लन्डन । बेलायतको दक्षिण पश्चिम क्षेत्र रेडिङ सहरमा बसोबास गर्ने गुरूङ जातिहरूको साझा संस्था रेडिङ तमु समाजले बर्सेनि आयोजना गर्ने समर भेला गत शनिबार १० जुनमा भव्यताका साथ सम्पन्न भएको छ ।
झण्डै ५ सय जना आजीवन सदस्यहरूका परिवारका सदस्यहरू उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो । पहिलो चरण खेलप्रेमी युवा तथा भेटेरनहरूका लागि आयोजना गरिएको 7-A side फुटबल प्रतियोगिता थप आकर्षण र मनोरन्जनात्मक थियो । जसमा मनोरन्जनका साथै स्वास्थ्यलाभ थप युवाहरूको सहभागिता रहको थियो । त्यसलगत्तै बिबिक्यु र मिठो परिकारका भोजनको साथमा सुपथ मूल्यमा उपलब्ध गराइएको थियो । बिबिक्युको संयोजन आजीवन तथा कार्यसमितिका सदस्य खेमराज गुरूङलगायतले गरेका थिए भने पेय पदार्थको संयोजन आजीवन तथा कार्यसमितिका सदस्य कविन गुरूङ र साथीहरूले गरेका थिए । मिठो टिपनटापन र अचारको व्यवस्था आमा समूहले गरेको थियो । साँझ मासु, दाल, भात, तरकारीको व्यवस्था आजीवन तथा कार्यसमिति सदस्य तुलबहादुर गुरूङ र उनको टिमले गरेका थिए ।
महासचिव याम गुरूङले सन्चालन गरेको तेस्रो चरणको औपचारिक कार्यक्रम अध्यक्ष रूद्रराज गुरूङ, आमा समूहकी अध्यक्ष बिमला गुरूङ र संस्थापक अध्यक्ष प्रेम गुरूङले सामूहिकरूपमा पानसमा बत्ति बालेर सुरू गरेका थिए । त्यसपछि नयाँ आजीव सदस्यहरूलाई स्वागत सम्मान तथा ब्याच वितरण गरिएको थियो । अनि समाजलाई निरन्तर सहयोग गर्ने कलाकारहरूलाई सम्मान गरिएको थियो ।
समाजका विभिन्न मनकारी सदस्यहरू राफलको लागि र विभिन्नथरि सौजन्य प्राप्त भएको थियो । फुटबल विजेता र उपविजेताहरूलाई पनि आकर्षक पुरस्कार, मेडल र कप वितरण गरिएको थियो । सोही दिन धेरै आजीवन सदस्य भएको पनि कोषाध्यक्ष हस्त गुरूङले जानकारी दिए ।
चौथो तथा अन्तिम चरणमा प्रतिभावान स्थानीय कलाकार बाबु नानीहरू र आमा समूहको नृत्य प्रस्तुत गरिएको थियो भने रेडिङ तमु समाजको निमन्त्रणालाई स्वीकारेर आएका चर्चित लोक तथा दोहोरी गायक नायक तथा नृत्यकार मोडल श्याम राना र लोकदोहोरी गायिका नानु गुरूङले सबैलाई भरपुर मनोरञ्जन दिलाएका थिए ।
कार्यक्रमको संयोजन समाजकी उपाध्यक्ष सानमाया गुरूङले गरेकी थिइन् । सबै कार्यसमितिका पदाधिकारीहरू, भूतपूर्व अध्यक्षहरू, सल्लाकारहरू, आमा समूहका सबै पदाधिकारीहरूलगायत सबै आजीवन तथा साधारण सदस्यहरूले आर्थिक, भौतिक तथा सरसल्हाह दिएर ठूलो सहयोग गरेको समाजका अध्यक्ष रुद्रराज गुरुङले बताए ।