लन्डन । उमेरले ४ दशक पूरा हुन लागेका धनबहादुर गुरुङ बाँसुरी र सनई वादक हुन् । सन् १९८५ फेब्रुअरी १५ मा गोरखा जिल्लाको सिरानचोक नगरपालिका ३ हर्मिमा जन्मिएका गुरुङ १५ वर्षभन्दा बढी समयदेखि संगीत क्षेत्रमा निरन्तर लागिरहेका छन् ।
शास्त्रीय तथा लोक विधामा दक्ष धनबहादुर विश्वका ७ देश घुमेर सांगीतिक भ्रमणका रुपमा यतिबेला बेलायतमा छन् । उनी गोरखाली समाज यूकेको निमन्त्रणामा १७ जुलाई २०२३ मा बेलायत आएका हुन् । बेलायत भ्रमणकै अवसरमा डीएमटी इन्टरटेन्टमेन्ट यूकेको आयोजनामा आउँदो सेप्टेम्बर २४ तारिखमा डिलाउन्ज रेस्टुरेन्ट एन्ड ककटेल बारमा 'धनबहादुर गुरुङ एकल साँझ' हुँदैछ । बेलुकी ६ बजेदेखि सुरु हुने कार्यक्रममा भेटेरन गायक वीरबहादुर थापा, डीएमटी ब्यान्डका गायक सन्तोष पुन तथा सारङ्गी चौतारी युकेले पनि प्रस्तुति दिने छन् ।
धनबहादुर एक साँझ कार्यक्रमको संयोजन डीएमटी ब्यान्डका दिनेश गुरुङ, तुल्सी राना तथा तकमाया गुरुङ, गणेश गुरुङ र रफी श्रेष्ठ जुटेका छन् । प्रवेश शुल्क भने जम्मा १० पाउन्ड मात्र रहेको आयोजकले जनाएको छ ।
मनवीर गुरुङ र काली गुरुङको कोखबाट जन्मिएका बाँसुरी र सनही वादक धनबहादुरले भारतको अल्लाहवादस्थित प्रयाग संगीत समितिबाट बाँसुरीमा ब्याचलर्स (प्रभाकर) उत्तीर्ण गरेका छन् । संगीत सिकेपछि आफै गुरु अर्थात् संगीत शिक्षकका रुपमा पनि सन् २००७ देखि नै विभिन्न विद्यालयहरुमा पढाउँदै आएका छन् । उनले जेम्स स्कुल धापाखेल ललितपुरमा ११ वर्ष पढाए भने ललितपुरकै स्पेनी बबलर आर्ट क्लबमा १३ वर्ष टिचर बने । पछिल्लो समय नाद संगीत पाठशाला काठमाडौंमा सिकाउँदै आएका छन् ।
शास्त्रीय संगीत समाज, तमु कलाकार संघको केन्द्रीय कार्यकारी समिति सदस्य रहेका धनबहादुर संगीत कलाकार संघको आजीवन सदस्य तथा गोरखा सांस्कृतिक समाजको मानर्थ सदस्य छन् । संगीतकै दौरानमा जर्मनी, फ्रान्स, स्वीटजरल्यान्ड, स्पेन, चीन, साउदी अरेबिया, भारत पुगिसकेका उनले विभिन्न प्रतिष्ठित अवार्ड पनि थापेका छन् ।