लन्डन । दक्षिण अफ्रिकाली नेता नेल्सन मन्डेलाप्रति समर्पित एक पुस्तिकामा पहिलोपटक एक नेपालीले हस्ताक्षर गरेका छन् । उक्त पुस्तकमा विश्वका झन्डै ७ सय प्रभावशाली व्यक्तित्व एवं सेलिब्रेटीहरुले हस्ताक्षर गरिसकेका छन् ।
मण्डेलाप्रति श्रद्धाञ्जली व्यक्त गर्न बेलायती संसदमा राखिएको हस्तलिखित ‘हाउस अफ कमन नेल्सन मन्डेला मेमोरियल बुक’ मा बेलायतस्थित सफल नेपाली व्यवसायी एवं समाजसेवी रवीन्द्रजंग लामिछानेले हस्ताक्षर गरेका हुन् ।
बेलायती अभियानकर्मी निक क्यारमको पहलमा स्थापित पुस्तिकामा अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामा, बेलायती पूर्व प्रधानमन्त्रीहरु टोनी ब्लेयर र डेभिड क्यामरनदेखि चर्चित फुटबलर डेभिड बेकह्याम, संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानसम्मले श्रद्धाञ्जली सन्देश लेखेका छन् ।
राजनीति, कला, संगीत, खेलकुद, व्यवसायलगायत विविध क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमै ख्यातिप्राप्त व्यक्तित्वहरुको सन्देश पुस्तिकामा समेटिएको छ ।
पुस्तिका संस्थापक क्यारमले प्रेस वक्तव्य जारी गर्दै बेलायतस्थित नेपाली व्यवसायी लामिछानेले उक्त पुस्तिकामा पहिलो नेपालीका रुपमा सन्देश लेखेको जानकारी दिएका छन् । ‘संसारका ७ सय शीर्षनेता तथा सेलिब्रेटीहरुले हस्ताक्षर गरेको पुस्तिकामा मन्डेलाप्रति श्रद्धाञ्जली व्यक्त गर्न आमन्त्रित हुँदा मलाई ठूलो सम्मान महसुस भएको छ,’ उनले भनेका छन् ।
यसैबीच, लामिछानेले ‘हाउस अफ कमन मेमोरियल बुक’ स्थापनाको २५ औं वर्षको अवसरमा फिन इन्टरनेशनल एन्ड फोबर्र्स बेस्ट अफ अफ्रिका अवार्ड प्राप्त गरेका छन् ।
मन्डेला दिवसको सन्दर्भ पारेर गतसाता लन्डन हिल्टन होटलमा आयोजित विशेष समारोहमा उनलाई लिडिङ फिलान्थ्रोपिस्ट अफ द इयर २०२३ अवार्डले सम्मान गरिएको हो । वेष्ट इन्डिजका पूर्व कप्तान समेत रहेका चर्चित पूर्व क्रिकेटर सर क्लाइभ ह्युबर्ट लोयडले उनलाई अवार्ड हस्तान्तरण गरे ।
व्यवसायसँगै सामाजिक कार्यमा पनि पुर्याएको विशिष्ट योगदानको कदरस्वरूप उनलाई सो अवार्ड प्रदान गरिएको हो । सो अवसरमा लामिछानेसंगै विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने ४० जनालाई सम्मान गरिएको थियो।