लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले एक वर्षदेखि बीसीसी गुम्बामा रहँदै आएका टुल्कु जिग्मे सामतेनको बिदाइ गरेको छ ।
शुक्रबार अल्डरसटस्थित बीसीसी गुम्बामा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख उर्मिला गुरुङलगायत बीसीसी यूकेका पदाधिकारी एवं सदस्य, आमाहरु र भक्तजनले खदा लगाई उनको बिदाइ गरे ।
कार्यक्रममा टुल्कु सामतेनले बीसीसी यूकेले बौद्ध धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा सम्वद्र्धनमा खेल्दै आएको भूमिकाको प्रशंसा गरे । उनले आफूलाई बेलायतका भक्तजनहरुको सेवा गर्न अवसर दिएकोमा आभार व्यक्त गरे ।
बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङले टुल्कु गुरुले बीसीसी यूकेलाई दिएको महत्वपूर्ण समय, भक्तजनलाई दिएको शिक्षा, पूजापाठ तथा प्रवचनका लागि हृदयवाटनै धन्यवाद दिए ।
काठमाडौं बौद्धस्थित सेचेन गुम्बामा कार्यरत टुल्कु रिन्पोछे यसअघि कोभिड–१९ महामारीमा समेत ६ महिना बीसीसी गुम्बामा सेवा गरी नेपाल फर्केका थिए । पुनः दोस्रोपटक गत अगष्त २०२२ मा बेलायत आई करिब ११ महिनाको बसाई पश्चात गत आइतबार नेपाल फर्केका छन् ।
लामा लुङ्रिग रिन्पोछे र खेन्पो फुतेम्बाको समेत विशेष उपस्थिति रहेको उक्त औपचारिक बिदाइ कार्यक्रममा बिसीसी युकेका पूर्व अध्यक्ष ले. नारायणप्रसाद गुरुङ बिइएम, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, आमा अध्यक्ष उर्मिला गुरुङ, आमा सचिव शारदा गुरुङ, बीसीसी यूके लण्डन शाखा अध्यक्ष गोपाल तामाङ्गलगायत बीसीसी यूकेका कार्यसमितिका पदाधिकारी एवं सदस्य, आमा समूहका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै, टुल्कु गुरुलाई बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङलगायत बीसीसी यूकेका पदाधिकारी, शुभचिन्तक, भक्तजन, गुरुका आफन्जनहरुले गत आइतबार हिथ्रो एयरपोर्टमा पुगी बिदाइ गरेका थिए ।
बीसीसी यूके अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षतामा भएको समारोहलाई महासचिव मेजर हितमान गुरुङले संचालन गरेका थिए ।