लन्डन । लमजुङ समाज यूकेको गृष्मकालीन भेटघाट (समर बीबीक्यु) भव्यरूपले सम्पन्न भएको छ ।
गत शनिबार २२ जुलाई २०२३ मा अल्डरवुड लेजर सेन्टर अल्डरसटमा चर्चित लोकदोहोरी गायक राजु परियार र गायिका शिला आलेको प्रस्तुतिका साथ भेटघाट सम्पन्न भएको हो । कार्यक्रम समाजका अध्यक्ष दलबहादुर गुरूङको निर्देशनमा उपाध्यक्ष परशु गुरूङले संयोजन गरेका थिए ।
पहिलो चरणमा महिला भलिबल, ठेलो (छेलो) र फुटबल प्रतियोगिताको आयोजना गरिए तापनि प्रतिकूल मौसमको कारणले फुटबल खेलमात्र खेलाउन सफल भएको थियो । बाहिर पानी परे तापनि अल्डरसटस्थित डि-लाउन्जबाट तयार पारिएको बीबीक्यु र टिपनटापनको स्वाद लिएर सबैजना आआफ्नो साथीभाइ ईष्टमित्रहरूसँग गफगाफ गरेर रमाइरहेका थिए ।
दोस्रो चरणमा अध्यक्ष दलबहादुर गुरूङको सभापतित्वमा छोटोमिठो औपचारिक कार्यक्रम सचिव कुमार गुरूङले संचालन गरेका थिए । नेपालबाट पारिवारिक भ्रमणमा आएका सामाजिक तथा राजनीतिक अभियन्ता गर्जबहादुर गुरूङ प्रमुख अतिथि रहेको कार्यक्रमलाई समाजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक परशु गुरूङबाट उपस्थित सम्पूर्णलाई स्वागत गरिएको थियो । साथै कार्यक्रमको तयारीमा उनलाई साथ सहयोग गर्ने सबै स्वयंसेवक सहकर्मीहरूलाई पनि धन्यवाद दिएका थिए । त्यसरी नै खेलकुद पुरस्कार वितरण, नयाँ आजीवन सदस्यहरूलाई स्वागत, नेपालबाट आएका कलाकारहरूलाई मायाको चिनो प्रदान र समाजका विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।
अन्त्यमा आमा समूहकी अध्यक्ष श्रीमती माला घले, संस्थापक अध्यक्ष चन्द्रप्रसाद गुरूङ तथा प्रमुख अतिथिको छोटोमिठो मन्तव्यपछि औपचारिक कार्यक्रमलाई सभापति गुरुङबाट सबैलाई धन्यवाद दिँदै समापन गरेका थिए ।
कार्यक्रमको अन्तिम चरणको पर्खाईमा हल खचाखच भरिएको थियो । समयलाई कत्ति पनि ढिलो नगरी सांस्कृतिक कार्यक्रमलाई सांस्कृतिक सचिव ईन्द्रजित गुरूङबाट सुरूआत गरेका थिए । सांस्कृतिक कार्यक्रम संचालन समाजका सल्लाहकार यूनिल पूर्णचन्द्र गुरूङ तथा श्रीमती हेलिशा गुरूङले गरेका थिए ।
स्थानीय कलाकारहरूबाट स्वागत गीत र नृत्यहरू प्रस्तुतपछि नेपालबाट आएका लमजुङे छोरो, लोकदोहोरीका 'राजा' राजुपरियार र प्रसिद्ध लोकदोहोरी गायिका शिला आलेको बेजोड प्रस्तुतिहरूबाट सबैलाई मन्त्रमूग्ध बनाएका थिए । त्यसरी नै उपस्थित सबैबाट दुवै कलाकारहरूलाई सम्मान स्वरूप शिरफूलको वर्षा नै भएको थियो ।
अन्त्यमा सल्लाहकार क्याप्टेन देव घलेको संयोजनमा स्थानीय व्यवसायीहरूबाट प्रायोजित एकदमै आकर्षित पुरस्कारहरू राखिएको राफल ड्र को घोषणापश्चात् कार्यक्रमको समापन भएको थियो । यसरी नै आउने ११ नोभेम्बरमा हुन गइरहेको हिँउदे भेटघाट (विन्टर पार्टी) मा उपस्थित भई कार्यक्रम सफल बनाइदिन सम्पूर्णमा लमजुङ समाज छैठौं कार्यसमितिले अनुरोधसमेत गरेको छ ।