लन्डन । घान्द्रुक समाज यूकेले आफ्नो १३ औं वार्षिक समर भेटघाट धुमधामसँग मनाएको छ ।
अध्यक्ष नारायणसिंह गुरुङको सभापतित्वमा औपचारिक कार्यक्रम गरी ५ अगस्ट २०२३ शनिबार फार्नबोरोस्थित ओकफर्म स्पोर्ट्स कलेजको हलमा घान्द्रुक समाज यूकेले वार्षिक समर भेटघाट मनाइएको हो । कार्यक्रम आमन्त्रित अतिथि तमु प्ये ल्हु संघ युकेका प्रतिनिधिको रूपमा सहभागी खेगी समिति अध्यक्ष डमरबहादुर गुरुङ र अध्यक्ष नारायण सिंह गुरुङले संयुक्तरूपमा दीप प्रज्ज्वलन गरेर कार्यक्रम शुभारम्भ गरेका थिए ।
कार्यक्रम आरम्भको क्रममा खेगी गुरु उपाध्यक्ष देवबहादुर गुरुङले घान्द्रुकेहरुको आस्थाको केन्द्र शक्तिपीठ श्री मेश्रम बराहको पूजा गरेर प्रसाद ग्रहण गरेपछि कार्यक्रमले गति लिएका थिए । कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष गुरुङले स्वागत मन्तव्यको साथै हेल्थ एण्ड सेफ्टीबारे ब्रिफ गरेका थिए ।
औपचारिक कार्यक्रमको पहिलो चरणमा केही अगाडि पछाडि गरी आइपुगेका आमन्त्रित अतिथिहरुमा तमु प्ये ल्हु संघको प्रतिनिधि खेगी अध्यक्ष डमरबहादुर गुरुङ दम्पती, तमुधिं युकेको अध्यक्ष हरि गुरुङ दम्पती, बेलायतको लागि गैर आवासीय नेपाली संघको हालै निर्वाचित अध्यक्ष हित काजी गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, शितल पाटी युकेको प्रबन्ध निर्देशक वाचस्पति रेग्मी, नेपालबाट हाल यूकेमा रहेका मेश्रम बराह मावि घान्द्रुकको व्यवस्थापन समितिको निवर्तमान अध्यक्ष रि. में. ललितबहादुर गुरुङ, हाल भ्रमणको क्रममा यूकेमा रहेका मेश्रम बराह माविको पुरानो शिक्षक केबि (कृष्ण बहादुर) गुरुङ दम्पती, गत २९ जुन २०२९ मा सम्पन्न भएको एभरेष्ट म्याराथनमा घान्द्रुकको स्कुलको च्यारिटीको मूल उद्देश्य बोकी सहभागी भएका सूर्य गुरुङको नेतृत्वको सहभागीहरुमा सूर्य गुरुङ, ताङतिङ समाजको अध्यक्ष समेत रहेका तर्कजंग गुरुङ, जुमकाजी गुरुङ र ट्याप ट्याप सेन्डको नेपाल प्रतिनिधि सृष्टि गुरुङ आदिलाई अध्यक्ष नारायणसिंह गुरुङको हातबाट स्वागत तथा सम्मान गरेका थिए ।
कार्यक्रमको पहिलो चरणमै समाजलाई विभिन्न विधामा जस्तै कसैले भौतिकरूपमा योगदान दिएर, कसैले आर्थिक रूपमा योगदान दिएर, कसैले आवश्यक पर्दा सल्लाह सुझावहरु दिएर, कसैले नाचेर, कसैले गाएर समाजलाई दिएको योगदानहरूको उच्च मूल्यांकन गर्दै आमा समूह तथा मूल समितिका विभिन्न सदस्यहरुलाई सम्मान गरेको थियो । त्यस्तैगरी समाजका सदस्यका नानीबाबुहरु जसले यो वर्ष यहाँका विभिन्न विश्व विद्यालयहरुबाट ब्याचलर, मास्टर्स डिग्री र विद्यावारिधी गर्दै गरेका ९ जना नानीहरूलाई पनि सम्मान गरे ।
