लन्डन । नेपालका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले संयुक्त अधिराज्यका स्वास्थ्य राज्यमन्त्री वील क्वीन्ससँग भेटवार्ता गरेका छन् ।
संयुक्त अधिराज्यको स्वास्थ्य मन्त्रालयमा भएको भेटमा मन्त्री बस्नेतले बेलायत सरकारले नेपालको आर्थिक सामाजिक विकास विशेषगरी स्वास्थ्य क्षेत्रमा पु¥याएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा यसमा थप अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।
दुई देशबीच हालै सम्पन्न बेलायतमा नेपाली नर्सहरु नियुक्तिसम्बन्धी सम्झौताप्रति खुशी व्यक्त गर्दै नेपाली स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धिका लागि सहयोग गर्न अनुरोध समेत गरे ।
बेलायती स्वास्थ्य मन्त्रीले नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतको सहयोग भइरहने, नेपालको नर्सिङ क्षेत्रको क्षमता अभिवृद्धिमा थप सहयोगका लागि कार्य भइरहेको र नेपाली नर्सहरुको बेलायत आगमनबाट दुई देशका लागि फाइदा पुग्ने व्यक्त गरे । भेटका अवसरमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसमेत उपस्थित थिए ।
यसैबीच, मन्त्री बस्नेतले १६ जुलाईमा वीन्चेस्टरमा रहेको रोयल ह्याम्सायर काउन्टी हस्पिटलको तालिम केन्द्र, इमर्जेन्सी विभाग तथा वार्डहरूको भ्रमण गरी त्यहाँ नेपालबाट ल्याइने नर्सहरुको तालिम तथा स्थानान्तरण प्रक्रियाको बारेमा जानकारी लिए ।
साथै उनले नेपाली राजदूतावासद्वारा भानु जयन्ती समारोहमा सहभागी भई बेलायतमा रहेका नेपाली साहित्यकार तथा साहित्यप्रेमीहरुको भेलालाई सम्बोधन गरे ।
भ्रमणका अवसरमा उनले नेपाली डक्टर्स एसोशियसन, नेपाली नर्सिङ्ग एशोसियसनका पदाधिकारीहरु एवं बेलायतमा रहेका अन्य नेपाली समुदायसँग भेट गरेका थिए । उनी १४ जुलाईमा बेलायतको अनौपचारिक भ्रमणमा आएका थिए।