फोक्स्टन । ईन्टेक डिसेम्बर १९८७ का समूहले भर्ती भएको ३५औं वर्षलाई "वकिङ फर हेल्थ"का रुपमा पनि मनाएको छ । स्वस्थ बन्नलाई हिँड्नु सबैभन्दा सरल, निःशुल्क र सजिलो तरिका हो । यही भनाइअनुशरण गर्दै ईन्टेक डिसेम्बर १९८७ का परिवारले पाटीपछि ४ जून २०२३ का दिन ३ घन्टा हिँडेका हुन् ।
पहिलो दिन कोरल वार्षिकोत्सव फोक्स्टनको वोर्लिङटन होटलमा ५० परिवार जम्मा भएर भव्य मनाए । केही परिवार घर फर्के भने केही होटलमै बसे ।
दोस्रो दिन बिहान हिँड्नका लागि ४० जना परिवार होटल प्रांगणमा तयारी भए । हिँड्ने रुट प्लान फोक्स्टन निवासी दिपक काउचाले तय गरेका थिए । ब्रेकफास्ट खाएपछि बिहान साढे १० बजे द भ्यू होटल फोक्स्टोन अगाडिको द लिस एस्पलेनैडबाट हिँड्न सुरु भयो । निलो आकाश, घमाइलो दिन, दक्षिणतिर फ्रान्स र बेलायतबीचको ईङ्ग्लिस च्यानल छर्लङ्ग देखिएको थियो । सबैको अनुहार हँसिलो र रमाइलो मुडमा देखिन्थे ।
पूर्वतिर हिँड्दै रुथ यूविन्स टेन आवर क्लकमा पुगि सामूहिक फोटोग्राफ भयो । सेन्सोरी एन्ड सेन्टेड गार्डन काटेपछि द च्यानल स्वीटमा पुगेर दक्षिणमा रहेको फोक्सटन विच, हरबरको टाढैबाट अवलोकन र ताजा हावाको अनुभूति गरेको सहभागीले बताए । स्टीप सर्ट मेमोरियल पुगेपछि केही क्षण रोड अफ रिमेम्ब्रेन्समा हिँडे र तलतिर ओर्लिए टोली ।
लोवर स्सान्डगेट रोड र मरिन परेड क्रस गर्दै बीच बोर्डवकमा पुगे । करिब ८०० मिटर लामो पुरानो रेल्वे स्लीपरहरुले बनाएको बीच बोर्डवक पहिलोपटक देखेर धेरै जना मख्ख परे । त्यही ठाउँमा प्रशस्त मोबाइलमा फोटो, भिडियोहरु लिएका थिए । समुद्रको हावामा रमाउँदै टोली फोक्स्टन हारबरको स्टेसनमा पुग्यो । हरबरको छेउमा रहेका कफी सप, हटडिंग्स, द बीग ग्रीक बस, अर्जेन्टाइन ग्रील, डेजर्ट फोक्स हुँदै अगाडि बढे । नेपालीहरुलाई उच्चारण गर्न कठिन हुने शब्दहरुले बनेको रेष्टुरेन्ट अगाडि उभिएर निकैबेर घोरिए । रेष्टुरेन्टको नाम Shesells Seashells थियो ।
हरबरको टुप्पामा रहेको लाईट हाउस पुगी धेरैले फोटो लिए । बीचतिर फर्कंदै गर्दा हरबरमा माछा मार्नेहरुको ताँती देखियो । विस्तारै बीच बोर्डवक हुँदै लुबियाना हिमिडमा आइपुगियो । चर्को घाम र हिँडाईले थाकेका देखिन्थे । सोरलाईन डेभेलोपमेन्ट अगाडिको भुइँमा सबै लाहुरेहरु शिल माछाझैं केहीबेर सुते र श्रीमतीहरुले फोटो धमाधम खिचे ।
हिँड्दै विल उड्रो, द लेज पुगे । नजिकैको गार्डनमा रमाउँदै लोवर लिस एमपीथेटरमा गई नारायण गुरुङले नाच प्रस्तुत गरे । अन्तिम ग्रुप फोटोग्राफ लिएर जिगज्याग पाथको उकालो लागे । रमणीय ठाउँ र एक आपसमा गफले ३ घन्टा बितेको पत्तै भएन । द अपर लिसमा आएर उक्त दिनको हिँडाई सकियो ।
फोक्स्टोन टाउनको लेमन लिफ रेष्टुरेन्ट एन्ड बारमा पहिले नै मेसिङको बन्दोबस्त भइसकेको थियो । बिहानभरिको हिँडाई र थकाई पछि चिसो बियर र गोर्खा टाइपको मेसिङ पिउँदै खाँदै सबै रमाए । होटलको पाटी, बिहानी वकको प्लान र मेसिङको बन्दोबस्त दिपकले गरेका थिए । नम्बरीका महासचिव पदम भुजेलले आयोजक दिपकलाई धन्यवाद दिए । कोषाध्यक्ष देवबहादुर गुरुङले खानाको हिसाब खाता मिलाएका थिए ।
सम्पूर्ण नम्बरीको तर्फबाट मे. रि. कुमार गुरुङ र श्रीमती कमला गुरुङले दिपकलाई बोटल वाइन र श्रीमती चन्द्रकुमारी काउचालाई पुष्पगुच्छा दिएर धन्यवाद, आभार व्यक्त गरेका थिए ।