अन्नपूर्ण र माछापुच्छ्रेको काखमा
मुसुक्क हाँसेर बसेको छ मेरो गाउँ
वनैभरि लालीगुराँस मनैभरि माया
सपनीमा सधैं देख्छु मेरै गाउँको छाया
उत्तरतिर हिमाल, रमाइलो हरियाली छ ठाउँ
स्वर्गजस्तै सुन्दर लाग्छ मेरो प्यारो गाउँ
खोलानाला सुसाउँछ कोइली गीत गाउँछ
कहिले बादलको घुम्टोभित्र पनि अटाउँछ
यति राम्रो गाउँ यति सुन्दर ठाउँ
कसले राखिदियो धम्पुस भन्ने नाउँ
पोखरादेखि घरको आँगनमा मोटर आउँछ
देशीविदेशी पर्यटकलाई धम्पुसेले स्वागत गर्छ
सुनेर होइन छोएर हेर मेरो गाउँ
पटक-पटक जान मन लाग्ने ठाउँ
झग्रे, पोखरी, नयाँखोर, कोटगाउँ, देउराली
रतेस्वाँरा, झिन्जे, फेदी, लम्सेखोर, मुलाबारी
याद आउँछ ती सबै धम्पुस भित्रका गाउँ
कसरी भुलुँ गुच्चा र डन्डीबियो खेलेको ठाउँ