काठमाडौं । ‘मेरो गाउँ मेरो ठाउँ भिडियो च्यालेञ्ज २०२३’ मा विजेता दस भिडियो हङकङमा प्रदर्शन हुने भएको छ । प्रतियोगितामा विजेता भिडियोहरु पहिलोपटक मुलुक बाहिर प्रदर्शन गर्न लागिएको हो । ‘नेपाल टुरिज्म फिल्म फेस्टिभल’ नाम दिइएको यो कार्यक्रम हङकङपछि संसारका विभिन्न मुलुकहरु आयोजना गरिने आयोजक वि विल राइज फाउण्डेसनले जनाएको छ ।
हङकङमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष तुलसीकुमार गुरुङले प्रचुर पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका पर्यटकीय थलोहरु प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताबाट आएका वृत्तचित्रलाई विश्वमाझ पु¥याउने यो अर्को प्रयास भएको बताए ।
यस फेस्टिवलले नेपालको कुना कन्दरामा रहेका पर्यटकीय महत्वका नविन थलोहरु एवं कला संस्कृतिलाई विश्वभर उजागार गर्न सघाउने उनको भनाइ थियो ।
आगामी संस्करणदेखि मेरो गाउँ, मेरो ठाउँ इन्टरनेसनल विधा थपिने योजना समेत सुनाए । विजेता भिडियोहरु असार ३१ मा साँझ हङकङस्थित हेनरी जि लियोङ हल, याउ मा तेईमा प्रदर्शन हुनेछ । यसमा सबैले हातेमालो गर्न समेत अध्यक्ष गुरुङको अनुरोध थियो । फाउण्डेसनका निर्देशक निर्मल श्रेष्ठले नेपाली वृत्तचित्र निर्मातालाई अन्तर्राष्ट्रिय बजारमा पहिचान दिलाउन र थप सम्भावनाको ढोका खोल्न समेत यसले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।
मेरो गाउँ, मेरो ठाउँ भिडियो च्यालेन्ज २०२३ मा वेस्ट भिडियो अफ द इयरको उपाधि टिम डुलुवाको दि नर्थन वालले जितेको थियो ।
१० विधामा प्राप्त २ सय ५८ भिडियो मध्येबाट ७० भिडियो मनोनयन गरिएको थियो ।
फेस्टिभलमा हङकङ नेपाली महासंघ, एनआरएनए हङकङ, मितेरी सेवा समिति पोखरा हङकङ, नेपाली क्लब हङकङ, ओम नमो बुद्ध आमा समूह, कोन्मै घोथाने गुरुङ समाज, नादा समाज हङकङ, राइज मिडिया नेटवर्क र नेपाल पर्यटन बोर्डको सहकार्य छ ।
तस्बिर : जगतअम्बु गुरुङ