लन्डन । अल्डरसटमा रहेको शिव मन्दिरको दैनिक नित्य पूजा अर्चनाका निमित्त स्थायी रुपमा पुजारीको नियुक्ति गरिएको छ । नेपालबाट आएका पण्डित पवन प्रसाद दाहाल (शास्त्री) लाई १५ मे २०२३ सोमवारबाट बिहान आठ बजेदेखी साँझ आठ बजेसम्म पूरै दिन भक्तजनको सेवा उपलब्ध हुने गरी नियुक्त गरिएको हो ।
शिव मन्दिर अल्डरसटका उपाध्यक्ष बिक्रम भट्टराईको अध्यक्षतामा १६ मे मंगलवार साँझ आयोजित छोटो परिचयात्मक कार्यक्रममा मन्दिर स्थापनार्थ सुरुवातबाट अहोरात्र खटिएका, शिव मन्दिर अल्डरसटका संरक्षक, ट्रस्टी, रसमुर बोरों काउन्सिलका काउन्सीलर जीव बेलवासेले नवनियुक्त पुजारी पवन प्रसाद दाहाललाई शिवनामी लगाई दिएर स्वागत गरेका थिए ।
उक्त अवसरमा काउन्सीलर बेलबासेले पण्डित पवन प्रसाद दाहाललाई मन्दिरको छोटों ईतिहास बताउँदै, पुजारी नहुँदा मन्दिर र स्थानीय सनातनी आस्थामा विश्वास गर्नेहरुले भोगेका अप्ठ्याराहरुका संझना गरे । साथै काउन्सीलरले पुजारी र मन्दिर व्यवस्थापन समिति बीचमा अत्यन्त पारदर्शी, बेलायतको नियम अनुसारका सुविधाको व्यवस्था र भक्तजनहरुसंग मन्दिरको आस्थामा आवश्यक ध्यान पुर्याउन सुझाब दिए ।
सोही अवसरमा बितेको लगभग पाँचवर्ष देखी दैनिक स्वयंसेवकको रुपमा सेवा गर्दै आएका ८७ वर्षीय भिम बहादुर लामीछाने गुरुङ्गलाई उनको योगदानको लागी सम्पूर्ण मन्दिर परिवार र समुदायको तर्फबाट धन्यवाद भन्दै शिवनामी लगाई दिएका थिए । त्यसपछी शिव मन्दिर अल्डरसट तथा साई सेन्टर फारनबोरोको तर्फबाट मन्दिरकी ट्रस्टी, साईं सेन्टरकी संयोजक समाजसेवी सुष्मा गुरुङ्गले फूलको गुच्छा दिएर स्वागत गरेकी थिइन् । मन्दिर कार्यसमितिका महासचिव हरी भट्टराईले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष बिक्रम भट्टराईले सबैलाई उपस्थितिको लागी धन्यवाद भन्दै पुजारी पवन दाहाललाई पूरै मन्दिर कार्यसमिति अनि व्यक्तिगत हिसाबले पनि स्वागत गरे ।
आफ्नै मन्दिर स्थापना गर्ने योजना साकार हुने क्रममा रहेको र तथापि यसलाई चुस्त र दुरुस्त संचालन गर्न सबैको साथ र सहयोग आवश्यक रहने भन्दै सबैको साथ र सहयोगको निरन्तरता होस् भन्ने अनुरोध गरेका छन् । शिव मन्दिर अल्डरसटका संरक्षक रोहित गुरुङ्ग ट्रस्टी तथा स्थानीय व्यवसायी शंकर श्रेष्ठ, एनआरएनएयुकेका निवर्तमान प्रमुख संरक्षक शेर बहादुर सुनार, मन्दिरका ट्रस्टी तथा बीसीसीयुकेका (बुद्ध गुम्वा अल्डरसट) अध्यक्ष हर्क गुरुङ्ग, ट्रस्टी एबी गुरुङ्ग, संरक्षक डा कुमार, ट्रस्टी अरविन्द शहानीका दम्पती, अनुप वर्मा, मन्दिरका कोषाध्यक्ष निरज तिवारी, कार्यसमिति सदस्य, व्यवसायी किशोर गुरुङ्ग, ट्रस्टी हरी कुमार श्रेष्ठ,ट्रस्टी रामचन्द्र (सुर्जे) गुरुङ्ग, राजन मल्लका परिवार, पबित्रा भट्टराई, लगायतको उपस्थिति रहेको थियो । परिचय आदान–प्रदान कार्यक्रमा पुजारी पवन प्रसाद दाहालले आफूलाई मन्दिरमा ईश्वर र ईश्वरका भक्तजनहरुको सेवा गर्ने मौकÞा पाएकोमा कृतज्ञ भएको बताए । अनुशासन, नैतिकता र ईमानदारीतामा कँही कतै सम्झौता नगर्ने प्रण गर्दै आफूबाट मन्दिरलाई आवश्यक हुनसक्ने हरेक सेवामा तत्पर रहने उल्लेख गरे ।
शिव मन्दिर अल्डरसट प्रात ८.०० (आठ) बजे देखि साझ २०.०० (आठ) बजे सम्म खुल्ला रहने छ, अब देखी शिव मन्दिर अल्डरसटमा उपलब्ध सेवाहरु प्रात आरती प्रत्येक दिन बिहान ठिक ०९.०० ( नौ) बजे अनि साँझ ठिक १९.०० (सात) बजे हुनेछ ।
बिवाह, ब्रतवन्ध, चुडा, छेवर शुभ अन्नप्राशन, जन्मोत्सव पूजा, वैवाहिक बर्षगाँठ, सवारी साधनको पूजा, गृहप्रवेश, रुद्री, स्वस्तिशान्ती, गुन्युचोली, तिथि श्राद्द, पितृदोष निवारण, वास्तु पूजा, शिलान्याश, एवं ज्योतिषीय परामर्श अन्तर्गत चिना टिपन लेख्ने ग्रहदशा हेर्ने कार्य, बैबाहिक जीवन, शुभ लाभ, हानी, शुभ रङ्ग, शुभ अन्क, ग्रह दोष समाधान लगायतका सेवा उपलब्ध हुनेछ । यसका लागी शिव मन्दिर अल्डरसटको ल्याण्डलाईन नम्वर ः– 01252 404304 वा पवन प्रसाद दाहाल (पुजारी) ः– 07467600661 को नम्वरमा सम्पर्क गर्न सकिनेछ । यदी जो कोही भक्तजनहरुले आँफ्नो घरमा कुनैपनि वैदिक अनुष्ठान (पुजा) गर्न, पितृकार्य लगायत कुनैपनि शुभकार्य गराउन पण्डितलाई बुकिङ गर्न चाहनेले मन्दिरमा सम्पर्क गरी मन्दिर व्यवस्थापनले तोकेको दस्तुर मन्दिरको खातामा जम्मा गरेर पुजारीबाट वैदिक कार्य सम्वन्धित सेवाहरु लिन सक्नेछन् ।