लण्डन । तान्चोक नौजे पैंगीलामा परिवार यूकेको वार्षिक भेटघाट कार्यक्रम भएको छ ।
शनिबार १२ अगष्टमा फार्नबोरोस्थित साम्युल कोडी स्पोर्टस् कलेजको सभा हलमा भएको कार्यक्रममा कास्कीको अन्नपूर्ण गाउँपालिकाअन्तर्गत तान्चोक गाउँ पुख्र्यौली घर भई बेलायतमा बसोबास गर्ने नौजे पैंगीलामा तमूहरुले विविध कार्यक्रमका साथ कार्यक्रम आयोजना गरेका हुन् ।
बौद्ध अर्घौं सदन पोखराका प्रमुख लामा खेन्पो शीरलामा गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गुरु किसानसिंह गुरुङ विशेष आतिथ्य थियो ।
कार्यक्रममा तमूधिं यूकेका अध्यक्ष हरि गुरुङ, सहारा युकेका अध्यक्ष लेप्टेन कुसाङ गुरुङ तथा पन्च गुरुङ, आँटीघर मौजाका नौजें पैंगीलामा परिवारका क्याप्टेन नारायणबहादुर गुरुङ तथा चन्द्रदेवी र इन्द्र कुमार तथा उषा गुरुङलगायतको उपस्थिति थियो ।
परिवारका दाजुभाइहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा परिवारका छोरीज्वाइँ, भान्जाभान्जी तथा भान्जीज्वाइँहरु र विभिन्न संघसंस्थाका पदाधिकारीहरुलाई पाहुनाको रुपमा आमन्त्रण गरिएको थियो ।
कार्यक्रममा परिवारका अध्यक्ष मेजर हितमान गुरुङले एकअर्कामा परिचय गर्ने, भेटघाट गर्ने, आपसी सद्भावको विकास गर्ने, आत्मीयता, मित्रता र सम्बन्धलाई दरिलो र प्रगाढ पार्दै लैजाने परिवारको उद्देश्य रहेको बताउँदै उपस्थितिका लागि प्रमुख अतिथिलगायत सबैलाई धन्यवाद दिए । उनले मिसन २०२५ को अवधारणा प्रस्तुत गर्दै आगामी दिनमा संस्थाको जिम्मेवारी नयाँ पुस्तामा हस्तान्तरण गर्ने बताउँदै समाजको बिकासका लागि सल्लाह र सुझावको अपेक्षा व्यक्त गरे ।
परिवारका अध्यक्ष मेजर हितमान गुरुङ, प्रमुख अतिथि खेन्पो शीरलामा गुरुङ, विशेष अतिथि तमूधि यूकेका अध्यक्ष हरि गुरुङ, जेष्ठ सदस्य क्या.रि पूर्ण बहादुर गुरुङले दीपप्रज्ज्वलन गरी शुरुवात भएको उक्त कार्यक्रममा हालै सन्तान लाभ भएका, बैबाहिक बन्धनमा बाँधिएका, विभिन्न संघसंस्थाको नेतृत्वमा पुगेका, ८४ वर्ष पूरा गरेका जेष्ठ सदस्यलगायतका आमाबुबा, दाजुभाइ, दिदीबहिनी, छोरीज्वाइँलगायत परिवारका सदस्यहरुलाई खदा लगाई बधाई ज्ञापन गरिएको थियो ।
तान्चोक नौजे पैंगीलामा परिवार यूकेका अध्यक्ष मेजर हितमान गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा परिवारका वरिष्ठ उपाध्यक्ष मिनबहादुर गुरुङले स्वागत र महासचिव प्रेमबहादुर गुरुङले कार्यक्रम संचालन गरेका थिए ।