पोखरा । समाजसेवी खुमानन्द गुरुङले ८६ औं जन्मदिन ज्येष्ठ नागरिकहरुसँगै मनाएका छन् । तनहुँबाट पोखरा आई बसोबास गरेका समाजसेवी गुरुङले रामबजार ज्येष्ठ नागरिक मिलन केन्द्रमा आफू जस्तै जेष्ठ नागरिकहरुबीच जन्मदिन मनाएका हुन् ।
कार्यक्रममा दीप प्रज्वलन, केक काट्ने, बधाई तथा शुभकामना व्यक्त गर्नुका साथै आशीर्वाद प्रदान, सांस्कृतिक प्रस्तुति, चियापान, भोजन कार्यक्रम भयो ।
तनहुँ तमु समाजको सदस्य समेत रहेका गुरुङको जन्मदिनमा तनहु तमु समाजका कलाकारहरुले चुड्कासहित विभिन्न साँस्कृतिक प्रस्तुतिबाट मनोरञ्जन दिलाएका थिए ।

रामबजार ज्येष्ठ नागरिक मिलन केन्द्रको सदस्य भएकाले केन्द्रका आफ्ना दौतरी, साथीभाइकै बीचमा जन्मदिन मनाउन पाउँदा खुसी लागेको खुमानन्दले बताए ।
कार्यक्रममा रामबजार ज्येष्ठ नागरिक मिलन केन्द्रका परिकल्पनाकार, सामाजिक अभियन्ता महेश गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, तनहुँ तमु समाजका अध्यक्ष सोमबहादुर गुरुङ लगायतले बोलेका थिए ।
उक्त केन्द्रका सबैभन्दा ज्येष्ठ १०२ वर्षे गौप्रसाद गुरुङ, केन्द्रका अध्यक्ष क्या. थमनसिंह थापा, परिकल्पनाकार, सामाजिक अभियन्ता महेश गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, तनहुँ तमु समाजका अध्यक्ष सोमबहादुर गुरुङ, आमा समिति अध्यक्ष श्रीमाया गुरुङलगायत सहभागीहरुले जन्मदिन मनाएका खुमानन्द गुरुङको दम्पतिलाई बधाई शुभकामना दिए ।
केन्द्रका अध्यक्ष क्या. थमन थापाको अध्यक्षता र उपाध्यक्ष माया गुरुङ भुजेलको सञ्चालनमा भएको कार्यक्रममा खुमानन्द गुरुङको परिवारजन, तनहुँ तमु समाजको सदस्यहरु लगायत रामबजार जेष्ठ नागरिक मिलन केन्द्रको सदस्यहरुको उल्लेख्य सहभागिता थियो ।
