लन्डन । लेफ्टिनेन्ट रिटायर्ड चन्द्रबहादुर गुरुङलाई बेलायतस्थित नेपाली समुदायले समर्थन जनाएका छन् । एनआरएनए यूकेको यही शनिबार हुने चुनावमा उनी आइसीसी सदस्य पदका उम्मेदवार हुन् ।
भर्चुअल जुममार्फत आयोजित ‘मिट एन्ड ग्रिट’ कार्यक्रममा उनको उम्मेदवारीमा समुदायका विभिन्न क्षेत्र र तप्काबाट समर्थन व्यक्त भएको हो । गैरआवासीय नेपालीहरुको अन्तर्राष्ट्रिय सञ्जालमा गोर्खाहरुको प्रभावकारी प्रतिनिधित्व सुनिश्चित गर्ने प्रमुख एजेन्डासहित अघि बढेका गुरुङप्रति भूतपूर्व गोर्खाका प्रमुख संघसंस्थाले ऐक्यबद्धता जनाएका छन् । बिजीडब्लुएस अध्यक्ष मेजर टिकेन्द्र दल देवान, गेसोका कावा सभापति धर्म तामाङ, गोर्खा पेन्सन इन्जस्टिस अभियान संयोजक मेजर उदयबहादुर गुरुङ एमबिईलगायतले उनलाई गोर्खाहरुका साझा उम्मेदवारका रुपमा समर्थन व्यक्त गरेका हुन् ।
एनआरएनए आइसीसीको २०१९–२१ कार्यकालमा गोर्खा टास्कफोर्स संयोजकरुपमा उनले निर्वाह गरेको रचनात्मक भूमिकाको प्रशंसा गरे । सो अवसरमा एनआरएनए यूके वृत्तका अग्रज एवं प्रभावशाली अभियन्ताले पनि उनलाई सही उम्मेदवार भने ।
अध्यक्ष पदका उम्मेदवारहरु डा. नारायण कँडेल, दिनेश घिमिरे र हितकाजी गुरुङ तथा पूर्व अध्यक्ष पुनम गुरुङसहित कयौं अभियन्ता उनलाई शुभकामना दिन कार्यक्रममा सहभागी भएका थिए । साथै, बेलायतका दर्जनौं सामाजिक संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुले पनि गुरुङलाई साथ, समर्थन जनाउंदै सफलताको शुभकामना दिए ।
कार्यक्रममा उम्मेदवार गुरुङले प्राप्त सद्भाव र शुभेच्छाका लागि आभार प्रकट गर्दै सामाजिक कार्यलाई विशुद्ध स्वयंसेवाका रुपमा लिएको स्पष्ट पारे । उनले आफूमाथिको सबैको अपेक्षालाई न्याय दिने गरी इमान्दारीपूर्वक काम गर्ने प्रतिवद्धता गरे ।
कार्यक्रम संचालन कृष्ण गुरुङले गरे थिए । कार्यक्रममा मिडल्याण्ड, स्कटल्यान्ड, वेल्सलगायत क्षेत्रबाट समेत एनआरएनए अभियन्ता र समुदायका प्रतिनिधि भेला भएका थिए ।
गुरुङले एनआरएनए यूकेमा सन् २०११ देखि प्रायः सबै कार्यसमितिमा सल्लाहकारको भूमिका निर्वाह गरेका छन् । परोपकारी कार्यहरुमा पनि लामो समयदेखि क्रियाशिल छन् ।
कुमार पन्त अध्यक्ष रहेको आइसीसीको २०१९–२१ कार्यकालमा गोर्खा टास्कफोर्स संयोजकका रुपमा उनले गोर्खाहरुको बंशजको नागरिकताको पक्षमा उच्चस्तरीय राजनीतिक तहमा लबिङ गरेका थिए । चारभञ्ज्याङ तमु समाज यूकेलाई अध्यक्षका रुपमा २ कार्यकाल नेतृत्व दिएका उनी समाजको अन्तर्राष्ट्रिय समन्वय परिषदका संस्थापक पनि हुन् । एनआरएनएसंगकै सहकार्यमा गुरुङले नेपालको कास्की, पर्वत, धादिङ, नुवाकोट लगायत जिल्लाको सिमानामा पर्ने तीन विकट क्षेत्रमा टेलिमेडिसिन सेवा स्थापना गर्ने अभियानको अगुवाइ गरेका छन् ।