लन्डन । लोकप्रिय कलाकार मनमाया वाइबाले बेलायतवासी नेपालीलाई नचाएकी छन् । धादिङ नुवाकोट समाज यूकेले आयोजना गरेको कार्यक्रममा उनले विभिन्न गीतमा दर्शक झुमाएकी हुन् ।
मनमाया राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यसमेत हुन् । इन्द्रेणी कार्यक्रम सन्चालिका उनी लोकदोहोरीमा अत्यन्तै रुचाइएकी कलाकार हुन् ।
सो अवसरमा अर्की कलाकार बिन्दा परियारले पनि आफ्ना प्रस्तुतिमा प्रशस्त मनोरञ्जन दिलाएकी थिइन् ।
कार्यक्रमको उद्घाटन पूर्व मेयर काउन्सिलर विष्णु गुरुङ र धादिङ नुवाकोट समाज यूके अध्यक्ष धनबहादुर तामाङले संयुक्त रुपमा दीप प्रज्ज्वलन गरेर गरेका थिए ।
यसैबीच, समाजले आयोजना गरेको धादिङ नुवाकोट कपको उपाधि स्वीन्डन स्टारले जितेको छ । शनिबार लन्डन फेल्थम कम्युनिटी कलेज मैदानमा आयोजित तेश्रो धादिङ नुवाकोट कपको फाइनलमा फेल्थम फाइटरलाई पराजित गर्दै उपाधि जित्न सफल भएको हो । विजेताले गोल्ड मेडल र उपविजेताले सिल्भर मेडलसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
भेट्रान खेलाडीसहित ६ टिम सहभागी उक्त प्रतियोगितामा धनगरचोक टाइगर्स तृतीय भइ ब्रोन्ज मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
विजेता टिमलाई धादिङ नुवाकोट समाज यूके अध्यक्ष धनबहादुर तामाङले मेडल र प्रमाणपत्र प्रदान गर्दै बधाइ दिएका थिए । युवालाई प्रोत्साहन र अग्रजलाई सम्मान गर्ने लक्ष्यसहित फुटबल प्रतियोगिता शुरु गरिएको अध्यक्ष तामाङले बताए ।
कार्यक्रम सञ्चालन महासचिव बुद्धिबहादुर तामाङले गरेका थिए । विभिन्न व्यक्तिलाई सम्मान समेत गरिएको कार्यक्रममा धन्यवाद ज्ञापन संस्थाका अध्यक्ष धनबहादुर तामाङले गरेका थिए ।
बिहान फुटबल भएकोमा साँझ कलेजको हलमा सांस्कृतिक कार्यक्रम भएको हो । कार्यक्रममा बेलायतको नेपाली समाजका लव्धप्रतिष्ठित व्यक्तिसहित धादिङ र नुवाकोटवासी झण्डै ४ सय जना सहभागी थिए ।