लन्डन । तमु समाज युकेको सामुदायिक भवनमा हरेक बुधबार ज्येष्ठ नागरिकका लागि कक्षा सञ्चालन गरिएको छ । समय सदुपयोकका लागि अंग्रेजी लेखपढ र मनोरन्जन गरी तमु सामाज युकेको ज्येष्ठ नागरिक आमा दिदीबहिनीहरुका लागि कक्षा सञ्चालन गरिएको अध्यक्ष शिवकुमार गुरुङले जानकारी दिए । उनले उत्तर पश्चिम लन्डनका ज्येष्ठ नागरिकहरुको हितका लागि आयोजना गरिएको कार्यक्रममा ब्रेन्ट काउन्सिल, हेरो काउन्सिल र ईलिङ काउन्सिलमा बसोबास गर्ने ज्येष्ठ नागरिकहरु उपस्थित हुने गरेको बताए । हाल शिक्षिकाको कार्यभार ज्येष्ठ नागरिक अमृता गुरुङ थापाले सम्हालेकी छन् । उनले अंग्रेजी भाषा सिकाउँछिन् ।
कार्यक्रम गत २९ मार्चबाट बिहन १० देखि दिनको १ बजेसम्म हुँदै आएको छ । पहिलो १ घण्टा ज्येष्ठ नागरिकहरु भेला हुने, चियापान गफगाफ गरिने गर्दछ । दोस्रो १ घण्टा लेखपढ गर्छन् । कुनै समय सिकाउने शिक्षिका उपस्थित हुन सकेन भने व्यायाम अथवा योगा गरिने गर्दछ । तेस्रो घण्टा स्वत:स्फूर्त खुसीको नाचगानसहित मनोरन्जन गरी कार्यक्रम समापन गर्छन् । कोरोना महामारी अघि पनि सञ्चालन गरिएको थियो ।
तमु समाज युकेको सामुदायिक भवनमा बुधबार नै १० देखि दिनको १ बजेसम्म हाम्रो ज्येष्ठ नागरिहरुको लागि जलपान कार्यक्रम हुने गरेको छ । उक्त कार्यक्रममा सबै नेपालीमुलका ज्येष्ठ नागरिकहरु आउन सकिने अध्यक्ष गुरुङले बताए । 'घरमै बसिरहनुभन्दा हप्ताको एक दिन भने पनि भेटवार्ता गर्ने ठाउँ मिलाइदिएका छौं । आफ्नो समय र तमु समाज युकेले उपलब्ध गरिदिएको ठाउँको सदुपयोग गरी रमाइलो गर्नुहोला र केही ज्ञान पनि आर्जन गर्नुहोला । यसमा तपाईंहरुले कुनै पैसा तिर्नु पर्दैन,' अध्यक्ष गुरुङको आग्रह छ । अध्यक्ष गुरुङका अनुसार तमु समाज युकेले नै चियाकफी, बिस्कुट र कपी कलमसमेत व्यवस्था गरिदिएको छ ।
'अंग्रेजी भाषा सिकाउँदा हाम्रो ज्येष्ठ नागरिक आमा, दिदीहरुले भोगेका यी ससाना समस्याहरुबाट छुटकारा दिलाउने छ । जस्तै बसमा यात्र गर्दा बस नं नचिनेर परेका समस्याहरु र अस्पतालमा जाँदा आफ्नो जन्ममिति र घरको ठेगाना भन्न नजानेर परेका समस्या र स्कुलमा आफ्नो नातिनातिनिहरुलाई लिन जाँदाका समस्यहरुलाई सहजीकरण गर्ने कार्य शिक्षिका अमृत गुरुङ थापाले गर्नुभएको छ,' अध्यक्ष गुरुङले बताए ।
चियापान कार्यक्रमका लागि बिस्कुटको प्रायोजन समाजका आजीवन सदस्यद्वय गंगाबहादुर गुरुङ (नोर्थहोल्ट) बाट र बुद्धिबहादुर गुरुङ (ओम्बल्ली बाट गरिरकेका छन् । अध्यक्ष शिवकुमार गुरुङले शिक्षिकाको भूमिका निभाउने र खाजापानको प्रायोजन गरिरहेकाहरुलाई धन्यवादसहित आभार व्यक्त गरेका छन् ।