त्यस्तैगरी घान्द्रुक समाज यूकेले आफ्नो गुरुङ भाषा संरक्षण गर्ने उद्देश्यले २०१५ देखि लगातार रूपमा सञ्चालन गर्दै आएको २० वर्ष मुनिको नानीहरूको लागि तमु भाषा प्रतियोगितालाई निरन्तरता दिँदै यस वर्ष पनि सञ्चालन गर्यो । यस वर्ष ५ जना नानीहरूले भाग लिएकोमा अल्डरशट निवासी प्रभात गुरुङको सुपुत्री अन्जनी दर्शनी गुरुङले प्रथम स्थान हासिल गरेर यो वर्षको शिल्ड हात पार्न सफल भयो ।
तमु भाषा प्रतियोगिता सञ्चालन गर्ने क्रममा छोटो समयको मौका छोपेर नेपालबाट हाल युके आइपुगेका घान्द्रुकस्थित मेश्रम बराह माविको स्कुल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष रि. मे. ललितबहादुर गुरुङले विद्यालय, स्वास्थ्य, बाटोघाटो गाउँको स्थितिको अपडेट गरे ।
उक्त अवसरमै आमा समूहकी अध्यक्ष हरिमाया गुरुङले थोरै समय लिएर समाजका सदस्यहरुको सुपुत्रहरुको शुभविवाह सम्पन्न भएकोमा सामूहिकरूपमा बधाई दिने कार्यक्रम पनि सम्पन्न भयो । विवाह सम्पन्न भएका सदस्यहरुमा पूर्वअध्यक्ष अर्जुन गुरुङ र शान्ति गुरुङको सुपुत्र सन्दिप गुरुङ र बुहारी अस्मिता गुरुङ, दोस्रो सदस्यमा सुकबहादुर गुरुङ र पूर्णकुमारी गुरुङको सुपुत्र दिपेश गुरुङ अनि बुहारी अन्तिमा गुरुङ र तेस्रो सदस्यमा प्रितम गुरुङ र सुनिता गुरुङको सुपुत्र सुरज गुरुङ र बुहारी सुष्मा गुरुङ आदि थिए ।
त्यसपश्चात् दोश्रो चरणको मनोरञ्जन कार्यक्रमको सञ्चालन भयो । उक्त कार्यक्रममा आधाआधा तोला सुनको मुख्य आकर्षण रहेको दुई वटा पुरस्कार र अन्य विभिन्न आकर्षक पुरस्कारहरू भएको राफल ड्र कार्यक्रम सञ्चालन गरिएका थिए । उक्त आधा तोला सुनको बम्पर पुरस्कार स्विन्डन निवासी सुश्री आयुषा गुरुङ र अर्को आधा तोलाको सुन पुरस्कार केम्बरली निवासी श्रीमती इन्द्रकुमारी गुरुङले हात पार्न सफल भयो । उक्त आधा आधा तोलाको सुनको दुई वटा पुरस्कार यसै समाजका सदस्य याक एन्ड यती गोर्खा रेस्टुरेन्ट योर्कको सञ्चालक किसान गुरुङले र ट्याप ट्याप सेन्डको नेपाल प्रतिनिधि सुश्री सृष्टि गुरुङले प्रायोजन गरेका थिए ।
त्यस्तैगरी घान्द्रुकेहरुको आफ्नै मौलिक कलाकारहरुको बेजोड प्रस्तुति रहेको नृत्यमा पार्टीका सहभागीहरुले भरपुर मनोरञ्जन लिए । त्यसपछि कार्यक्रमको अन्तमा नेपालबाट हाल यूकेमा भ्रमणको क्रममा यूकेमा रहेकी लोकदोहोरी गीत गायिका नानु तमुस्योको बेजोड प्रस्तुतिको मजा लिँदै बेलुका ९ बजेतिर कार्यक्रम अन्त भएको थियो । करिब सबै कार्यक्रमहरु सुरूदेखि अन्तसम्म समाजका महासचिव र सचिव राजकुमार गुरुङ र पुनम गुरुङले सञ्चालन गरेका थिए ।