लन्डन । तमु प्ये ल्हु संघ युकेको समर बिबिक्यु सम्पन्न भएको छ । कार्यक्रममा तमु प्ये ल्हु संघ युकेका खेगी गुरु, पच्यु गुरुहरुबाट छ्योपा त्हेँ गरियो भने क्ल्हेप्री गुरुहरुबाट थासोँ त्हेँ पूजा भयो ।
तमु प्ये ल्हु संघ युकेका अध्यक्ष रनबहादुर टु क्ल्हेप्री तमु, आमा समूह अध्यक्ष विष्णु टु क्ल्हेप्री तमु, निवर्तमान अध्यक्ष सोम त्होर्जे तमु लगायत अन्य विभिन्न बुद्धिजीवीले धूपबत्ती बालेरा शुभमुहूर्तसँगै पूजा सुरु गरिएको थियो ।
सो दिन पच्यु पैँडी चिव र क्ल्हेप्री पैँडी चिवा गुरुहरुबाट हेरकोर गर्ने व्यवस्था पनि गरिएको भने भक्तजनले फलफूल चढाउने र धूपवत्ती बाले ।
त्हेँ पूजापछि रिपा लगाउनु पर्ने भक्तजनले रिपा लगाउने र पूजाको प्रसादसँगसँगै बिबिक्यु टिप्पनटापन खाना सुरु भएको थियो । पछि संघका सचिव भवानी च्हम्रु तमुले विभिन्न किसिमका औपचारिक कार्यक्रम सञ्चालन गरे ।
यस्तै, विभिन्न गतिविधिमा सफलता हाँसिल गरेका संस्थाका सदस्यहरुलाई फेटा र क्रमु ओढाएर सम्मान गरिएको थियो । नेपालबाट भ्रमणमा आएका क्ल्हेप्री पैँडी चिबा शेरबहादुर म्होब्छेँ तमु गुरुलाई तमु प्ये ल्हु संघ युकेले खेगी समितितर्फबाट स्वागत तथा सम्मान गरियो ।
तमु प्ये ल्हु संघ युकेका युवा संयोजक सिर्जना च्हम्रु तमुको संयोजकत्वमा युवा समूहले सञ्चालन गरेको रमाइलो कार्यक्रमले अझ रौनकता थपेको थियो । साथै तमु प्ये ल्हु संघ युकेका सांस्कृतिक संयोजक अनिता प्ल्हें तमुको संयोजकत्वमा विभिन्न रमाइलो नाचगान कार्यक्रमहरु प्रस्तुत भयो । नेपालबाट आएका चर्चित कलाकारद्वय सागर गुरुङ र रमिला न्यौपानेको बेजोड प्रस्तुतिमा दर्शक छमछमी नाचे ।
सो अवसरमा संघका द्वितीय उपाध्यक्ष खेम सरब्जा तमुको संयोजकत्वमा आकर्षित पुरस्कार साथमा राफलड्र कार्यक्रम सञ्चालन भयो । प्रथम पुरस्कार गोर्खा प्यालेस रेस्टुरेन्टले १ तोला सुन प्रायोजन गरेको थियो । द्वितीय पुरस्कार तमु प्ये ल्हु संघ युकेका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार खुशीमान ल्हेँगे तमु र संघका पूर्व सांस्कृतिक संयोजक तेज लैं तमु (भाले) को संयुुक्त प्रायोजनमा आधा तोला सुनको मूल्य बराबरको नगद पुरस्कार थियो । तृतीय पुरस्कार रकेट मोट्र्गेज कम्पनीबाट नगद पुरस्कार प्रायोजन गरिएको थियो ।
सान्त्वना पुरस्कार प्रायोजन गर्नेमा तमु प्ये ल्हु संघ युकेका आमा समूह अध्यक्ष्य विष्णु टु क्ल्हेप्री तमु र क्ल्हेप्री गुरु हिरा म्होब्छेँ तमु रहेको थियो । सो अवसरमा उपस्थित सहभागीले केही नगद पनि सहयोग गरे । सहयोगीलाई आयोजकले सम्मान गरेको छ ।
संघका तृतीय उपाध्यक्ष अमर त्होर्जे तमुले तमुहरुको परम्परामा ज्यादै प्रचलित कोसेली बोक्ने सामग्री एकजोर (सोली) मोस्या तमु प्ये ल्हु संघ युकेलाई प्रदान गरे । तमु प्ये ल्हु संघ युकेका पत्रकार तथा फोटो भिडियोग्राफर मिलन ल्हेँगे तमु भर्खरै नेपालबाट बाबाको अन्त्येष्टि पूरा गरेर फर्केकोमा तमु प्ये ल्हु संघ युकेका आमा समूहले आगामी दिनमा यस्तो दुखको दिन कहिले नआओस् भनी रिपा लगाई दिएर स्याई–स्याई गरिएको थियो ।
यस्तै, मिलन ल्हेँगे तमुले आमा समूहलाई बाबाको स्मृतिमा केही रकम हस्तान्तरण पनि गरे ।