लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको १२ औं वार्षिकोत्सव तथा च्यारिटी नाइट सम्पन्न भएको छ । नेपाली पत्रकारको सीप तथा क्षमता अभिवृद्धिमा सहयोग गर्न कोष जुटाउने उद्देश्यले च्यारिटी नाइट भएको हो ।
आइतबार शाखा अध्यक्ष धुव्रराज अर्यालको अध्यक्षतामा अल्डरसटको एम्पायर ब्यांक्वेटिङमा आयोजित समारोहमा बेलायतस्थित संघसंस्था तथा समुदायका प्रतिनिधि एवं सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो । कार्यक्रममा संकलित कोष संकलनको पूर्ण विवरण छिट्टै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले सचेतक र मार्गदर्शकरुपमा समाजमा पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेको बताए । उनले प्रवासबाट प्रकाशित नेपाली सञ्चारमाध्यमले नेपाली–नेपालीबीच सम्पर्क माध्यमको रुपमा, नेपाली डायस्पोराको गतिविधिबारे सूचना दिन र स्थानीय समुदायलाई नेपाली समुदायको बारेमा जानकारी दिएर महत्वपूर्ण सेवा दिइरहेको भन्दै प्रशंसा गरे। उनले पत्रकारहरुलाई समाचारमा निस्पक्षता र विश्वसनीयता बढाउन आग्रह गर्दै संस्थागत विकासका लागि काम गर्न पनि सुझाव दिए ।
पत्रकार महासंघ केन्द्रीय महासचिव रोसन पुरीले पत्रकार महासंघले आफ्नो स्थापनाकालदेखि नै नेपालमा प्रेस स्वतन्त्रताको साथसाथै नागरिक हक बहाल गर्न अभियान चलाउँदै आएको स्मरण गरे । उनले महासंघका १० वटा वैदेशिक शाखाहरु हाल क्रियाशील रहेको र देश तथा विदेशमा गरी झन्डै १३ हजार सदस्यहरु रहेको बताए । उनले महासंघका विदेशस्थित शाखाहरुले विदेशमा बसोबास गरिरहेका नेपाली समुदायलाई नेपालसँग जोड्ने काम गरिरहेको बताउँदै त्यसको लागि धन्यवाद पनि दिए । उनले एनआरएनएको नेतृत्वमा देखिएको विवादले केही मुलुकहरुमा पत्रकारहरुलाई पनि विभाजित गरेको भन्दै एनआरएन नेताहरुलाई प्रवासी नेपाली समुदायलाई एकजुट गर्न मिलेर जान सुझाव दिए ।
शाखा अध्यक्ष ध्रुवराज अर्यालले पत्रकारहरुको सीप तथा क्षमता अभिवृद्धि गर्दै गुणस्तरीय पत्रकारिताको प्रवर्धन च्यारिटी कार्यक्रमको लक्ष्य रहेको बताए ।
शाखा स्थापनाकालदेखि नै यहाँको नेपाली समुदायको एक अभिन्न अंगका रुपमा रहँदै आएको स्मरण गराउँदै अध्यक्ष अर्यालले समुदायका तर्फबाट प्राप्त निरन्तर साथ, सहयोग र ऐक्यबद्धताका लागि आभार प्रकट गरे ।
शाखाका सचिव खेमराज रानाभाट र पत्रकार श्रीभक्त खनालद्वारा लिखित पुस्तक ‘तीन फरक विषय’ फोकल्यान्ड युद्धका सिपाही, पहिलो विश्वयुद्धका चिठ्ठी र उनै जंगबहादुर’को पनि विमोचन गरिएको थियो ।
कार्यक्रममा लोकप्रिय गायक धीरज राई, दोहोरीगायक श्याम राना, नानु गुरुङ, सितु खरेल, सपनकुमार राई, आयुदीप गौतम लगायतले सांगीतिक प्रस्तुति गरेका थिए । त्यस्तै, मिसेस यूके नेपाल विमला बुढाथोकीले आकर्षक नृत्य देखाइन्।
कार्यक्रम सञ्चालन कार्यक्रम संयोजक एवं शाखा महासचिव नरेन्द्र बस्नेत र उपाध्यक्ष प्रमिला लावुङ राईले गरेका थिए । सो अवसरमा लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, लन्डन ग्रीनवीच बरोका उपमेयर जीत रानाभाटसहित विभिन्न बरोका काउन्सिलरहरु, बेलायतका प्रमुख नेपाली संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरु, अग्रज पत्रकार एवं सञ्चारकर्मीको उल्लेख्य उपस्थिति थियो ।