काठमाडौं, १३ साउन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले साउन २४ मा २९औं विश्व आदिवासी दिवस भव्यरुपमा मनाउने भएको छ ।
साताव्यापीरुपमा विविध कार्यक्रम गरी दिवस मनाउन महासंघले अध्यक्ष गेल्जे लामा शेर्पाको संयोजकत्वमा मूल समारोह समिति गठन गरे छ । त्यस्तै विभिन्न उपसमिति गठित छन् ।
जसअन्तर्गत नेफिनका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीको संयोजकत्वमा हल तथा मञ्च व्यवस्थापन उपसमिति, उपाध्यक्ष लाकुपा ढोक्प्या शेर्पाको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, उपमहासचिव रामकृष्ण ब्लोन तामाङको संयोजकत्वमा झाँकी ¥याली व्यवस्थापन उपसमिति र स्वयंसेवक उपसमिति, सचिव गोविन्द लामा ह्याल्मोको संयोजकत्वमा प्रचारप्रसार उपसमिति र कोषाध्यक्ष विमल सारु मगरको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
दिवसका सन्दर्भमा महासंघले पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौं । परम्परागत ज्ञान, सीपको प्रवद्र्धन गर्दै पुख्र्यौली भूमि, भाषा र संस्कृतीको संरक्षण गरौुं, भन्ने मूल नारा समेत तय गरेको नेफिन अध्यक्षले जनाए ।
यो दिवसलाई कोशी प्रदेश नामांकरणको सन्दर्भमा भइरहेको आन्दोलनलाई सहयोग पुग्नेगरी शक्ति प्रदर्शनका हिसाबले पनि यो दिवस भव्य बनाइने नेफिनका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले बताए ।
नेफिनले साउन २४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा मूल समारोह आयोजना गर्ने निर्णय गरेको छ । औपचारिक कार्यक्रमअघि सोही दिन भृकुटीमण्डपबाट नेफिनमा आवद्ध सबै जातीय संघसंस्थाहरू आआफ्नो जातीय भेषभूषा, संस्कार, संस्कृतीसहितको झाँकी ¥याली गरिने नेफिनका महासचिव दिवश राईले जानकारी दिए । समारोहस्थलमा जातीय भेषभूषा तथा फूड फेस्टिभल पनि आयोजना गरिने उनले बताए ।
नेफिनले आवद्ध जातीय संघसंस्थाहरूसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । उक्त छलफलले महासंघमा आवद्ध सबै संघसंस्थाहरूले विविध कार्यक्रमको आयोजना गर्ने निष्कर्ष समेत निकालेको छ ।
त्यस अवसरमा बोल्ने संघसंस्थाका प्रतिनिधिहरूले कोशी प्रदेशमा चलिरहेको आन्दोलनलाई पनि बल पुग्नेगरी दिवसका कार्यक्रमहरू सञ्चालन हुनुपर्नेमा जोड दिएका थिए । उनीहरूले बागमती प्रदेशमा पनि आन्दोलन उठाउने कोशिस भइरहेको बताएका थिए ।
कार्यक्रममा तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङ, नेपाल छन्त्याल संघका अध्यक्ष मोहन छन्त्याल, किरात राई यायोख्खाका अध्यक्ष जीवन हताचो राई, कुमाल समाज नेपालको महासचिव गणेश कुमाल, तमू ह्युल छोंज धि गुरुङ राष्ट्रिय परिषद्का उपाध्यक्ष धनमान गुरुङ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका महासचिव शोभा सुनुवारलगायतले आदिवासी जनजातिका प्रथाजनित मान्यतामाथि पटकपटक धावा बोल्ने काम भइरहेको भन्दै यस्ता इश्युहरू आउँदा आदिवासी जनजातिको सवालमा काम गर्ने संघसंस्थाहरूबीच समन्वय र एकता हुनुपर्ने बताए ।
विश्वका आदिवासीहरूले हरेक वर्षको ९ अगस्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रुपमा मनाउने गर्दछन् । संयुक्त राष्ट्र संघले उक्त दिनलार्ई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।