लन्डन । बेलायतमा समर लागेदेखि नै नेपालबाट कलाकारहरू धमाधम आइरहेका छन् । संघ संस्थाहरूको समर भेटघाट कार्यक्रम लगातार चलिरहेको छ । यसै क्रममा आफ्नो गीत संगीतको यात्रामा हालै बेलायत आइपुगेकी छन् सुमधुर स्वरकी धनी, सुकुमारी लोक तथा दोहोरी गायिका मनमाया वाइबा ।
जुलाई २९ को धादिङ नुवाकोट समाज यूकेको कार्यक्रमका लागि सोही संस्थाको निमन्त्रणमा आएकी गायिका वाइबाले यही मेसोमा बेलायतका विभिन्न क्षेत्रमा सांगीतिक प्रस्तुति दिइरहेकी छन् । टेलिभिजन कार्यक्रम इन्द्रेणीकी सञ्चालिका एवं गायिका मनमायाले ३१ जुलाई का दिन बेलायतवासी सोंपालका केही दाजुभाइ र दिदीबहिनीहरूसँग साउथ ह्यारोको गोल्डेनसीप रेस्टुरेन्टमा धूमधामसँग रमाइलो गराइन् ।
वाइबाको बेलायत बसाई छोटो रहेको र प्राय: सबै दिनहरू व्यस्त रहने थाहा पाएर उनको गीत प्रत्यक्ष सुन्न लालायित विजयबहादुर गुरुङ (सोँपाल समाज यूकेका संस्थापक अध्यक्ष), जुमबहादुर गुरुङ, पदमबहादुर गुरुङ, टेकबहादुर गुरुङ, चित्रमान गुरुङलगायत मिलेर झटपट सल्लाह गरी सोमबार भए पनि यो कार्यक्रम गर्ने निधो गरेका थिए । उक्त रमाइलो कार्यक्रममा गायिका वाइबालाई जुमबहादुर गुरुङ (सोँपाल समाज यूकेको सल्लाहकार) र चित्रबहादुर गुरुङ (तमु समाज यूकेका संस्थापक अध्यक्ष) ले फूल र खादा लगाई स्वागत गरेका थिए ।
कार्यक्रममा लोकदोहोरी गायिका निता गुरुङले गाएर वाइबालाई साथ दिएकी थिइन् भने निकै गीतहरू प्रस्तुत गरिसकेपछि वाइबासँग टेकबहादुर गुरुङ, विजयबहादुर गुरुङ र क्याप्टेन प्रेमबहादुर गुरुङले (सोँपाल समाज यूकेको पूर्वअध्यक्ष ) मिठो रिले दोहोरी गाएका थिए । साथै कार्यक्रमभरि कुमार गुरुङले म्युजिक सम्हाल्नुको साथै बाँसुरी बजाएर अति नै सुमधुर धुनले मनमायाको गीतलाई साथ दिएको थियो भने गाउँघरको रोधीमै जस्तो मादल बजाएर पदम गुरुङले साथ दिएका थिए ।
मनमायाको स्वर र गीतमा मुग्ध भएर सबैजना नाँच्न र गाउन छाडेर मन नभई-नभई बिदा हुनु पर्ने अवस्था बनेको सहभागीले बताए । वास्तवमै 'मनमायासँग रमाइलो साँझ' सोचेकोभन्दा अति नै रमाइलो र स्मरणीय रहेको उनीहरुको भनाइ छ ।