लन्डन । गोर्खा मिडियाका सल्लाहकार एवं अग्रज फोटोपत्रकार सुदर्शन रञ्जित बेलायत आइपुगेका छन् ।
उनलाई शनिबार लण्डन हिथ्रो बिमानस्थलमा सहारा युकेका अध्यक्ष ले. रि. कुसाङ गुरुङ, सहारा क्लब पोखराका संस्थापक कोषाध्यक्ष एवं सहारा युकेका सल्लाहकार रामचन्द्र गुरुङ लगायत शुभचिन्तकले स्वागत गरे ।
तीन साता लामो युके भ्रमणका क्रममा फोटोपत्रकार रञ्जितले १४ औं नेपाली मेला अवलोकन गर्नुका साथै देशका विभिन्न सहर अवलोकन गर्ने कार्यक्रम छ । तमु धिं आयोजनामा क्यापटन पार्क रेसकोर्समा नेपाली मेला हुँदैछ ।
यस्तै, उनले प्रिमिमर लिग फुटबल म्याच, स्ट्यामफोर्ड ब्रीज लन्डनमा अवस्थित चेल्सी एफसी म्युजियम तथा बेल्समा नेपाली भिलेज हेर्ने कार्यतालिका छ ।
साथै, उत्तर पश्चिममा रहेको समुन्द्र तटमा अवस्थित ब्ल्याकपुल शहर घुम्नुका साथै नेपालीहरुको घनाबस्ती भएका ठाउँहरु फार्नबोरो, अल्डरसट, रिडिङ, प्लमस्टिड, फोक्स्टन आदि शहरहरु घुम्ने कार्यक्रम रहेको बताउँछन् ।
नेपालको चर्चित सहारा क्लब पोखराका आजीवन सदस्य एवं मिडिया को–अर्डिनेटर रञ्जित नेपाल पत्रकार महासंघ कास्कीका सदस्य हुन् । उनी झण्डै तीन दशकदेखि पोखरामा रहेर फ्रिल्यान्सररुपमा फोटोपत्रकारिता गरिरहेका छन् ।
क्रिकेटको सर्वोच्च संस्था इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसिसी) ले सन् २००७ मा आयोजना गरेकाे एशिया प्रसान्तस्तरीय ‘आईसिसि डेभलपिङ फोटो अफ दि इयर’ विधामा प्रथम भएका थिए । साथै ग्लोबल अवार्डमा समेत छनोट भएका उनी विभिन्न संघसंस्थाबाट कैयौं पटक सम्मानित तथा पुरस्कृत भइसकेका छन् ।
सहारा क्लब पोखरा चेल्सी पिच ओनरसमेत भएकोले क्लबको तर्फबाट उनी अफिसियलरुपमा पिच टुर र क्लब म्युजियम भ्रमणमा समेत जाँदैछन् । सहाराले सन् २००७ मा चेल्सी पिच ओनरको शेयर सदस्यता प्राप्त गरेको थियो ।