फोक्स्टन । डिसेम्बर १९८७ सालमा भर्ती भएका ईन्टेक डिसेम्बर १९८७ टोलीले भर्ती भएको ३५औं वर्ष पुगेको उपलक्ष्यमा भव्य भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । फ्रान्सदेखि नजिक पर्ने केन्ट काउन्टीको समुन्द्र तटमा अवस्थित बर्लिङ्टन होटलमा शनिबार बेलुका ३ जूनका दिन भव्य कार्यक्रम गरिएको हो । ५० जनाको जोडी, महिलाहरु सारीमा र पुरुषहरु ब्ल्याक टाईसुटमा छातीभरि मेडल सजाएर उत्साहका साथ उपस्थित भएका थिए ।
दिउँसो ४ बजेदेखि नै जोडीहरु फोटो लिने, भेट गफका लागि होटल बार रियामा भरिएका थिए । ५ बजेपछि कार्यक्रम संयोजक दिपक काउचाले फाइन डाएनकाबारे, बल रुमभित्र पालन गर्नुपर्ने नियम जानकारी गरेका थिए । होटल गार्डन क्षेत्रमा सामूहिक फोटोग्राफ भयो । भर्ती लागेको ३५औं वर्ष पुगेको शुभ अवसरमा ईन्टेकका अध्यक्ष मे. रि. देवकुमार गुरुङ एमभीओ र श्रीमती गंगा गुरुङले केक काटेर कार्यक्रमको रौनता बढाएका थिए ।
डिसेम्बर १९८७ सालमा नेपालबाट ब्रिटिस आर्मीका लागि भर्ती लागेका १२५ जना जवानहरुको जमातलाई ईन्टेक डिसेम्बर १९८७ भनिन्छ । उनीहरुको प्राय: कलिलो उमेर हङकङ टापुमा बिताएकोले पार्टीको थिम पनि १९८७ सालकै बेलाको बनाइएको थियो । चार जना नम्बरीहरु सदाको लागि साथमा नरहेको दुखद् समयको पनि स्मरण गरिएको थियो । हालै निधन भएका क्या. रि. रामबहादुर लिम्बु र चार जना दिवंगत नम्बरीहरुको नाममा मौनधारण गरिएको थियो ।
ब्याक पाइपको धुनसँगै जोडाजोडी हातमा हात समाएर बलरुमभित्र प्रवेश गरेका थिए । सबै जना आआफ्नो कुर्सीको पछाडि उभिए । बेलायत र नेपालको राष्ट्रिया गानपछि श्रीमान्हरुले श्रीमतीलाई बस्नका लागि आग्रह गरे । खाना र ड्रिङ्क्स सुरु हुँदै गर्दा पाइपरले पटक-पटक धुन बजाइरहेको थियो ।
बेलायतका राजा, नेपालका राष्ट्रपति र ईन्टेकको लेडिजहरुको नाममा टोस गरिएको थियो । उक्त काम मिष्टर भाइस पवन राईले गरेका थिए । खानाको बीच ब्रेकमा नम्बरीका सिनियर मेम्बर गजबीर थापाले गीत गाएर सबैलाई हँसाएका थिए । प्रकाश गुरुङले "घोप्टो मुन्टो लिएर फर्केको श्रीमान्" शीर्षक कविता वाचन गरेका थिए ।
अध्यक्ष मे. गुरुङले सबैलाई धन्यवाद दिँदै कार्यक्रम सफल भएकोमा खुसी ब्यक्त गरे । '१९८७ सालमा पहिलो पटक भेट्दा हामी एक आपसमा दश प्रतिशत पनि चिन्ने थिएनौं । तर हामी बीचको सम्बन्ध कुनै परिवारिकभन्दा कम छैन । यो सम्बन्ध ३५ वर्ष पुग्यो । यसलाई दिगो बनाइराख्न भेटघाट कार्यक्रम भैरहनु पर्दछ,' मेजरले थपे । बेलायतभरि छरिएर बसेका नम्बरीहरु चार पाँच घन्टा ड्राइभ गरी फोक्स्टन पुगेका थिए ।
महासचिव पदम भुजेल, कोषाध्यक्ष देवबहादुर गुरुङ र फोक्सटनका स्थानीय नम्बरीहरुले संयोजक दिपकलाई मद्दत गरेका थिए । कुल थापाको बाँसुरी धुन, नारायण गुरुङको एकल नाच, रन्दिप राईको आई एम ए डिस्को डान्सर नाच प्रस्तुत गरेर मनोरन्जन दिलाएका थिए । प्राय: नाच गीत एट्टीजको थियो ।
कार्यक्रम संयोजक काउचा आफ्नै सहरमा नम्बरीको ३५औं कोरल वर्ष मनाउन पाउँदा अति हर्षित भएको र ठाउँ पनि अति रमणीय भएको बताए । जति पनि होटलमा बस्ने नम्बरीहरु बिहान २ बजेसम्म पनि झुमिरहेका थिए । उक्त ईन्टेकलाई ब्रिगेड अफ गोर्खाजमा युनिक मानिन्छ । पहिलो पटक २२ हप्ते रेक्रुट तालिम, पहिलो पटक एस ए ८० राइफलमा तालिम, पहिलो पटक डोको बोकेर भर्ती लागेको, जीडीमा मात्र १२५ जना भर्ती भएको, क्लार्क टेक्निसीयन नभएको इन्टेक । बेलायतमा पहिलो पटक फेमिलीसहित आएकोले होला इन्टेक भित्रको मेलमिलाप अति राम्रो देखिन्छ । भविष्यमा नम्बरी भेलालाई अझ भिन्दै ढंगले बेलायतभन्दा बाहिर गर्ने प्रस्तावमा धेरै जना सहमत देखिन्थे ।