लन्डन । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले नेपालमा शुरु गरिएको विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजनालाई सघाउन बेलायतवासी नेपालीहरुलाई आग्रह गरेका छन् ।
मंगलबार ब्रिटिश संसदस्थित सभामुख भवनमा आयोजित समारोहलाई सम्बोधन गर्दै डा. कोइरालाले नेपालमा गएको केही दशकयता स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार आएको तर अहिले पनि बाल स्वास्थ्य सेवा राजधानीमा मात्रै सीमित रहेको बताए ।
काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) नेपालले सातै प्रदेशमा निर्माण गर्ने लक्ष लिएको विशिष्टीकृत बाल अस्पताल परियोजनाका लागि सहयोग जुटाउन सोमबार बेलायत आइपुगेका उनले दमकमा बाल अस्पताल निर्माण गरी सेवा शुरु भैसकेको र काठमाडौँको हेपाली हाइटमा सबै नेपालीको पहुँच हुन सक्ने एउटा सुविधासम्पन्न बाल अस्पताल निर्माण गर्ने काम अगाडि बढीरहेको बताए ।
नेपालमा एक करोड बढी बालबालिकाका लागि एउटा मात्रै बाल अस्पताल छ, त्यसैले देशभरि नै गुणस्तरीय बाल स्वास्थ्य सेवा पु¥याउन हामीले यो अभियान शुरु गरेका हौं, उनले भने, यो अभियानमा जोडिन सम्पूर्णमा अनुरोध गर्दछु ।
ब्रिटिश संसदको तल्लो सदन, हाउस अफ कमन्सका सभामुख सर लिन्ड्से होयलले नेपालप्रति आफ्नो गहिरो प्रेम रहेको बताए। होयलले आफु मधुमेहको बिरामी रहेको र झन्डै तीन वर्ष पहिले एकजना नेपाली चिकित्सक (प्रा राजभण्डारी) ले आफ्नो ज्यान बचाएको स्मरण पनि गरे। उनले नेपालमा सुविधासम्पन्न बाल अस्पतालहरु बनाउने परियोजनालाई सघाउन अपिल पनि गरे।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली बालबालिकालाई गुणस्तरीय स्वास्थ्य सेवा पुराउन डा कोइरालाले शुरु अभियानको प्रशंसा गरे । उनले नेपाल सरकार, निजी क्षेत्र तथा समुदायको सामूहिक सहयोग परिचालन गरेर अस्पताल संचालन गर्ने यो अभियानलाई सबैले सहयोग गर्नु पर्ने बताए ।
हेल्थ एक्सचेन्ज नेपालका संस्थापक प्रा. सत्येन राजभण्डारीले आफ्नो संस्थाले नेपालमा महाभूकम्प र कोभिड १९ को बेला पनि सहयोग परिचालन गरेको स्मरण गर्दै डा कोइराला र साथीहरुले शुरु गरेको बाल अस्पताल निर्माण अभियानलाई सक्दो सहयोग गर्न सबैलाई अनुरोध गरे ।
कियोच युके सहयोग समितिका संयोजक ओजेश सिंहले नेपालको बाल अस्पताल परियोजनाहरुलाई सघाउन ८ जुलाई शनिबार बेलायतको अल्डरशटमा एक च्यारिटी डिनरको आयोजना गरिएको बताए ।
कार्यक्रममा ब्रिटेन–नेपाल सर्वदलीय संसदीय समूहका अध्यक्ष तथा सांसद विरेन्द्र शर्मा, बेलायतमा कार्यरत नेपाली चिकित्सकहरु, व्यवसायी, उद्यमी तथा ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शका पदाधिकारीहरुको उल्लेख्य उपस्थिति थियो ।