लण्डन । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल अन्तर्राष्ट्रिय खेलजीवनबाट सन्न्यास लिएकै भोलिपल्ट लण्डन आएका छन् ।
नेपाली समुदायले आयोजना गर्ने दोस्रो ब्रिटिश नेप्लिज प्रिमियर लिग क्रिकेट प्रतियोगिताका विशेष अतिथि रुपमा उनी यहाँ आइपुगेका हुन्।
लिगको मुख्य आयोजक केटिएम ट्राभल एण्ड टुर्स अपरेशन डाइरेक्टर सुनिल थापा, टुर्नामेन्ट डाइरेक्टर विनोद विकास सिंखडा, मार्केटिङ डाइरेक्टर अभिषेक भट्टराई, सोलिसिटर रोजन भण्डारी लगायतले उनलाई शनिबार हिथ्रो विमानस्थलमा भव्य स्वागत गरे ।
सो अवसरमा क्रिकेटर मल्लले नेपाली क्रिकेट खेलाडीलाई पनि आफ्नो ज्ञान, अनुभव बाँड्ने अवसर पाएकोमा खुसी व्यक्त गरे । उनले प्रतियोगितामा भाग लिएका खेलाडीलाई जितको शुभकामना पनि दिए ।
प्रतियोगितामा खुकुरी क्रिकेट क्लब, एडिनबरा फाएरबल, लन्डन सुपर स्पोर्टस्, नयाँ युवा क्रिकेट क्लब, गोर्खा क्रिकेट क्लब र मिडल्यान्ड वारियर्स क्लब गरी ६ टिमले भाग लिएको आयोजकले जनायो । यो प्रतियोगितामा बेलायतमा नेपालीले गरेकामध्ये सबैभन्दा ठूलो पुरस्कार राशी भएको प्रतियोगिता हो ।
विजेतालाई २५५० र उपविजेतालाई १००० पाउण्ड नगद साथमा ट्रफी दिइनेछ ।