लन्डन । बेलायतको दक्षिण पूर्वमा अवस्थित मिड्वे काउन्सिलका मेयर, काउन्सिलर निना गुरुङले आफ्नो कार्यकालको सयपछि पत्रकारहरुसँग साक्षात्कार गरेकी छन् ।
मेयर पदभार ग्रहण गरेको १०० दिनपछि बेलायतलाई आधार बनाएर पत्रकारिता गरिरहेका नेपालीमुलका पत्रकारहरुलाई आफ्नै कार्यालय (मेयर पालर) मा यही १६ अगस्टका दिन गुरुङले भेटघाट गरेकी हुन् । भेटघाट कार्यक्रममा मिड्वे काउन्सिलका लिडर भिन्स म्यापल, काउन्सिलका प्रेस अफिसर जेड एडवर्ड र लेबर पार्टीका प्रेस अफिसरसहित पत्रकारहरु गोर्खा मिडियाका मिलन तमु, प्रकाश गुरुङ, वीनेपालीका नरेश खपाङ्गीमगर, नेपाली समाचारका विश्वासदीप तिगेला र खबर नेपालका प्रजल शुक्लाको उपस्थिति रहेको थियो । करिब दुई घन्टाको बसाईमा मेडम मेयर र काउन्सिल लिडरले पत्रकारहरुबाट उठाएका प्रश्नहरुको जवाफ दिएका थिए ।
काउन्सिलरमा निर्वाचित भएलगत्तै मेयर पदमा पनि निर्वाचित निना गुरुङ ब्रिटिस गोर्खा परिवारका पहिलो मेयर हुन् । उनी बुद्धिष्ट धर्ममा आस्था राख्ने पहिलो मेयर पनि ।
रोचेष्टर क्याथिड्रलमा डेडिकेसन सिर्मोनी हुँदा पहिलो पटक गुरु रिम्पोछेको मन्त्र सुनाउन पाउँदा मेमर गुरुङ निकै हर्षित भएको बताउँछिन् । उनले मेयर बन्नु पहिला पनि धेरै सामाजिक कार्यहरु गरेको बताइन् । गोर्खा नेप्लिज कम्युनिटी मिड्वेका पहिलो महिला अध्यक्ष पनि बनेकी थिइन् । आफ्नो परिवारमा राजनीतिक पृष्ठभूमिका कोही नभएको जानकारी दिँदै ब्रिटिस गोर्खाको छोरी र पति पनि गोर्खा नै रहेको बताइन्।
कसरी राजनीतिमा लाग्नुभयो र प्रेरणाको स्रोत के थियो भन्ने प्रश्नमा उनले भनिन्, 'बेलायत आएपछि पढाईलाई निरन्तर दिँदै आएँ । कलेजको नतिजा पनि डिस्टिङ्सन ग्रेड आएपछि शिक्षकहरुले नै युनिभर्सिटी पढ्न प्रोत्हासन गरे । युनिमा पढ्दा पनि मेरो क्षमता देखेर नै होला साथीभाइहरुले युनिको स्टुडेन्ड रिप्रेजेन्टेटिभ काउन्सिल बनाइदिए । त्यहाँबाट नै मेरो लिडरसीपको सुरुआत भयो । त्यही बेला सानो २ छोरीहरुलाई हुर्काउँदै थिएँ । धेरै नै चर्चित गोर्खाज् डट कम अनलाइन चलाइरहेको थियो । लगत्तै सोसियल वर्कमा डिग्री हासिल गरेँ । युनिमा हुँदा नै "गोर्खा ईन्टिग्रेसन एण्ड रिसेटलमेन्ट" विषयमा रिसर्च पेपर बनाएर सरकारलाई बुझाएको थिएँ । जसले गोर्खा परिवारहरुको लागि सकारात्मक असर पर्यो । समाजसेवा गर्ने चाहना सँधै मनमा थियो । तर बृहत्रुपमा धेरैलाई सेवा कसरी पुर्याउन सकिन्छ भन्ने सोचलाई केन्द्रित गर्दा राजनीतिमा लागेको हुँ । भाग्यवश छोटो समयमा सबैको सहयोगले मेयरसम्म बन्न सफल भएँ ।'
मेयर बरोका पहिलो नागरिक र राजपरिवारलाई प्रतिनिधित्व गर्ने साथै स्थानीय नागरिक सबैको प्रतिनिधि व्यक्ति हो भन्दै आफ्नो काम र जिम्मेवारीको बारे बताएकी थिइन् । मिड्वेको आफ्नो भिन्दै पहिचान भएको वर्णन गर्दै पाँचवटा सहरहरुलाई प्रतिनिधित्व गर्दछ । मिड्वेको मेयर ऐडमिरल अफ रिभर र कन्सटेबल अफ द क्यासल पनि हुन् । आफ्नो बरोको नागरिक कसैले बदमासी गरेमा २८ दिन क्यासलमा थुन्न सकिने पावर मेयरलाई दिएको पुरानो चलन रहेछ ।
मेयर निनाले तीनवटा च्यारिटी छानिन्
१. हेल्प फर युक्रेनियन
२. सोल्जर, सेलर्स, ऐयरमेन एण्ड फेमिलिज एसोसिएसन् (SSAFA)
३. योङ्ग मिड्वे
मेयर गुरुङले ठूलो स्केलमा समाजसेवा गर्ने चाहना छ र पोलेसी मेकिङमा अघि बढ्ने इच्छा भए राजनीतिमा लाग्न आह्वान गरिन् । काउन्सिल लिडर भिन्स म्यापलले मेयरको काम देखेर अति नै प्रभावित भएको भन्दै प्रशंसा गरे । '१०० दिन पहिला निना एक साधरण उम्मेदवार थिए । आज उनको काम देखेर म लगायत सबै काउन्सलरहरु र जनता प्रभावित छन्,' उनले भने ।
भेटको अवसरमा पत्रकारहरुलाई नेपाली समाजमा गरिरहेको सेवाको कदर गर्दै मेयरले कदर पत्र दिएकी थिइन् ।
मेयरको प्यालरमा भएको कुराकानी सकिएपछि रोचेष्टर हाईस्ट्रिटमा गएर लन्च भयो । रोचेष्टरको क्यासल र क्याथिड्रलको भ्रमण पनि पत्रकारहरुलाई मेयर स्वयं आफै र भिन्सले गराए ।