लन्डन । सोपाल समाज यूके र माइला-कान्छा अभियान युकेले रोयल बोरो अफ ग्रीनवीचका नवनिर्वाचित उपमेयर जीत रानाभाट र अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष तथा समाजसेवी राजन खकुराललाई बधाई तथा सम्मान गरेका छन् ।
यही शनिबार २२ जुलाई २०२३ मा माइला-कान्छा अभियानकी माइला अर्थात् पार्वती गुरुङको निजी निवास लन्डनमा एक समारोहबीच दुवै संस्थाका पदाधिकारी तथा सदस्यहरुले उपमेयर रानाभाट र समाजसेवी खकुराललाई सम्मान गरेका हुन् । दुवै संस्थाका पदाधिकारीहरुले दुवै जनालाई अहिलेको उन्नतिमा खुसी साटासाट गर्दै आगामी दिनमा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।
'रोयल बोरो अफ ग्रीनवीचग्रीन काउन्सिलमा युवा समाजसेवी जीत रानाभाट उपमेयर हुनुभएको खुसीयालीमा र क्षमतावान युवा समाजसेवी राजन खकुराल । अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष भएको खुसीयालीमा उहाँहरुलाई बधाई दिन र आउँदो दिनमा उत्तरोत्तर प्रगतिको कामनाका लागि सोपाल समाज यूकेलाई बोलाएर संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हौं,' पार्वती गुरुङले गोर्खा मिडियासँग भनिन् । सोपाल समाज यूकेका विभिन्न पदाधिकारी सदस्यहरुको उपस्थिति थियो ।
एक वर्षअघि सोही बरोमा नेपाली समुदायबाट पहिलो काउन्सिलर निर्वाचित रानाभाटले आगामी एक वर्षलाई गत महिना उपमेयर निर्वाचित भएका हुन् । गत वर्ष लन्डनको रोयल बरोमा नेपाली मूलबाट पहिलोपटक काउन्सिलर निर्वाचित हुन सफल रानाभाटले अहिले फेरि पहिलो उपमेयरको रुपमा जिम्मेवारी ग्रहण गरेकोमा स्थानीय नेपाली समुदायले गौरव र उत्साह महसुस गरेको छ । यसअघि रोयल बरो अफ ग्रीनवीचमा लेबर पार्टीका काउन्सिलरहरुबीच भएको प्रतिस्पर्धामा अन्यलाई पछि पार्दै रानाभाट उपमेयर निर्वाचित बनेका हुन् ।
रोयल ग्रीनवीच नेप्लिज सोसाइटी (आरजीएनएस) का अध्यक्षसमेत रहेका उनले यसअघि नेप्लिज प्रोफेसनल्स यूके, यती नेपाली एसोसिएसन, क्षेत्री समाज युके, पशुपतिनाथ मन्दिरलगायतका थुप्रै संघ संस्थामा नेतृत्व तहमा रहेर काम गरिसकेका छन् । त्यस्तै, एनआरएन यूकेको २०१७–१९ कार्यसमितिमा सदस्य तथा २०१९–२१ मा सचिवको जिम्मेवारी सम्हालेका उनले एनआरएनए यूकेको व्यापार प्रवर्द्धन विभागको संयोजकको भूमिका समेत निर्वाह गरेका थिए । नेपालमा कास्की घर भएका रानाभाट सन् २००८ मा बेलायत आएका थिए । श्रीमती र दुई छोरीको साथमा उनी साउथ इस्ट लण्डनमा बस्दै आएका छन् ।