मुक्तककार पौडेललाई १० हजार दिने
लन्डन । पञ्चासे हर्पनडाँडा समाज युकेले आगामी जून १० तारिखमा हुने वार्षिक भेटघाट कार्यक्रमको तयारीबारे छलफल गरेको छ ।
अल्डरस्थित द प्यालेस रेस्टुरेन्टमा अध्यक्ष देउकाजी गुरुङको अध्यक्षतामा शनिबार आयोजित बैठकमा वार्षिक भेटघाटलाई भव्यरुपमा सफल पार्नेबारे छलफल भएको हो । अध्यक्ष गुरुङले कार्यक्रमका लागि कमिटी र सदस्यहरुबीच कार्य विभाजन गरिएको जानकारी दिए । उनका अनुसार गाउँका चेलीबेटी, भान्जाभान्जीहरुलाई जति सक्दो चाँडो निम्तो पठाउन प्रत्येक गाउँका प्रतिनिधिहरुलाई खटाइएको छ ।
देव घलेकानुसार जून महिनामा हुने भेटघाट कार्यक्रमका लागि उक्त बैठककै दिन १७ जनाबाट २ हजार ७ सय ८४ पाउन्ड सहयोग उठेको छ । बैठकमा चालीस जना सदस्यहरुको सहभागिता थियो ।
बैठकमा सालभरिमा दिवंगत भएका ११ जनाको नाममा एक मिनेट मौनधारण गरिएको थियो । कोषाध्यक्ष कृष्ण घलेले समाजको आय-व्यय प्रस्तुत गरेका थिए । समाजको सहयोगमा नेपालमा दुई जना विद्यार्थीहरुलाई कलेज पढाइरहेकोबारे, उनीहरुको प्रगतिबारे महासचिव प्रकाश गुरुङले प्रष्ट्याएका थिए । उनका अनुसार सलिना घले बीए (स्नातक) तेस्रो वर्ष र पूजा गुरुङ बीएड (स्नातक) तेस्रो वर्ष अध्ययन गरिरहेका छन् ।
पढाईमा सहजता होस् भनी पूजा गुरुङलाई गत मार्च महिनामा समाजको तर्फबाट ५३ हजार ५ सय रुपैयाँ बराबरको ल्यापटप किनिदिएको थियो । ल्यापटप महासचिव गुरुङ नेपाल रहेकै क्रममा पूजाकै कोठामा पुगेर हस्तान्तरण गरिएको थियो ।
साविक सिधाने गाउँ निवासी मुक्तककार विष्णु पौडेलको पहिलो कृति "फेवाका तरङ्गहरु" अध्यक्ष गुरुङ र उपाध्यक्ष गुरुङलाई महासचिव गुरुङले उपलब्ध गराएका थिए । पौडेल पछिल्लो समय मुक्तक लेखनमा निकै सक्रिय छन् ।
आफ्नै गाउँ, आफ्नै ठाउँको नयाँ प्रतिभालाई प्रोत्साहन होस् भन्दै पञ्चासे हर्पनडाँडा समाज युकेको तर्फबाट १० हजार रुपैयाँ लेखक पौडेललाई दिने निर्णय भएको अध्यक्ष गुरुङले बताए ।
फेवाका तरङ्ग प्रकाशनका लागि बेलायतबाट समाजका निवर्तमान अध्यक्ष डमरकाजी गुरुङले २५ हजार, महासचिव प्रकाश गुरुङले १० हजार र अस्ट्रेलियाबाट चन्द्रप्रकाश गुरुङले ६१ हजार रुपैयाँ सहयोग गरेका थिए ।
अन्तमा अध्यक्ष गुरुङले सबैलाई धन्यवादसहित जून १० मा फार्नबोरो ग्रेन्ज स्कुलमा हुने वार्षिक कार्यक्रममा भेट्ने वाचा गर्दै बैठक समापन गरेका थिए ।