लन्डन ११ जून २०२३ । तमुधिं यूकेले गत मे २८ तारिखमा आयोजित २१ औं गोर्खाकपको समीक्षा गरेको छ ।
शनिबार १० जूनमा आफ्नै भवन मिचेटमा गोर्खाकप समीक्षा बैठक आयोजना गरिएको हो । अध्यक्ष हरि गुरुङको अध्यक्षतामा भएको बैठकको प्रारम्भमा उनले बैठकका एजेन्डाबारे जानकारी गराएका थिए । बैठकमा वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तव्य राखे भने कार्यक्रम सञ्चालन महासचिव डा विशाल गुरुङले गरे ।
बैठकको पहिलो चरणमा खेलकुद सचिव रि क्या दिपकराज घलेबाट गोर्खाकपको राम्रा र नराम्रा पक्षबारे संक्षिप्त जानकारी दिए । गोर्खाकपको आउँदो संस्करणमा के-के सुधार गर्नुपर्ने विषयमा पनि उनले बोलेका थिए । प्रायोजक र स्टलहरुको बारेमा उपाध्यक्ष कमल गुरुङले बताएका थिए ।
अथितिहरुबारे उपाध्यक्ष परशुराम गुरुङले, प्रशासनिक विषयमा वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले र प्रतियोगिताको आयव्ययबारे कोषाध्यक्ष दिलमाया गुरुङले प्रस्ट पारेका थिए । सल्लाहकार र सदस्यहरुले गोर्खाकपबारे बोल्दै सुधारका लागि सुझाव र सल्लाह दिएका थिए । यस वर्षको गोर्खाकप एलजी लोएन्सले हात पारेको थियो । अल्डरसटकै क्वीन्स एभिन्यू फुटबल ग्राउन्डमा भएको प्रतियोगितामा ४४ टिमले भाग लिएका थिए ।
संस्था र व्यक्तिहरूलाई १८ लाख सहयोग रकम घोषणा
तमुधिंको बैठकले गोर्खाकप प्रतियोगिताबाट बचत रकम विभिन्न संस्था र व्यक्तिलाई सहयोग गर्ने निर्णय समेत गरेको छ । जसअनुसार सिरिया र टर्की भूकम्पपीडितलाई £५०००.००, डा. हर्क प्रतिष्ठान रू ५०००००.००, चार भन्ज्याङ सेवा केन्द्र £१०००.००( करिब रू १६००००.००), वादी सरोकार संस्था रू १०००००.००, क्होईबो धिं लाम्तुन पर्बत रू १०००००.००, बेलायतमा मृत्यु भएकी सदीक्षा तामाङका परिवारलाई £५००.०० (करिब रू ८००००.००), कलाकार कृष्ण गुरूङ उपचार £५००.०० (करिब रू ८००००.००) रहेका छन् ।
बधाई तथा सम्मान
दोस्रो चरणमा गोर्खा कप सफल बनाउन धेरै मिहिनेत गरेको भन्दै कार्यक्रम संयोजक दिपकराज घलेलाई अध्यक्ष हरि गुरुङ र आमा समूहकी अध्यक्ष सन्ध्या गुरुङले फेटा लगाएर सम्मान गरे । त्यस्तै हालै कास्की फुटबल संघको ब्रान्ड एम्बेस्डरमा मनोनीत भएका संस्थाका उपाध्यक्ष कमल गुरुङलाई फेटा र खादासहित बधाइ तथा सम्मान दिइएको थियो ।
यस्तै दक्षिण पूर्व क्षेत्रीय तमुधिं लन्डनका नवनिर्वाचित अध्यक्षमा प्रेमकुमार गुरुङ (पिके लामा), आमा समूह प्रमुख विन्दु गुरुङ, महासचिव कमल गुरुङलाई पनि फेटा, खादा र क्रमुले लगाइदिएर सम्मान गरिएको थियो । अन्त्यमा अध्यक्ष हरि गुरुङले गोर्खाकप सफल बनाउनमा कार्यसमिति, संरक्षक, सल्लाहकार, ट्रस्टी, बेलायतवासी नेपाली सबैमा धन्यवाद दिए भने आगामी दिनमा प्रतियोगिताका कमीकमजोरीलाई सुधार्दै लैजाने प्रतिबद्धतासहित बैठक समापन गरेका थिए । लगत्तै उपाध्यक्ष उपाध्यक्ष परशुराम गुरुङले आउँदो अगस्ट २७ आइतबार क्याम्पर्टन पार्कमा चौधौं नेपाली मेला तमुधिं यूकेले आयोजना गर्ने जानकारी गराएका थिए ।