लन्डन । बेलायत सरकारले १४ वर्षअघि जब ब्रिटिस गोरखा परिवारलाई आवासीय सुविधा दियो, त्यसपछि यहाँ नेपालीहरु स्थानीय तहका निर्वाचनमा भाग लिए । योसँगै बेलायतका विभिन्न तहका काउन्सिलमा अहिले मेयर, उपमेयर र काउन्सिलर पदमा नेपाली मूलकै नागरिक निर्वाचित हुन सफल भएका छन् ।
त्यसो त, बेलायतको स्थानीय तहको राजनीतिमा नेपाली मूलका बेलायती समुदायको सहभागिता बढ्दै गएको छ । शिक्षा, स्वास्थ्य, सुरक्षा, होटल, रेस्टुरेन्ट जस्ता व्यापार व्यवसायमा स्थापित हुँदै गएका नेपालीको सक्रियता यहाँको राजनीतिमा पनि बढ्दो क्रममा देखिएको हो ।
पूर्वब्रिटिस गोरखासमेत रहेका बार्नेट बरोको काउन्सिलर लक्ष्यबहादुर गुरुङले नेपाली मूलका निर्वाचितपछि आफ्नो समुदायको आवाज काउन्सिलको च्याम्बरसम्म पुगेको र स्थानीय तहमा समुदायको पहिचान स्थापित भएको बताउँछन् । सोही बरोबाट सन् २०१८ मा उपमेयरसमेत भइसकेका गुरुङले आफ्नो क्षेत्रमा नेपालीको समाधिस्थल बनाएको स्मरण गर्दै आफ्नो बरोले नेपालका विभिन्न विद्यालयसँग सहकार्यसमेत गरेको बताए । उनी सत्तारूढ कन्जरभेटिभ पार्टीबाट निर्वाचित भएका हुन् ।
हालै मात्र निना गुरुङ मेडवे बरोको काउन्सिलमा मेयरमा निर्वाचित भइन् । उनले कोरोना महामारीपछि मात्र राजनीतिमा सक्रिय रूपमा लागेको बताउँछिन् ।
शिक्षा, समानता र सामाजिक कार्यमा सक्रिय उनले निष्पक्ष रूपमा काम गरेर नेपाली समुदायलाई गौरवको अनुभव गराउने बताइन् । २८ वर्षदेखि कन्जरभेटिभ पार्टीले जित्दै आएको उनको बरोमा लेबर पार्टीले ३३ स्थानमा जितेपछि मेयरको बाटो खुलेको हो ।
रोयल बरो अफ ग्रिनबिचमा लेबर पार्टीका तर्फबाट काउन्सिलर पदमा जितेलगत्तै भएको पार्टीको आन्तरिक निर्वाचनमा उपमेयरमा निर्वाचित जित रानाभाट रोयल बरो अफ ग्रिनबिच नेपाली सोसाइटीको अध्यक्षसमेत हुन् ।
स्थानीय तहमा नेपालीले सक्रियता बढाउँदै लगे पनि बेलायतको संसदीय यात्रामा भने कुनै पनि नेपालीले अहिलेसम्म सफलता पाएका छैनन् ।
हाल लेबर पार्टीबाट हनस्लो बरोको काउन्सिलरमा पूर्वगोरखा विष्णुबहादुर गुरुङ, कोलबर्न टाउन काउन्सिलरमा कन्जरभेटिभबाट डा. जगन्नाथ शर्मा र पूर्वगोरखा कमलबहादुर गुरुङ बारनेट बरो काउन्सिलमा लेबर पार्टीबाट काउन्सिलरमा निर्वाचित भए ।
रसमुर बरो काउन्सिलको बेलिङ्टनबाट जीव बेल्वासे, वेलिङ्टनबाट धनबहादुर सार्की र सोही बरोको फानबोरो चेरिउडबाट नेम थापा कन्जरभेटिभ पार्टीबाट काउन्सिलरमा निर्वाचित भएका छन् ।
मेडिस्टोन बरो काउन्सिलमा लिबरल डेमोक्रेटिकबाट दिनेश खड्का, स्यान्डर्स टाउन काउन्सिलमा कन्जरभेटिभबाट प्रीति लिम्बु, डाकोराम बरोमा कन्जरभेटिभबाट गोवद्र्धन सिलवाल र इन्सवर्थ पेरिस काउन्सिलमा कन्जरभेटिभबाट रोजिना प्रधान राई निर्वाचित भएका छन् ।