लन्डन । गुरुङ फिल्म एशोसिएसन हङकङ (जिफाह) को सातौं वार्षिकोत्सव सम्पन्न भएको छ । हङकङको सबैभन्दा अग्लो स्थान ताई मो शान डाँडामा आइतबार वनभोजबीच विविध कार्यक्रमका साथ वार्षिकोत्सव मनाइएको हो ।
प्रमुख अतिथि जिफाहका संस्थापक अध्यक्ष रोशन गुरुङले जिफाहले हङकङमा रहेको सबै गुरुङ जातीय संघसंस्थाहरुसँग नङमासुको सम्बन्ध राखेर अघि बढ्नु पर्ने सुझाव दिए । साथै गुरुङ चलचित्रकर्मीहरुले गुरुङ जातिहरुको मौलिक भाषा, भेषभुषा, संस्कार र संस्कृतिलाई श्रब्यदृश्य मार्फत जगेर्ना गर्दै आइरहेको हुँदा विश्वभरि छरियर रहेका समस्त गुरुङ चलचित्रकर्मी र गुरुङ जातिहरुलाई आफ्नो मौलिक चलचित्र निर्माण गर्न अग्रसर हुँदै अघि बढ्न आहवान गरे । उनले अब निर्माण हुने गुरुङ चलचित्रहरु संख्यात्मकभन्दा पनि गुरास्तरीय चलचित्र निर्माण होस् भन्दै नेपाली चलचित्र उद्योगले पनि हाम्रो समुदायको कथाहरु खोज्न आउने वातावरण हामी गुरुङ चलचित्रकर्मीले गर्नु पर्ने बताए ।
जिफाहका प्रमुख सल्लाहकार एवं चलचित्र निर्माता दिलिप गुरुङले अहिले गुरुङ फिल्ममा र हङकङमा नयाँ पिढीहरुको आगमन भएको बताए । उनले हाम्रो मूल्य मान्यता र रितिरिवाजहरुलाई राम्रो चलचित्रहरु मार्फत निर्माण गरि अघि बढोस् भनी शुभकामना दिए ।
तमु ट्हो हयुल हङकङका सचिव पदम गुरुङले हङकङमा गुरुङ जातिहरुको संस्कार र संकृतिको संरक्षण र सम्बर्धनका लागि स्थापित भएका सबै संघसंस्थाले र जिफाहको उद्देश्य साझा रहेको बताए ।
तमु प्ये ल्हु संघ हङकङका उपाध्यक्ष हर्कजंग गुरुङले कुनै पनि क्षेत्र र संघ संस्थाहरुमा पछिल्लो समय महिला नेतृत्व कम देखिने शिलशिलामा जिफाहले उदाहरणीय महिला नेतृत्व पाएको अवसरमा बधाई ज्ञापन गरे ।
हङकङ नेपाली महासंघका अध्यक्ष एवं जिफाहका सल्लाहकार तथा चलचित्र निर्माता रीता गुरुङले जिफाहको उन्नति, प्रगति र हितको निम्ति लागि पर्ने प्रतिबद्धता जनाइन् ।
तमु समाज हङकङका अध्यक्ष नरेन्द्र गुरुङले गुरुङ समाज भित्र रहेका सामाजिक विकृति र कुरुति चिर्दै आफ्नो मौलिक कथाहरु माथि गुरुङ चलचित्र निर्माण हुनेछ भन्ने आशा राखे । उनले जिफाहको दोश्रो अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई ६ अगस्तमा तमु समाज हङकङबाट बधाई तथा सम्मान कार्यक्रम आयोजना गरिएको जनाए ।
सो अवसरमा पुरानो कार्यसमितिलाई नयाँ कार्यसमितिले बुझबुझारथ कार्यक्रम गरी खादा लगाई बिदाई गरे । नयाँ कार्यसमितिले पहिलो बैठकबाट मनोनित १३ जना सल्लाहकारलाई सम्मानपत्र र फेटा लगाई सम्मान गरियो ।
संस्थाकी अध्यक्ष माया गुरुङले सहयोगी सबैमा आभार व्यक्त गरिन् । प्रथम उपाध्यक्ष भीम गुरुङले स्वागत र महासचिव विश्वास गुरुङले संचालन गरेका थिए ।
कार्यक्रममा हङकङका ९५ प्रतिशत गुरुङ चलचित्रकर्मीहरुको उपस्थिति थियो । सो अवसरमा केक काटी शुभकामना आदानप्रदान, नाचगान र गुरुङहरुको मौलिक गीत कौडा र चुड्का गाइएको महासचिव विश्वास गुरुङले बताए ।
लोपोन्मुख गुरुङ जातिहरुको मौलिक भाषा, भेषभुषा, संस्कार र संस्कृतिलाई श्रब्यदृश्य मार्फत संरक्षण र सम्बद्र्वन गर्दै विश्वबजारमा प्रबद्र्धन गर्ने गुरुङ चलचित्रकर्मीहरुको मुल उद्देश्य रही आएको छ ।