फार्नबोरो । ब्रिटिस गोरखा वेलफेयर सोसाईटी (बिजिडब्लुएस) को वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
फार्नबोरोस्थित ग्रेन्ज कम्युनिटी जुनियर स्कुलको प्रागणमा गत शनिबार १ जुलाईका दिन बिजिडब्लुएसको वार्षिक भेला सम्पन्न भएको हो । महासचिव क्षत्र राई संयोजक रहेको कार्यक्रम निकै उल्लासपूर्ण भएको थियो । सन् २००३ मा स्थापित बिजिडब्लुएसले वार्षिक भेटघाट कार्यक्रम गर्दै आइरहेको छ ।
संस्थाका अध्यक्ष मे. रि. टिकेन्द्र दल देवान जेपीले ब्रिटिस गोर्खाहरुबारे नेपाल र ब्रिटिस सरकारबीच भैरहेको छलफलबारे जानकारी गराएका थिए । 'नेपाल सरकारले बलियो अडान लिनुपर्दछ । भूपू ब्रिटिस गोर्खाहरु बुँदागत छलफलका लागि योग्य व्यक्तिलाई सधै मिटिङमा सम्मिलित गर्नुपर्दछ । विषयगत प्रस्तुतिमा कमजोरी देखाउनु हुँदैन । गोर्खाहरुको तर्फबाट गृहकार्य दह्रो हुन जरुरी छ । तीन जना साहशी योद्धाहरुको त्यागले खुलेको वार्ताको ढोका हरतरहबाट सफल बनाउन भूपू एकता अपरिहार्य छ,' उनले भने ।
गैर आवासीय नेपाली संघ र वंशज नागरिकताबारे पनि उनले बोलेका थिए । 'अति नै संवेदनशील विषय भएकाले सबैले बुझ्न जरुरी छ,' भने । गोरखा भवनको अन्तरिक नवीकरण हुँदैछ र सकिएपछि छिट्टै नै प्रोपर्टी डाइरेक्टरहरुले कसरी चलाउने निधो गर्नेछन् । बिजिडब्लुएस सदस्य तथा एनआरएनए युकेका भूपू उपाध्यक्ष राष्ट्र राईले जीटुजी वार्ताका बारे र एनआरएनबारे आफ्नो अनुभव कडारुपमा प्रस्तुत गरेका थिए । त्यस्तै थर्क सेन र ले.रि. चन्द्रबहादुर गुरुङले एनआरएनमा भैरहेको गतिविधि र आफ्नो उम्मेदवारीका बारे बोलेका थिए ।
रमाइलोको लागि रमेश तामाङ र तारा चन्द्र थापाले तम्बोला खेलाएका थिए । हेम प्रकाश रानाले पीए सिस्टम मिलाएका थिए । सक्रिय महिलाहरु क्षत्र ज्योति, रोजी, पुनम र तृष्णाले राफल र तम्बोलाका टिकट बेचेका थिए ।
नगद उठाउनमा चिज गुरुङ, प्रेमबहादुर बुरा र श्याम लिम्बु खटिएका थिए । खाना र पिउने बन्दोबस्त द प्यालेस रेस्टरेन्ट, अल्डरसटले गरेको थियो ।
बेलुका स्कूल हलमा रमाइलो खुशीको नाच भएको थियो । राफलका लागि बिजिडब्लुएसले २ सय पाउन्ड, जीएसएसले २ सय, जीडब्लुपीएलले १ सय, क्या. टाम ढेगा ५०, द प्यालेस रेष्टुरन्टले ५०, निर्मल सिरिस, गजबीर थापा, कुमार गुरुङ, कृष्ण राई, नरेश राई, राजेन राना आदिले प्रायोजन गरेर जम्मा ८ सय पाउन्ड बराबरको पुरस्कार राखिएको थिए ।
संस्थाका सदस्यहरुले अन्य संघसंस्थामा विशेष पदग्रहण र उल्लेखनीय काम गरेको मध्ये यसपटक अध्यक्ष पदमा निर्वाचित भएका तमुधिं यूकेका हरि गुरुङ र चार भङ्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्का ले. रि. चन्द्रबहादुर गुरूङलाई अध्यक्ष देवानले खादा लगाएर बधाई गरेका थिए ।
ब्रुनाईबाट बेलायत भ्रमणमा आएका हु लाई खादा लगाएर स्वागत गरेका थिए । उनी लामो समय ब्रुनाई ग्यारिजनमा गोर्खाहरुसँग काम गरेका थिए ।
कार्यक्रम महासचिव क्षत्र राई र पीआर प्रकाश गुरुङले संचालन गरेका थिए ।