लन्डन । हिन्दु नेपालीहरुको महान पर्व दसैं, तिहारको अवसरमा बेलायतमा बर्न्टओक नेपाली समाजले शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।
बर्न्टओक नेपाली समाजका अध्यक्ष बिष्णु गुरुङको अध्यक्षता र लन्डन बरो अफ बार्नेटकी मेयर काउन्सिलर एलिसन मूरको प्रमुख आतिथ्यतामा शुकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम मनाइएको हो । मेयर काउन्सिलले बार्नेटमा नेपाली समुदायले विविधता थपेको भन्दै सामाजिक काममा भूतपूर्व गोर्खालगायत नेपालीहरुको सक्रियताको प्रशंसा गरिन् ।
अध्यक्ष गुरुङले पाहुना तथा समाजका सदस्यहरुलाई स्वागत गर्दै कोभिड महामारीका कारण २ वर्ष पछि यसरी प्रत्यक्ष रुपमा भेटघाट गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए ।
विभिन्न संघसंस्थाहरुले गरेका कामहरुको मूल्यांकन गर्दै यो वर्ष ‘फ्रेन्ड्स अफ सिल्क स्ट्रिम’ लाई प्रशंसापत्र प्रदान गरिएको थियो। त्यस्तै समाजका सदस्यहरुका परिवारबाट उच्च शिक्षा हासिल गरेका भाइबहिनीहरुलाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा लण्डन बरो अफ बार्नेटका काउन्सिलर तथा पूर्व उपमेयर लक्ष्य गुरुङ, नवनिर्वाचित काउन्सिलरहरु कमल गुरुङ तथा सारा कन्वे लगायतको उपस्थिति थियो।
कार्यक्रमको पहिलो चरणको संचालन समाजकी महासचिव दिलमाया गुरुङले गरेकी थिइन् भने दोस्रो चरणमा सांस्कृतिक कार्यक्रमको सन्चालन समाजका उपाध्यक्ष भोला पनेरु तथा हेलिशा गुरुङले आकर्षक ढंगले गरेका थिए । करिब २५० जनाको सहभागी रहेको कार्यक्रममा समाजका सल्लाहकार खमिरजंग गुरुङ तथा सांस्कृतिक सचिव उमेश खडकाले लोकप्रिय गीतहरु गाएका थिए । आमा समूहकी अध्यक्ष मन्जु गुरुङ, सदस्यहरु कमला गुरुङ, बिमला गुरुङ, लिला गुरुङ, छोरीहरु बिनिता गुरुङ, प्रियंका गुरुङ, श्रीमती निर्मला गुरुङ तथा बाल कलाकार उत्कृष्टि पौडेलले रोचक नृत्य प्रदर्शन गरेका थिए ।