लन्डन । आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले जुनसुकै जातजाति, भाषाभाषी भए पनि सबै नेपालीलाई जोडेर अगाडि बढ्नु पर्ने आवश्यकता रहेको बताएका छन् । उनले योगले शारीरिक र मानसिक रुपमा निरोगी बनाउने मात्रै नभै समाजमा शान्ति र सद्भाव बढाउने भएकाले नियमित रुपमा योग गर्न आग्रह पनि गरे ।
नवौं विश्व योग दिवस अवसरमा लन्डनको ह्यारोमा आयोजित समारोहलाई सम्बोधन गर्दै पतंजली योगपीठ ट्रष्टका महासचिव समेत रहेका आचार्य बालकृष्णले सो कुरा बताएका हुन् । उनले संसारभरि जहाँ रहे पनि आफ्नो पहिचान जोगाउन क्रियाशील रहन आग्रहसमेत गरे । आफ्नो पहिचान नबिसौं भनी हाम्रो स्वाभिमान अभियान शुरु गरिएको प्रस्ट पारे ।
कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले आफ्नो भाषा र संस्कृति जोगाउनु पर्नेमा जोड दिए । राजदूत आचार्यले एक तपोभूमि, ज्ञान भूमि र ध्यान भूमिको रुपमा रहेको नेपाललाई आध्यात्मिक रुपमा अगाडि बढाउन योगको महत्वपूर्ण भूमिका रहेको बताए ।
लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्य सुवेदीले अहिले पूर्वीय सभ्यताको पुनर्जागरण हुन लागेको र यसमा पतंजली योगपीठ तथा आचार्य बालकृष्णको योगदान सह्राहनीय रहेको बताए ।
गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुल आचार्यले बिरामी भएर उपचार गर्नुभन्दा कसरी स्वस्थ रहने महत्वपूर्ण हुने बताए । ऋषिहरुले तपस्या गरेको पवित्र भूमि नेपाललाई योग र ध्यानको केन्द्र बनाउन सहकार्य गर्न उनले आग्रह पनि गरे ।
उक्त समारोहमा पतंजली योगपीठ ट्रष्टकी ट्रष्टी सुनिता पोद्दारले रोहित गुरुङको अध्यक्षतामा हाम्रो स्वाभिमान ट्रष्ट युकेको पहिलो कार्यसमितिको घोषणा गरिन् । कार्यसमिति उपाध्यक्षमा इन्दिरा (सपना) खनियाँ, महासचिव अर्जुन कटुवाल, सचिव अजिता सिम्खडा र कोषाध्यक्ष महेश गिरी छन् । सदस्यमा निरुषा भट्टराई पाण्डे, निलहरि घिमिरे, खेम बसेल, मेजर पदम लिम्बु, मेग गुरुङ र कृष्ण खरेल चयन भए ।
सो अवसरमा पतंजली योगपीठकी साध्वी देवदिती, साध्वी देववाणी र लन्डनस्थित प्रशिक्षकहरुको साथमा योग तथा प्राणायामको अभ्यास गरेका थिए । कार्यक्रममा निरुषा भट्टराई पाण्डे, एनआरएनए युकेका अध्यक्ष सुनिल बाबु खड्का, अर्जुन कटुवाल, कार्यसमिति अध्यक्ष रोहित गुरुङले बोलेका थिए ।