लन्डन । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेको आयोजनामा पाँचौं मोना भलिबल प्रतियोगिता–२०२३ भएको छ । रुसमूर सेन्ट्स एफसी अल्डरसटमा शनिबार भएको प्रतियोगिता पुरुष, महिला, भेटेरान्स इभेन्टमा भएको हो ।
फाइनलमा केन्ट भलिबल क्लब युकेलाई हराउँदै अल्डरसट भलिबल क्लब युकेले पुरुषतर्फको उपाधि जितेको छ ।उसले यसअघि पनि उपाधि जितेको थियो । महिलातर्फ सालिजा गाविसले उपाधि जित्यो । फाइनलमा मोना भलिबल क्लब युकेको चुनौती पन्छाउँदै सालिजा प्रथम भएको हो ।
यसैगरी, भेटेरान्सतर्फ छन्त्याल एसोसिएसन युके विजयी भयो । फाइनलमा मोनालाई उसले हराएको हो ।
पुरुषतर्फ बेस्ट प्लेयर अल्डरसटका भलिबल क्लबका विशाल थापा घोषित भए । महिलातर्फ सालिजाकी चनु पुन र भेटेरान्सतर्फ छन्त्याल एसोसिएसन युकेका चौमान बराल उत्कृष्ट खेलाडी बने ।
सो अवसरमा भएको ठेलो प्रतियोगितामा अल्डरसटका बसन्त आले विजयी भए ।
प्रतियोगिता अवसरमा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत भएको थियो । पुरुषतर्फ विजेताले १७ सय र उपविजेताले ११ सय, महिलातर्फ विजेताले ११ सय र उपविजेताले ६ सय पाउण्ड पुरस्कार प्राप्त गरे । यस्तै, भेटेरान्सतर्फ विजेताले १ हजार र उपविजेताले ६ सय प्राप्त गरे । ठेलो प्रतियोगितामा विजेतालाई १ सय ५० पुरस्कार दिइयो ।
भलिबलमा पुरुषतर्फ १४, महिला र भेटेरान्समा ८/८ टिमले भाग लिएका थिए ।
प्रमुख अतिथि एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगर र काउन्सिलर नेम थापाले पुरस्कार हस्तान्तरण गरे आयोजक संस्थाका कार्यवाहक अध्यक्ष एवं कार्यक्रम संयोजक लालु पुनले सहभागी सबैलाई धन्यवाद दिए ।
प्रतियोगितामा पुरुषतर्फ संस्थाका पूर्व उपाध्यक्ष होम रोका, महिलातर्फ उपाध्यक्ष पदम र भेटेरान्समा वरिष्ठ उपाध्यक्ष लालु पुनले शिल्ड प्रायोजन गरेका थिए । महिलातर्फ प्रथम पुरस्कार योगेन/रीताले १ हजार १ सय पाउण्ड, वाटर मेलोन मोर्टेज किरण गुरुङले दोस्रो पुरस्कार प्रायोजन गरे । भेटेरान्सतर्फ वल्र्ड रेमिटले प्रथम पुरस्कार र दिलरास गुरुङ र कमल गुरुङले प्रायोजन गरेका हुन् । ठेलोमा कुसुमुसु सुसी वार फ्लीट अजय थापाले स्पोन्सर गरे ।
पाँचौं मोना भलिबल प्रतियोगिताका लागि नेपालबाट म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष एवं भलिबल प्रशिक्षक तेजेन्द्र बानियाँ र नेपाली राष्ट्रिय महिला भलिबल कप्तान अरुणा शाही पनि पुगेका थिए ।
मोना युके गण्डकी प्रदेशअन्तर्गत म्याग्दी जिल्लाबाट बेलायतमा बसोबास गर्नेहरुको साझा संस्था हो । मोना अष्टेलिया, युएई, जापानले पनि यस्तै प्रकारको भलिबल खेलाउँछ ।