काठमाडौं । लामो समयदेखि प्रतीक्षाको विषय रहेको नेपाली नर्सलाई बेलायत जाने बाटो खुलेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले नेपाल सरकार र बेलायत सरकारबीचको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना (इम्पिमेन्टसन प्रोटोकल) स्वीकृत गरेसँगै सो अवसर खुलेको हो ।
श्रम तथा रोजगार मन्त्रालयले गरेको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै अब नेपाली कामदार बेलायत जानेछन् । सम्झौता अनुसार अब नेपालबाट नर्समात्र नभई ल्याब असिस्टेन्ट, अनमी, बीएन, फार्मेसिस्टलगायत पनि पठाउने छ । पहिलो चरणमा कम्तीमा एक हजार नर्स जाने छन् ।
बेलायतमा नेपाली नर्स र स्वास्थ्य क्षेत्रमा कामदार पठाउने सम्बन्धी सम्झौतापत्रमा गत भदौमा नेपाल सरकारका तर्फबाट श्रम मन्त्रालयका तत्कालीन सचिव एकनारायण अर्याल र बेलायत सरकारको तर्फबाट नेपालका लागि बेलायती राजदूत निकोल पोलिटले हस्ताक्षर गरेका थिए ।
बेलायत जान चाहने नर्सले आईईएलटीएस परीक्षामा ६ दशमलब ५ अंक प्राप्त गर्नुपर्नेछ । बेलायत जाने स्वास्थ्य जनशक्तिले नर्सिङ काउन्सिलबाट अनुमतिपत्र लिनुपर्ने, ५ वर्षसम्म काम गरेपछि अनिवार्य स्वदेश फर्किनुपर्ने, आईईएलटीएस अनिवार्य गर्नुपर्ने, २० देखि ४५ वर्ष उमेर समूहका नर्स पठाइने, दक्षताका आधारमा उनीहरूले आईईएलटीएसमा ६ अंक ल्याउनुपर्ने प्रावधान राखिएको छ ।
सरकारले मान्यता दिएका अस्पतालमा कम्तीमा साढे २ वर्षसम्म काम गरेका नर्सले परीक्षामा सहभागी हुन पाउने छन् ।
यहाँबाट गएका स्वास्थ्य जनशक्तिले वार्षिक ३६ हजार पाउण्ड स्ट्रर्लिङसम्म कमाउन सक्नेछन् । यो भनेको बर्सेनि करिब ६० लाख रुपैयाँ हुन आउँछ ।
बेलायती र विदेशी नागरिकले पाउने सेवासुविधा एकै खालको हुनेछ । आईएलटीएस जस्ता भाषा सिक्न र बेलायत जान लाग्ने प्लेन टिकटसमेत बेलायत सरकारले बेहोर्ने जनाइएको छ ।