लन्डन । बेलायतका अस्पतालका चिकित्सकहरू आन्दोलित भएका छन् । आगामी जुलाई १३ देखि १८ सम्म सेवामा हाजिर नहुने घोषणा गरेका हुन् ।
यो हड्ताल राज्यको आर्थिक सहयोगमा सञ्चालित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) को इतिहासमा सबैभन्दा लामो हो । एनएचएसले आफ्नो ७५ औं वार्षिकोत्सव मनाएको केही समयपछि सरकारले पाँच प्रतिशत तलब वृद्धिको प्रस्ताव अस्वीकार गरेको विरोधमा परामर्शदाता स्तरभन्दा मुनिका चिकित्सकहरू ७२ घण्टे आन्दोलनमा जान लागेको ब्रिटिश मेडिकल एशोसिएशनले जनाएको छ ।
प्रधानमन्त्री ऋषि सुनकका प्रवक्ताले नयाँ हडताल अत्यन्त निराशाजनक भएको बताएका छन् ।
तर चिकित्सकहरूले विगत १५ वर्षमा वास्तविक रूपमा २६ प्रतिशत तलब कटौती भएको बताएका छन् । उनीहरू तलब सन् २००८–२००९ को स्तरमा फर्काउन चाहन्छन् तर सरकारले यसको अर्थ यो वर्ष औसत ३५ प्रतिशत तलब गर्नुपर्ने र र यो निकै महँगो हुने बताएको छ ।
बीएमए कनिष्ठ चिकित्सक समितिका संयुक्त अध्यक्ष रोबर्ट लरेन्सन र विवेक त्रिवेदीका अनुसार सरकारले एनएचएसको पतन चाहेको देखिन्छ । उनीहरूले बीएमए सर्वेक्षणलाई जोड दिएका छन्, जसमा लगभग दुई हजार कनिष्ठ चिकित्सकमध्ये आधाभन्दा बढी विगत चार महिनामा विदेश जाने प्रस्तावहरू प्राप्त गरेका थिए ।
अस्ट्रेलिया दक्षिणी राज्यको सरकारले पिकेट लाइनमा पठाइने विज्ञापन ट्रकका लागि समेत पैसा तिरेको र चिकित्सकले बसाइँ सराइ गरेको खण्डमा राम्रो तलब दिने बताएको उनीहरूको दाबी छ ।
लरेन्सन र त्रिवेदीले सरकारले तलबको विषयमा वार्ता पुनः सुरु गर्न अस्वीकार गरेको र एनएचएसको इतिहासमा चिकित्सकहरूले गरेको सबैभन्दा लामो सेवा बहिस्कार गर्न बाध्य भएको बताएका छन् ।
यदि सरकारले तलब बहालीका लागि विश्वसनीय प्रस्ताव ल्यायो भने हडताल टार्न सकिने उनीहरूले बताएका छन् ।
चिकित्सक, नर्स र अन्य मेडिकल स्टाफले मुद्रास्फीतिभन्दा कम तलब वृद्धि र अवस्थालाई लिएर हडतालको शृंखलाले बिरामीको हेरचाहमा असर पारेको छ, जसले नियुक्तिहरू रद्द गर्न वा पुनर्निर्धारित गर्न बाध्य बनाएको छ ।