लन्डन । २९ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस आज (बुधबार) ९ अगस्टका दिन परे पनि नेपाल आदिवासी जनजाति महासंघ (नेफिन यूके) ले भने अगस्ट १३ मा औपचारिक कार्यक्रम गर्ने भएको छ ।
स्थानीय अनुकूलताको आधारमा नेफिन यूकेले अल्डरसटस्थित एम्पायर हलमा १३ अगस्ट बिहान साढे १० बजेदेखि कार्यक्रम राखिएको जनाएको छ । नेफिन यूकेले 'पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौ, परम्परागत ज्ञान, सिपको प्रवर्द्धन गर्दै पुर्ख्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौं' नारासहित दिवस मनाउँदै छ ।
नेफिन यूकेका अध्यक्ष कर्मा पहाडी शेर्पाले कार्यक्रममा नेपाली राजदूतावास लन्डनकी उपनियोग प्रमुख रोशन खनाल, प्रमुख वक्ता नेफिन केन्द्रका निवर्तमान सचिव तथा नेफिन यूकेका सल्लाहकार भक्तबहादुर दुरा रहने जानकारी दिए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायत, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायत, नेपाल आदिवासी जनजाति युवा महासंघ बेलायत, नेपाल आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ बेलायत पनि आयोजगको रुपमा रहेका छन् ।
इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइरहेका छन् । नाराको अर्थ आफूले निर्धारण गरेअनुरुपको परविर्तनको संवाहक आदिवासी युवाहरू भन्ने हुन्छ । आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा यस वर्ष विशेष जोड दिइएको नेपाल आदिवासी जनजाति महासङ्घले जनाएको छ । दिवसका अवसरमा आज बानेश्वरमा जनजाति आयोगले कार्यक्रमको आयोजना गरेको छ । त्यसैगरी आदिवासी जनजाति महासङ्घले दिउँसो नेपाल प्रज्ञा–प्रतिष्ठानमा पनि आयोजना आयोजना गरेको छ ।
सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो । संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रुपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो ।
उक्त दिवसका लागि संयुक्त राष्ट्रसङ्घको लोगोलाई बङ्गलादेशका कलाकार रिबन देवानले तयार पारेका हुन् । सो लोगोमा हरियो पातका दुई कानजस्तो आकृतिले पृथ्वीलाई दुईपट्टिबाट घेरेको देखिन्छ । सोही सन्दर्भ पारेर नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले पनि काठमाडौँमा कार्यक्रमको आयोजना गरेको छ ।