लोक सँस्कृति राष्ट्र राष्ट्रियताको प्रतीक भए पनि संरक्षण सम्वद्र्धनमा ध्यान जान नसकेको बताए । उनले जाने बुझेको ज्ञान हस्तान्तरण गर्न आफुहरु तयार रहेको भन्दै कला, सँस्कृतिमा विकृति आइरहेको, मौलिकता हराईरहेको टिप्पणी समेत गरे ।
सो अवसरमा साहित्यकार सरुभक्तले जीवित इतिहास थापाबाट नयाँ पुस्ताले धेरै ज्ञान ग्रहण गर्नुपर्ने बताए । हिमाली साँस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा कलाकारहरुले साँस्कृतिक प्रस्तुति राखेका थिए ।
०५४ मा स्थापित हिमाली साँस्कृतिक परिवारले आफ्नो २६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।