लन्डन । सहारा यूकेको दोस्रो साधारणसभा सम्पन्न भएको छ ।
अल्डरसटस्थित एम्पायर हलमा शनिबार १७ सेप्टेम्बर २०२२ का दिन अध्यक्ष ले रि कुसाङ गुरुङको अध्यक्षतामा सहाराको साधारणसभा सम्पन्न भएको हो । सभाको सुरुमा सहारा यूकेका संस्थापक अध्यक्ष नवीन गुरुङ, पूर्वअध्यक्ष मिनबहादुर गुरुङ, निवर्तमान अध्यक्ष कुमार गुरुङ, वर्तमान अध्यक्ष र सहाराका कार्यसमिति सदस्यहरुले केही साताअघि निधन भएकी बेलायतकी महारानी एलिजाबेथ द्वितीयको तस्बिरमा फूल चढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए । साथै आजीवन सदस्य नन्दजंग गुरुङ र कोषाध्यक्ष जगन गुरुङको आमाको निधन भएकोमा दु:ख व्यक्त गर्दै दुई मिनेट मौनधारण गरिएको थियो ।
साधारणसभा स्वागत मन्तव्य उपाध्यक्ष कृष्ण गुरुङले दिएका थिए भने कोषाध्यक्ष कुमार थापाले आयव्यय विवरण सुनाएका थिए । त्यस्तै सहारा एफसीको गतिविधिबारे सहारा एफसीका चियर मेन शारदा गुरुङले जानकारी गराएका थिए ।
यसैगरी, साधारणसभाले हालै पाकिस्तानमा गएको बाढीले व्यापक जनधनको क्षति भएकोमा दु:ख व्यक्त गर्दै तत्काल त्यहाँका पीडित नागरिकका लागि १ हजार पाउन्ड सहयोग पठाउने निर्णय गरेको अध्यक्ष लेरि कुसाङ गुरुङले जानकारी दिए ।
कार्यक्रमको दोस्रो चरणमा सहारा च्यारिटी डिनर नाइटको योजनाबारे उपाध्यक्ष कृष्ण गुरुङले प्रकाश पारेका थिए । सहारा यूके अक्षय कोष र गीफ्ट एडबारे अध्यक्ष गुरुङ र सचिव वाचस्पति रेग्मीले जानकारी गराएका थिए । च्यारिटी डिनर नाइटमा चर्चित कलाकार दिपक लिम्बुको प्रस्तुति रहने सहारा यूकेले जनाएको छ । यस वर्ष सहारा च्यारिटी डिनर आउँदो नोभेम्बर १९ तारिख शनिबार एम्पायर हलमा हुँदैछ ।महासचिव गुरुङले सञ्चालन गरेको साधारणसभामै गायक लिम्बुलाई स्वागत गरिएको थियो ।
साधारणसभामा सहारा यूकेका संस्थापक अध्यक्ष नवीन गुरुङ, पूर्वअध्यक्ष मिनबहादुर गुरुङ, निवर्तमान अध्यक्ष कुमार गुरुङ, तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङ, सहारा एफसी सीईओ क्या पिताम्बर गुरुङ, फस्ट लेडी पञ्च गुरुङ, सल्लाहकार, सदस्यलगायतको सहभागिता थियो ।